वनमन्त्रीको आँखा सरुवातिर



कामचलाउ बनिसकेका वनमन्त्री विक्रम पाण्डेले चुरे र भित्रिमधेसका जिल्लाका वन अधिकृत (डीएफओ) को सरुवामा आँखा गाडेका छन् । मन्त्री पाण्डेले पहिले नै सरुवा गर्न चाहे पनि चुनावी कारणले हुन सकेको थिएन ।

सरुवाका लागि पाण्डेका स्वकीय सचिवद्वय प्रेम बलायर र राजु भण्डारीले सचिव डा।युवकध्वज जीसी र वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यलाई दबाब दिइरहेको स्रोतको दाबी छ । वनमा पहिलो पटक सचिव भएका जीसीले सरुवाको ‘दबाब थेग्न’ नसकेको मन्त्रालयकै अधिकारीसमक्ष गुनासो गरेका छन् ।

मन्त्रीले मकवानपुर, चितवन, सिन्धुली, तनहुँ, काठमाडौं, सल्यान, बाँके, बर्दिया, सुर्खेत, पाँचथर, इलाम, झापा, कैलाली, डडेलधुरा र कञ्चनपुरलगायतका वन कार्यालयमा नयाँ डीएफओलाई पठाउन खोजेको स्रोतको दाबी छ । सरुवाकै विषयमा मन्त्रीसँगको विवादले मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव ज्ञानेन्द्र पौडेल तीन साताअघि मन्त्रालय छाडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका थिए । ‘सरुवाकै विषयमा प्रशासनको सचिव–मन्त्रीसँग कुरा मिलेको थिएन,’ वन स्रोतले भन्यो, ‘अहिले फेरि मन्त्रीका स्वकीयरपीएहरूले सचिवलगायतलाई समय पुगेका सबै जिल्लामा सरुवाका लागि दबाब दिइरहेका छन् ।’

सरुवाका लागि बलायर र भण्डारी अग्रसर देखिएका छन् । ‘जानुअघि सरुवा गराइछाड्ने उनीहरूको नियत देखिन्छ,’ स्रोतले भन्यो, ‘केही दिनअघि हेटौंडामा भएको समीक्षा बैठकमा धेरै डीएफओले गुनासोसमेत गरेका थिए ।’ सचिव जीसीले भने मन्त्रीबाट खासै दबाब नआएको र नियमअनुसारै काम भइरहेको बताए । राप्रपा प्रजातान्त्रिकको केन्द्रीय सस्दयसमेत रहेका मन्त्रीका स्वकीय सचिव बलायरले सरुवाको विषयलाई नकारात्मक नबनाउन आग्रह गर्दै भने, ‘बसेर सल्लाह गरौंला अहिले नलेख्नुस् ।’ अहिले रोल्पा, महोत्तरी र पर्सामा भने डीएफओ पद रिक्त छ । महानिर्देशक आचार्यले रिक्त रहेका जिल्लामा भने आफूहरूले पहिलेदेखि नै नयाँलाई पठाउन खोजेको बताए ।

वार्डेन सरुवा प्रस्ताव
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जहरूको प्रमुख संरक्षण अधिकृत ९चिफ वार्डेन० मा पदस्थापना र सरुवाका लागि उपसचिवहरूको नाम प्रस्ताव गरेको छ । विभागले उपसचिव प्रमोद भट्टराईलाई सगरमाथा, सगरमाथाका चिफ वार्डेन गणेश पन्तलाई वन मन्त्रालय, अपिनाम्पा संरक्षण क्षेत्रका भूमिराज उपाध्यायलाई मकालु–बरुण र मकालुका चिफ वार्डेन मनोज साहलाई बर्दिया निकुञ्जको चिफ वार्डेनमा सरुवा गर्न मन्त्रालयमा प्रस्ताव पठाएको हो । विभागले चितवन निकुञ्जमा भने शुक्लाफाँटा निकुञ्जका चिफ वार्डेन वेदकुमार ढकाललाई पठाउन खोजेको छ । चितवनका चिफ वार्डेन रामचन्द्र कँडेल सहसचिवमा बढुवा भएपछि पद रिक्त हुँदैछ ।
कान्तिपुर बाट

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics