हेफर मोडेलमा कृषि योजना बनाउन सुझाव



कृषि क्षेत्रका विज्ञहरूले हेफर इन्टरनेशनलको मोडेलमा कृषि क्षेत्रको आगामी योजना बनाउन सुझाव दिएका छन् । सो संस्थाले साना किसान आयआर्जनमा नेपाल संचालन गरेको परियोजना सफल भएको निष्कर्ष निकाल्दै यस क्षेत्रका सरोकारवालाले यस्तो सुझाव दिएका हुन् ।

हेफरद्वारा सम्पन्न प्रथम चरणको साना किसानहरूको पशु मूल्य श्रृंखलामा आधारित उद्यम सवलीकरण परियोजनाको समीक्षा तथा दोस्रो चरणको परियोजना सुरुवातको घोषणा कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले हेफर मोडेलको प्रशंसा गरे । “म निर्वाचित क्षेत्रमा हेफरको कार्यक्रम छ, साना किसानलाई यसले गरेको सहयोग नजिकबाट नियालेको छु,” उनले भने, “भोकालाई एक छाक भोजन हैन, जीउने जुक्ति सिकाइदेउ भन्ने अवधारणाबाट यसले संचालन गरेका कार्यक्रम सफल छन् ।” हेफरले गरेको कार्यक्रमको आयआर्जनमा मात्र नभई मानव पुँजीको विकास पनि हेफरले उत्कृष्ट कार्यक्रम गरेको बताउँदै उनले आफ्नो क्षेत्रको मन्त्रालय नभएपछि कृषि क्षेत्रको आधुनिकरण, यान्त्रिकरणका लागि आफूले निरन्तर सरकारमा वकालत गर्ने प्रतिबद्धता व्यक्त गरे । हेफरले सन् २०१२ देखि २०१७ सम्म पहिलो चरणको परियोजना अन्तर्गत २ लाख ५० हजार कृषक प्रत्यक्ष लाभान्वित भएको जानकारी गराएको छ ।

साना कृषकलाई समूहमा सचेतनामूलक कार्यक्रम गर्ने, सचेत कृषकलाई दुग्ध उत्पादन तथा बाख्रापालनमा सहभागी गराउनेदेखि उत्पादनको बजारमा ज्ञारेन्टी गर्नेसम्मको पशुपालन मूल्य श्रंखलामा काम गर्दै आएको छ । पहिलो चरणको कार्यक्रम सफल भएपछि हेफरले आगामी चार वर्षका लागि सोही परियोजनाको दोस्रो परियोजना सुरु गरेको हो । दोस्रो परियोजना अन्तर्गत नेपालका ३१ जिल्लाहरूका १ लाख २५ हजार साना किसानहरूको जीविकोपार्जन प्रत्यक्ष रूपमा सुधार्नको साथै सन् २०२१ सम्ममा परिवारको औसत वार्षिक आय ३ लाख ९० बाट ७२ प्रतिशतले बढाएर ५ लाख ५७ हजा पु¥याउने लक्ष्य लिएको हेफर इन्टरनेशनलका नेपाल निर्देशक डा. शुभनारायण महतोले बताए । “परियोजनाले थप तीन लाख ५० हजार परिवारहरूलाई उत्पादन सामाग्री तथा सेवा र बजारमा पहूँंच पुर्‍याई अप्रत्यक्ष रूपमा लाभान्वित गर्नेछ,” उनले भने, “साना किसानहरूलाई कृषि उद्यमी बन्न सहजीकरण गर्ने हो भने उनीहरू सक्षम उत्पादक बन्न सक्छन् र उनीहरूलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाद्यबजार सञ्जालमा एकीकृत गर्न सकिन्छ भन्ने हेफरकोे अनुभव रहेको छ ।” उनले दुधको मूल्य श्रंखला सुधार, तरकारी तथा लोकल कुखुराको बजारमा पहुँच वृद्धि, उत्पादन तथा उत्पादकत्व वृद्धि, महिला ससक्तिकरण र प्रविधि विस्तार लगायतका क्षेत्रमा दोस्रो चरणको कार्यक्रम केन्द्रीतरहने बताए ।

नेपालमा हेफर मोडेल सफल रहेको र मन्त्रालयले पनि साना किसानमुखी कार्यक्रम कार्यक्रम प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिरहेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय (कृषि) का सचिव युवकध्वज जिसिले बताए । “कृषिमा व्यवसायीकरण, यान्त्रिकरण, औद्योगिकरणका नाराले मात्र कृषि क्षेत्रको विकास प्रभावकारी हुन सक्दैन, नेपालमा कुन मोडेलको कृषि प्रणाली आवश्यक छ भन्ने बुझेर मात्र नीति तथा कार्यक्रम लागू गर्नुपर्ने बेला आएको छ,” उनले भने । अनुदान बाँडेर मात्र विकास नहुने तर्क राख्दै उनले हेफरले जस्तो सफल मोडेल सरकारले पनि पछ्याउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै हेफर इन्टरनेशनलको कार्यक्रम संयोजक निना जोशीले नेपालमा मात्र नभई विश्वमा नै साना किसानले नै खाद्य उत्पादनमा ठूलो भूमिका खेल्ने गरेको बताइन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics