पर्यटकको रोजाइमा मुस्ताङको ढुम्बा ताल



हिमालपारीको सुन्दर र पर्यटकीय जिल्ला मुस्ताङको ढुम्बा ताल पछिल्लो समयमा पर्यटकको आर्कषणको केन्द्रबिन्दु बन्दै गरेको छ । मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने प्राय पर्यटकहरू ढुम्बा तालको दर्शन गर्न पुग्ने गरेका छन् । पर्यटकको आगमन बढ्दै गएपछि स्थानीय व्यवसायीसमेत उत्साहित बन्दै गएका छन् ।

पर्यटकको आकर्षणका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पूर्वमा पर्ने ढुम्बा ताल २ वर्षयता चर्चामा आउन थालेको हो । पछिल्लो समयमा केही नेपाली चलचित्रमा समेत ढुम्बा तालको मनोरम दृश्य छायाँकन हुन थालेपछि तालको सुन्दरताको दर्शन गर्नेको घुँइचो लाग्न थालेको छ ।

समुद्र सतहदेखि करिब ३ हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ५० मिटर र चौडाइ १०० मिटर छ । कालिगण्डकी करिडरअन्तर्गत पूर्वकोे नीलगिरी र पश्चिमको धौलागिरी हिमाल यस स्थानबाट देखिन्छ ।

तालका बारेमा चलचित्र र मिडियाको समाचारले यहाँ आउने पर्यटकलाई लोभ्याउन सहयोग गरेको छ । निलगिरी हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने यो ताल हेर्न दैनिक १ सय देखि ४ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको रेष्टुरेन्ट सञ्चालक अजित पुन बताउनुहुन्छ ।

जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बाताल पुग्न सकिन्छ । पर्यटकीय गन्तव्यको सम्भावना बोकेको उक्त तालसम्म पुग्ने सडक थप स्तरोन्नति हुनु आवश्यक छ । ढुम्बातालमा नेपाली चलचित्रको छायाङ्कन हुनुले पनि यस ठाउँको प्रचार प्रसार हुने अपेक्षा गर्न सकिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics