बलबहादुरले देखेको घडीको सुईसँगै घुमेको मौसम

भुइँमान्छे र प्रकृति

सुजता लिम्बू । विराटनगर
इटहरीको सगीत चोक । जहाँ, मध्य दिनको गुल्जारबीच एउटा पुरानो घडी बनाउने ठाउँले धेरैको ध्यान तान्छ । त्यहाँ पहेँलो अक्षरमा लेखिएको छ, ‘यहाँ घडी बनाइन्छ ।’ र यहाँका घडी मेकानिक हुन् बलबहादुर विश्वकर्मा ।

प्रविधिको विकाससँगै घडीको डिजाइन र मेसिन मात्रै फेरिएन, अब मोबाइल र कम्प्यूटरमा नै समय हेर्न मिल्ने भएपछि बलबहादुरको पेसा धराप छ । तर, उनी समयसँग नयाँपनको स्वाद लिइरहेका छन् । नयाँ आउने प्रविधिसँग जुध्न खोजिरहेका छन् । पौंठेजोरी खेलिरहेका छन् ।

उमेरले ६४ वर्ष लागेका उनलाई राम्ररी थाहा छ लगभग २०५४ सालबाट उनी घडीमा समय मिलाइरहेका छन् । घडीको समय त उही चल्छ – १२ को काँटा पुन घुमेर १२ मा नै पुग्छ, तर यो घुमाईसँगै दिन घुम्छ, महिना र वर्ष पनि । अनि, मौसम पनि । उनले घडीको घुमाईसँगै मौसमले ल्याएको परिवर्तन पनि यहीँ स्थानमा बसेर महसुस गरेका छन् । देखेका छन् ।

खोटाङ जिल्लाबाट सुगमको खोजीमा तराई झरेका उनी इटहरीमा बस्न थालेको १० वर्ष भयो । ४ वर्ष रिजलटासीमा घडी बनाउँदै गुजारा चलाएका उनले विगत ६ वर्षदेखि संगीत चोकमा बसेर काम गरिरहेका छन् ।



समय फेरियो । सधैँ आउने ग्राहकको जीवनशैली फेरियो । तर, उनको जीवनको काँटा जहाँबाट सुरु भयो, त्यहीँ छ । उनी सुनाउँछन्, ‘पहिले धेरै कमाइ हुन्थ्यो, घडीसँगै रेडियो बनाउँथेँ । अहिले मोबाइल आयो । घडी सोखका लागि मात्रै लगाउँछन् । रेडियो बन्द भयो, व्यापार पनि सुक्यो ।’

अहिले घडीको फित्ता फेर्न, चेन काट्न र ब्याट्री लगाउन मात्रै ग्राहकहरू आउने गरेको उनी बताउँछन् । थप्छन्, ‘पहिले घडी लगाउने मान्छे सम्पन्न भन्थे नि, पैसा हुनेले लगाउँथे । अहिले त्यो अवस्था छैन ।’

अहिले डिजाइन, डिजाइनका घडी सस्तोमा आउँछन् । बनाउनका साटो नयाँ लगाउने गरेको उनको भनाइ छ । घडी बनाएको पेसाले उनले तीन छोरासहित आफू र श्रीमतीको लालनपालन गरे, अहिले पनि गरिरहेका छन् । उनी सुनाउँछन्, ‘दुईटी छोरी काठमाडौं बस्छन् । यहाँ छोरा, म र श्रीमती छौँ । कहिले कमाइ हुन्छ, कहिले रित्तो हात घर फर्किनुपर्छ ।’

पेसामा परिवर्तन मात्रै होइन, वातावरणमा समेत बलबहादुरले परिवर्तन महसुस गरेका छन् । उनी सुनाउँछन्, ‘पाँच वर्षअगाडि जमिन तातिएको महसुस गरेको थिइनँ, अहिले त पूरै जमिन तातिएर बसिसक्नु हुँदैन, ओझेल खोज्दै बस्नुपर्छ ।’



जमिन तातिएर गर्मीले साँझ घर फर्किंदा कमजोर महसुस हुने गरेको उनी बताउँछन् । जिउ आलस्य हुने, ज्वरो आउला जस्तो हुने गर्दा थकान धेरै लाग्ने गरेको आफूले महसुस गरेको उनी सुनाउँछन् ।

मान्छेको चाप यो ५ वर्षयता धेरै बढेको र यातायात पनि यत्तिकै बढेकाले पनि वातावरणमा असर परेको हुन सक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘रुख बिरुवा छैन । मान्छे र बस गाडी मात्रै बढ्दो छ । अनि कसरी वातावरण स्वच्छ हुन्छ र ?’

बदलिँदो समय र प्रविधिले ल्याएको सामाजिक, आर्थिक तथा वातावरणीय परिवर्तनले दैनिक जीवनमा असर पर्न थालेको उनको अनुभव छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics