जुम्लाको मार्सी चामल काठमाडौंमा

तपार्ई चाँडै चाँडै भोक लाग्ने समस्याबाट पीडित हुनुहुन्छ ? यदी यस्तो समस्याबाट पीडित हुनुहुन्छ भने अब धन्धा मान्नु पर्दैन् । संसारकै सबैभन्दा अग्लो स्थानमा उत्पादन हुने कालि मार्सी धानको चामलको भातले तपाईको जस्तो सुकै भोकलाई मार्न सक्छ । यो चामलको भात सेवन गर्दा चाँडै चाँडै लाग्ने भोकको समस्या तत्कालै अन्त्य हुन्छ । कालो मार्सी धान नेपालको एकमात्र जिल्ला जुम्लामा मात्रै फल्दै आएको छ ।

यो जातको धान खोज्न जुम्ला नै जानुपर्ने समस्या पनि अब समाधान भएको छ । नेपाल खाद्य संस्थानले जुम्लाबाट स्वादिलो कालिमार्सी धान खरिद गरी राजधानीमा बिक्री बितरण गर्ने व्यवस्था मिलाएको छ । राजधानीबासीले यसै बर्षदेखि यही बसेर जुम्लाको निक्कै पोषिलो र अत्याधिक काव्रोहाइड्रेट भएको यो चामल सजिलै उपभोग गर्न पाउनेछ । यसका लागि संस्थानले जुम्लामा उत्पादन हुने मार्सीधान खरिद गर्ने तयारी गरेको छ । संसारकै सबैभन्दा अग्लो ठाउँमा उत्पादन हुने यो धानको चामलमा उच्च परिमाणमा कार्बोहाइड्रेड पाइन्छ ।

यो चामलको भात प्रयोग गर्दा चाँडै भोक नलाग्ने भएकाले स्थानीय तहमै यसको खपत अत्यधिक छ । खाद्य संस्थानले चालू आर्थिक वर्षमा अन्य जातको धानसहित कालिमार्सी धान खरिद गरी चामल बनाएर उपभोक्तालाई बिक्री गर्न लागेको हो । चालू आर्थिक वर्ष संस्थानले जुम्लाबाट सय टन धान खरिद गर्ने योजना बनाएको छ । ‘काठमाडौंको उपभोक्तालाई अहिलेसम्म कर्णालीको सिमी, फापर र भटमासलगायतका गेडागुडी खरिद गरी बिक्री गर्दैआएका थियौं’, खाद्य संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले भने, ‘यो वर्षदेखि सिमी, फापर र भटमासबाहेक जुम्लामा फल्ने धानको चामल पनि बिक्री गर्न लागेका छौं । यसले स्थानीय उत्पादनको बजार पनि सुनिश्चित भयो ।’ खरिद गरिएको धान प्रशोधन गरी पाँच र १० किलो तौलको प्याकेटमा उपभोक्ताले बिक्री गरिनेछ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रवक्ता बालकराम देवकोटाका अनुसार यो जातको धानको खोस्टा केही कालो हुने र चामल रातो हुन्छ ।

जुम्लाको गुठीचौर र बुँग्रामाडीचौर बाहेक प्रायः सबै गाविसमा यो धानको उत्पादन किसानस्तरबाट हुँदै आएको छ । देवकोटाका अनुसार कुल धानखेत हुने क्षेत्रफल दुई हजार नौ सय ५० हेक्टरमध्ये तीन सय हेक्टरमा कालिमार्सी धानको उत्पादन हुन्छ । संसारकै सबैभन्दा अग्लो ठाउँमा उत्पादन हुने यो धानको चामलमा उच्च परिमाणमा कार्बोहाइड्रेड पाइन्छ । जुम्लामा करिब दुई हजार मेट्रिक टनको हाराहारीमा यो जातको धान उत्पादन हुन्छ । जुम्लाको सबैभन्दा उच्च स्थान छुम्चौंर र हाकुमा पनि यो जातको धानको उत्पादन किसानले गर्दै आएका छन् । ‘चिसो मौसम र पानी अत्यधिक चाहिन्छ यो धानलाई’, प्रवक्ता देवकोटाले भने, ‘जलवायु परिवर्तन र रोगव्याधिका कारण पछिल्लो समयमा यो जातको धानको उत्पादन र क्षेत्रफल घट्दै गएको छ ।’ स्थानीय कृषिविज्ञ हरिहर न्योपानेका अनुसार तत्कालीन समयमा चन्दननाथ बाबाले यो जातको बीउ जुम्लामा ल्याएर आफै खेती गरेका थिए । उक्त बीउ स्थानीय किसानलाई वितरण गरी उत्पादन गर्न लगाएका थिए । यसरी उत्पादन भएको यो जातको धानको चामल तत्कालीन समयमा राणा र शाही परिवारले भरियामार्फत दरबार भित्र्याउने गर्थे । ‘राजा वीरेन्द्रको पालामा यहाँको चामल दरबारमा पुग्थ्यो’, न्योपानेले भने, ‘अब भने जाँदैन । व्यापारीले काठमाडौं लगेर बिक्री गर्दै आएका छन् ।’ उनका अनुसार जुम्लामै किसानले यो चामल प्रतिकिलो एक सय ५० रुपैयाँमा बिक्री गर्दै आएका छन् । काठमाडौंको केही व्यापारीले सोही चामल प्रतिकिलो दुई सय ५० सम्ममा बिक्री गर्छन् ।

चैतमा बीउ छरिने यो जातको धान कात्तिकमा घर भित्र्याउने चलन छ । मुगुकको केही क्षेत्रमा पनि यो धानको खेती गर्न थालिएको छ । २७ हजार टन धान किन्दै खाद्य संस्थानले यो वर्ष ११ स्थानबाट २७ हजार ६ सय टन धान खरिद गर्न लागेको छ । यसमध्ये पश्चिम तराईको महेन्द्रनगर, राजापुर, धनगढी र नेपालगन्जबाट दुई हजार चार सय टन खरिद गरिसकेको छ । संस्थानले मोटा धान, मध्यम धान, मसिनो, सोना मन्सुली, बास्मती, जिरो मसिनो र मार्सी धान खरिद गर्न लागेको हो । संस्थानको प्रमुख कार्यालय महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, भैरहवा, वीरगन्ज, जनकपुर, लाहान, विराटनगर, बिर्तामोड र जुम्लाबाट यस्ता धान खरिद गर्न लागेको हो । चालू आर्थिक वर्ष धान खरिद गर्न संस्थानले ७४ करोड तीन लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमै संस्थानले कर्णालीको कालिकोट, हुम्ला, मुगु, जुम्ला, बाजुरा र दैलेखबाट सिमी, फापर र भटमास गरी ६३ टन गेडागुडी खरिद गर्न लागेको छ । गत वर्ष एक सय १३ टन गेडागुडी र ५० करोड २३ लाख ६१ हजार मूल्यबराबरको २१ हजार आठ सय एक टन धान संस्थानले खरिद गरेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics