बासस्थान खलबलिँदा चराको संख्या घट्ने चिन्ता

देउखुरी । पछिल्लो समय यहाँ बासस्थान खलबलिदा चराको सङ्ख्या घट्दै गएको छ । यहाँ कतिपय चराको सङ्ख्या न्युन भइरहेको छ भने केही चरा लोपोन्मुख अवस्थामा पुगेका छन् । घोराही उपमहानगरपालिका–९ निवासी ७२ वर्षीया पार्वता शर्मा चराको सङ्ख्या कम हुँदै गएको बताउछिन् ।

उनी भन्छिन् “पहिले गाउँमा (खर) फुसका छाना हुन्थे, चराले त्यसैमा गुड बनाएर बचेरा कोरल्ने र हुर्काउने गर्थे । बिहान मिर्मिरेमा चराको चिरबिर आवाज गुन्जिँदा छुट्टै आनन्द हुन्थ्यो । कहिलेकाहीँ चराको आवाजले बिहानीको निद्रा खुल्ने गर्थ्यो ।”

उनलाई अझै सम्झना छ, केही समयअघि आँगनभरी थरथरीका चारा आउँथे । मङ्सिरमा आँगनमा धान ल्याएपछि चराहरू झन् थपिँदै जान्थे । पछिल्लो समय चराको चिरबिर कम भएको शर्माले बताइन् । चराको बासस्थान खलबलिएकाले अचेल त्यस्तो आवाज खासै नसुनिने गरेको उनको भनाइ छ ।


घोराही उपमहानगरपालिका–६ का ६५ वर्षीय वीरबहादुर चौधरीले चराको बासस्थान घट्दै गएका कारण सङ्ख्या पनि कम हुँदै गएको बताए । “भँगेराको चिरबिर र कोइलीको कुहुकुहु आवाज हराउँदै गएको छ । पक्की घरका कारण पनि घरमा बस्दै आएका चरा कम भएका छन् । गौँथली, परेवा, भँगेरा, मैना जस्ता चराले फुसको छानोमा गुड बनाउने गर्थे । अहिले सबै घर पक्की भएपछि गुड लगाउने ठाउँको कमी भएको छ”, उनले भने ।

एकातिर रुख हुने स्थानमा घरघरै छन्, भएका घर पनि सिमेन्टले बनेका चरामैत्री छैनन् । जसले गर्दा समस्या आएको धेरैको भनाइ छ । चरा विज्ञ आनन्द चौधरी रैथाने चराको सङ्ख्यामा कमी आएको बताउँछन् । चराहरू बसाइसराइ गर्ने र आगन्तुक चरा नेपालमा आउने क्रम भने बढेको उनको भनाइ छ । यसरी आउने आगन्तुक चराका लागि यतै बस्ने वातावरण मिलाउन सके चराको सङ्ख्या बढ्ने चौधरीको बुझाइ छ ।

“चराहरू लामो यात्राको प्रयास गर्ने, आराम गर्ने त छँदै छ, पछिल्लो समय जलवायु परिवर्तनका हिसाबले पनि समस्या भयो । चरा सङ्कटमा पर्नुका प्रमुख कारणमध्ये वासस्थानको विनास, जलवायु परिवर्तन, भौतिक पूर्वाधार पनि हुन्”, उनले भने, “चरा खतराको सूचक मात्रै होइन, अवसर पनि हो । यिनको संरक्षणका लागि सोच्नुपर्ने आवश्यकता छ ।”

यसका लागि सरकारी निकाय, स्थानीय र आदिवासी समुदायसँग सहकार्य गर्दै चरा तथा जैविक विविधता क्षेत्रको महत्त्वबारे आम नागरिकलाई जानकारी गराएर संरक्षण अभियान सञ्चालन गर्नुपर्ने चरा विज्ञ चौधरीको धारणा छ । आगन्तुक चराका लागि अति आवश्यक वासस्थानको पहिचान, अनुगमन र संरक्षण सुनिश्चित गर्ने, जनसमुदायलाई सचेत बनाउने विषयमा सबैले लाग्नुपर्ने उनको सुझाव छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics