अलैची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु : मन्त्री खनाल



कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड स्थापना गर्न पहल लिने बताए ।

राजधानीमा अलैचीको विकासका लागि स्वायत्त निकाय अलैची विकास बोर्ड स्थापनाका सम्बन्धमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्दै उनले अलैची विकास बोर्ड स्थापनाका निम्ति मस्यौदा बनिसकेकाले त्यसलाई मन्त्रीपरिषदमा लैजान पहल गर्ने बताएका हुन् ।

‘यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रीपरिषदमा लैजान पहल गर्छु ।’ उनले भने ।

यसअघि गठन भएको कृषिसँग सम्बन्धित विकास बोर्डहरूबाट गर्न सकिने कामहरू समेत नभएको बताउँदै मन्त्री खनालले अलैची खेतीको लागि जमिनको पहिचान गर्दै अलैची खेतीलाई राष्ट्रिय रूपमा फैलाउनुपर्नेमा जोड दिए।

अलैची खेतीको गुणात्मक उत्पादनका निम्ति सरकारले गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताउँदै उनले भने, ‘नेपालमा ठोस नीति नभएको कारणले कुन खेती कहाँ उपयुक्त हो र कहाँ हुन्छ, कुन चिज कहाँ उत्पादन गर्ने हो भन्ने कुराको राम्रो कार्यक्रम छैन । हामी अब उत्पादनमा केन्द्रित हुने हो, यसलाई विस्तार गर्दै जमिनको पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics