चितवनको सिमसार क्षेत्रमा ६ प्रजातिका चरा घटे




चितवनको सिमसार क्षेत्रमा ६ प्रजातिका चरा घटेको पाइएको छ । हालै गरिएको चरा गणनामा पानीमा आश्रित चराको घटेको पाइएको हो । चराको अवस्था पत्ता लगाउन यहाँ पुस अन्तिम साताबाट जलपक्षी (पानीचरा)को गणना शुरु गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा चितवनमा चरा गणना भएको हो ।

चरा गणनाको प्रतिवेदनबारे जानकारी दिँदै चरा विज्ञ तथा बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विँडारीले हाँस प्रजातिका चरा फेला नपरेको जानकारी दिनुभयो । अघिल्लो वर्ष ५४ प्रजातिका जलपक्षीको गणना भएको थियो । यसपटकको गणनामा जम्मा ४८ प्रजातिका मात्रै पानीचरा फेला परेको विँडारीको भनाइ छ ।

यहाँको अनुगमनमा कूल २१३ प्रजातिका चरा अभिलेख गरिएकामा पानीमा आश्रित भने ४८ प्रजातिको मात्रै फेला परेको हो ।

सिन्दूरे हाँस, फुर्के हाँस, हरि हाँस, सुनचुरी हाँस, सोइरोपुच्छ हाँस र स्शेताखिभौँ हाँस गणनामा फेला परेन ।

हाँस प्रजाति फेला नपरेको तर चखेवाहरु भने बढेको पाइएको छ । अनुगमन प्रतिवेदनबारे जानकारी दिँदै विँडारीले चखेवा दुई हजार ८४९, जलेवा ४२० र सिलसिले ४१० वटा फेला परेको बताए । गणनाका क्रममा पानीमा आश्रित चराको सङ्ख्या पाँच हजार ५७६ र अन्य क्षेत्रमा बस्ने ६ हजार २१५ वटा चरा फेला परेको जनाइएको छ ।

नेपालको विभिन्न जलक्षेत्रमा ३०० स्वयंसेवक तथा चरा विज्ञहरुको सहभागिता गणनामा रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics