अाजदेखि कम वर्षा

केहीदिनदेखि देशका विभिन्न ठाउँमा अविरल परिरहेको वर्षा सोमबारदेखि कम हुने मौसमविद्हरुले बताएका छन् । गत शुक्रवार र शनिवार पूर्वी क्षेत्रमा सक्रिय भएको मनसुन आइतबार मध्य र पश्चिम क्षेत्रमा सरेको थियो । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार सोमबार देखि यो मनसुनी प्रणाली निष्क्रिय बन्दै जानेछ ।

मनसुनी न्यून चापीय रेखा नेपालको पहाडी क्षेत्र नजिकै र न्यून चापीय प्रणाली मध्य तथा आसपासका भागमा रहेकाले अहिले यी क्षेत्रमा ठुलो वर्षा भएको हो ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने, 'मनसुनी अवधि अझै डेढ महिना रहेकाले पानी पर्न रोकिने होइन । तर पनि अहिले वर्षा भइरहेको प्रणाली सोमबार बेलुकाबाट बिस्तारै हट्दै जान्छ ।'

आइतबार देखि नै मध्य र पश्चिम क्षेत्रको तुलनामा पूर्वी क्षेत्रको मौसम सफा भइरहेको छ । यद्यपि आइतबार साँझदेखि सोमबार बिहानसम्म मध्य र पश्चिममा भएको वर्षाको प्रभाव यी क्षेत्रमा सोमबार दिनभर रहने अनुमान छ।

महाशाखाले दिएको जानकारी अनुसार आइतबार पूर्वी भागमा भने सामान्य मात्र वर्षा भएको छ । पूर्वमा आइतबार धनकुटामा २३ मिमि र ताप्लेजुङमा १०.८ मिमि पानी परेको छ । त्यस्तै जनकपुरमा १९२.४, सिमरामा १७३.२, दाङमा १६७.४, नेपालगन्जमा ७०.२, भैरहवामा ६७.६, वीरेन्द्रनगरमा ६४.३ र काठमाडौँमा २६.६ मिमि वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान बाढी पुर्वानुमान शाखाका अनुसार पानी पर्ने क्रम रोकिएसँगै कतिपय बाढी मापन केन्द्रहरुमा पानी खतराको तह भन्दा कम भई सामान्य अवस्थामा आइसकेको छ । तर पनि मध्य र पश्चिमका पश्चिम राप्ति, बबई र रीउ खोलामा जलसतह खतराकै तहमा रहेकोले अझै सचेत हुन जरुरी रहेको जानकारी दिएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics