झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
- नेचर खबर
काठमाडौं । झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जंगल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षारोपण जङ्गलमा आइपुगेको थियो । बथानमा हात्तीका थुप्रै छावा पनि थिए ।
‘तीमध्ये १५ वटा हात्तीको झुन्ड सोमबार मोरङतिरै फर्किएको खबर प्राप्त भएको छ,’ डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले भने, ‘हामी निरन्तर निगरानीमा छौँ । रतुवामाई आइपुगेको हात्तीको बथान छिन्नभिन्न भएर कोही मोरङतिरै फर्किए र बाँकी झापातिरै अलमलिएका छन् ।’
मोरङको सुन्दरहरैँचास्थित कानेपोखरी जङ्गल क्षेत्रबाट आइतबार लावालस्करसहित पूर्व लागेको हात्तीको बथानले झापाको बाहुनडाँगी गौडा हुँदै भारतको पश्चिम बङ्गालतिर फर्किने बाटो पछ्याएको अनुमान गरिएको थियो । दिनभरि स्थानीय जङ्गलमा विश्राम गर्ने ती हात्तीहरू रात परेपछि मात्र हिँड्थे । तर सोमबार दिनभरि ती हात्ती झापाको वसताक्षीस्थित रतुवामाई र दमकको हम्सेदुम्से सामुदायिक वनमा विश्राममा रहेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस