वन फँडानीको असर : २० वर्षमा ५ लाखभन्दा बढी मानिसको मृत्यु
सबैभन्दा बढी मृत्यु दक्षिण–पूर्वी एसियामा

काठमाडौं । जलवायु परिवर्तनको असर विश्वभर बढ्दैछ । बढ्दो गर्मीले मानिसलाई जिउन हम्मे हम्मे पर्ने अवस्था आउन थालेको छ । तराइका रोग र जीव पहाड तर्फ सर्दैछन् । यस्तै चुनौतीका बिच हालै एक अन्तर्राष्ट्रिय अनुसन्धानले अर्को गम्भीर पक्ष पनि उजागर गरेको छ ।
यस अध्ययनका अनुसार, विगत २० वर्षमा वन फँडानीका कारण विश्वमा ५ लाखभन्दा बढी मानिसहरूको मृत्यु भएको छ । यी मृत्युहरू प्रत्यक्ष रूपमा बढ्दो तापक्रम र त्यसबाट हुने रोगहरूका कारण भएका हुन् । यस मृत्यु मध्ये ५० प्रतिशत दक्षिण–पूर्वी एसियामा भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
यो प्रतिवेदनका अनुसार वन फँडानीको प्रभाव केवल बोटबिरुवा र जनावरहरूमा मात्र सीमित नभइ मानव जीवनको लागि पनि प्रत्यक्ष खतरा हो ।
वन फँडानीका कारण खतरा बढ्दो
वनलाई पृथ्वीको ‘फोक्सो’ पनि भनिन्छ । किनभने तिनीहरूले अक्सिजन प्रदान गर्छन् । कार्बन डाइअक्साइड सोस्छन् र मौसमको सन्तुलन कायम राख्छन् । तर, जब वन ठूलो मात्रामा काटिन्छन्, यो चलिरहेको प्राकृतिक सन्तुलन बिग्रन्छ ।
अध्ययनका अनुसार, वन फँडानीले छाया र आद्र्रता घटाउँछ, वर्षा घटाउँछ । वन डढेलोको जोखिम बढ्छ । यी कारणहरूले गर्दा स्थानीय तापक्रम द्रुत गतिमा बढ्छ । यो अतिरिक्त गर्मी मानिसका लागि घातक साबित हुन्छ ।
अध्ययनका तथ्यांकहरूले के भन्छन् ?
यस अध्ययनले सन् २००१ देखि २०२० सम्मको अवस्थाको मूल्यांकन गरेको थियो । जसको नतिजा धेरै डरलाग्दो थियो । वन फँडानीका कारण बढ्दो गर्मीबाट लगभग ३४.५ करोड मानिसहरू प्रभावित भएका थिए । यी मध्ये स्थानीय स्तरमा २६ लाख मानिसहरूले लगभग ३ डिग्री सेल्सियसको अतिरिक्त गर्मी सहनुपर्ने थियो ।
यस अतिरिक्त गर्मीका कारण प्रत्येक वर्ष औसत २८ हजार ३३० जनाको मृत्यु भयो । पछिल्लो २० वर्षमा जम्मा ५ लाखको मृत्यु रेकर्ड गरिएको थियो । यसले वन फँडानी वातावरणीय समस्या मात्र नभइ, यो स्वास्थ्य र जीवनको प्रत्यक्ष संकट पनि हो भन्ने कुरा स्पष्ट पार्छ ।
कुन क्षेत्रहरू सबैभन्दा बढी प्रभावित छन् ?
अध्ययनका अनुसार यी मृत्युहरू सबै क्षेत्रहरूमा समान रूपमा भएका छैनन् । सबैभन्दा बढी मृत्यु (५० प्रतिशतभन्दा बढी) दक्षिणपूर्वी एसियामा रेकर्ड गरिएको थियो । यस क्षेत्रमा जनसंख्या धेरै घना छ र ठूलो संख्यामा मानिसहरू गर्मी–संवेदनशील अवस्थामा बस्छन् ।
मृत्युको लगभग एक तिहाइ क्षेत्र अफ्रिका हो । बाँकी मध्य र दक्षिण अमेरिकामा, अमेजन जस्ता क्षेत्रहरूमा भएका थिए, जहाँ वन फँडानी निरन्तर भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
कसरी गरियो अनुसन्धान ?
यो अध्ययन नेचर क्लाइमेट चेन्ज जर्नलमा प्रकाशित भएको छ । ब्राजिल, घाना र बेलायतका वैज्ञानिकहरूले यस विषयमा मिलेर काम गरेका छन् ।
वैज्ञानिकहरूले वन काटिएका क्षेत्रहरूमा तापक्रम र गैर–आकस्मिक मृत्युको तथ्यांक संकलन गरेका थिए । त्यसपछि उनीहरूले यसलाई वन सुरक्षित रहेका क्षेत्रहरूसँग तुलना गरे । नतिजाले जहाँ वन काटिएका थिए, त्यहाँ तापक्रम बढी बढ्यो र मृत्यु पनि बढी भयो भन्ने प्रष्ट पारेको छ ।
विज्ञहरू के भन्छन् ?
अनुसन्धान पत्रमा बेलायतको लीड्स विश्वविद्यालयका एक अनुसन्धानकर्तालाई उद्धृत गर्दै भनिएको छ, ‘अनुसन्धानले वन काट्दा प्रत्यक्ष रूपमा मानिसको मृत्यु भइरहेको देखाउँछ । यो विश्वव्यापी जलवायु परिवर्तनको बहस मात्र होइन, स्थानीय मानिसहरूको जीवनको मुद्दा हो ।’
उदाहरण दिँदै उनले भने ‘ब्राजिलको माटो ग्रोसो क्षेत्रमा ठूलो मात्रामा वन काटेर भटमास खेती भइरहेको छ । त्यहाँका किसानहरूले अब अमेजनमा बढी जमिन खाली गर्न माग गरिरहेका छन् ।’
‘यदि वन बचाइयो भने मानिसहरूले कम गर्मीको सामना गर्नुपर्नेछ । कृषि उत्पादन बढ्नेछ र स्थानीय समुदायको जीवन बढी सुरक्षित हुनेछ’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।
वन किन महत्त्वपूर्ण छन् ?
वनहरू हाम्रा लागि केवल रूखहरूको समूह मात्र होइनन् । तिनीहरू हाम्रो जीवनरेखा हुन् । वनहरूले तापक्रम नियन्त्रण गर्छन्, वर्षा ल्याउँछन्, कृषिलाई सहयोग गर्छन्, गर्मी र आगोको जोखिम कम गर्छन् । अर्थात्, वनहरूले मानिसहरूको स्वास्थ्य, कृषि र जीवनलाई प्रत्यक्ष रूपमा सकरात्मक असर गर्छन् ।
यदि हामीले समयमै वन बचाएनौं भने, आगामी दशकहरूमा यो संख्या अझ बढ्नेछ । त्यसकारण, वन बचाउनु भनेको जलवायु संकटसँग जुध्ने तरिका मात्र होइन, यो प्रत्यक्ष रूपमा मानव जीवन बचाउने सबैभन्दा ठूलो तरिका हो ।
यस्ताे छ अध्ययन प्रतिवेदन
प्रतिक्रिया दिनुहोस