शीतलहर बढ्दै



बढ्दो चिसोेसँगै तराइका अधिकांश जिल्लामा शीतलहर पर्न थालेको छ । तराइका अधिकांश जिल्लासहित राजधानिमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण तराइका जिल्लाको जनजिवन प्रभावित भएको छ ।

चिसो मौसममा लाग्ने हुस्सु र कुहिरोसँगै वायु प्रदूषण, औद्योगिक कलकारखानालगायत अन्य प्रदूषणका कारण काठमाडौं उपत्यकाको वायुमण्डलमा थप बाक्लो तुँवालो देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । तराइका अधिकांश जिल्लासहित राजधानीमा हरेक वर्ष डिसेम्बरदेखि मध्य जनवरीसम्म बाक्लो कुहिरो र हुस्सुले सताउने गरेको छ ।

पहाडी क्षेत्रको बायुमण्डलमा खासै असर नदेखिएपनि तराइका जिल्लामा शीतलहर अझै केहिदिन रहने महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए । मौसमविद् रिमालले भने ‘बाक्लो कुहिरो लाग्नाले अझै तापक्रम घट्न सक्छ, र केहिदिन यस्तै अवस्था रहन पनि सक्छ ।’

तापक्रममा आउने गिरावटसँगै देशैभर हुस्सु लाग्न थालेपछि सूर्यको किरण भुईँमा आउनै पाउँदैन । त्यसको असर सबैभन्दा बढी तराईमा पर्ने मौसमविद्हरुको भनाई छ । गत आइतबारदेखि नै तराइका जिल्लामा निरन्तर बाक्लो हुस्सु लागेकोले शितलहर परेको हो ।

सन् १९९७–१९९८ पछि काठमाडौं उपत्यकामा बाक्लो कुहिरो लाग्न थालेको हो । डिसेम्बर र जनावरी महिनामा केही दिन खुलेको जस्तो देखिने र फेरि बाक्लो कुहिरो लाग्ने गर्छ । अहिलेसम्म सबभन्दा बढी सन् २००२ को डिसेम्बर र सन् २००३ को जनवरीमा सबभन्दा लामो समयसम्म बाक्लो कुहिरो लागेको थियो ।

घट्यो ‘भिजिविलिटी’

बायुमण्डलमा बढेको तुँवालोसँगै भिजिविलिटि कम हुँदा आन्तरिक तथा बाह्य उडानमा समेत असर परेको छ । महाशाखाका मौसमविद् कँडेलले राजधानीसहित तराईका जिल्लाहरूमा बाक्लो कुहिरो लागेको कारण भिजिबिलिटी घट्दै गएको बताइन । उनले भनिन् ‘राजधानीसहित तराइका जिल्लामा लागेको कुहिरो र स्थानिय धुलोका कारण भिजिविलिटि घट्दै गइरहेको हो ।’

सामान्यतया उडानका लागी १५ सय मिटर भन्दा बढी भिजिविलिटीको आवश्यकता पर्छ । एक साता अघि सम्म मात्र डेड किलोमिटर (१५ सय मिटर) भिजिविलिटी रहेको थियो । अहिले बाक्लो हुस्सुका कारण एक हजार मिटर भन्दा कम भिजिविलिटी रहेकोले उडानमा समस्या रहेको महाशाखाका मौसमविद् रिमालले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics