एक सातामा २२ हजार बिरुवा वितरण



सरकारले एक सातामा विभिन्न  २५ प्रजातिका  २२ हजार बिरुवा वितरण गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर १२ जेठदेखि २२ जेठसम्मको अवधिमा ती बिरुवा वितरण गरिएको वन विभागले जनाएको छ ।

वन तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसको सन्दर्भ पारेर पहिलो पटक साताव्यापी अभियान सञ्चालन गरेको थियो । यो अभियानका क्रममा रुद्राक्ष, धूपि, तेजपात, सोलु फूल, कोइराला, लप्सी, कागती , अमला, अम्बा लगायतका प्रजातिका बिरुवा वितरण गरिएको विभागका वन समद्र्धन अधिककृत ज्ञान्द्र रत्न कंसाकारले बताए ।

वितरण गरिएका बिरुवा राजधानी नजिका जिल्लाहरू ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, चितवन र धादिङ लगायतका ठाउँमा पुर्‍याइएको छ ।

विभागका अनुसार आउँदो १५ असारदेखि हरियाली प्रवर्द्धनका लागि विभिन्न प्रजातिका बिरुवा वितरण कार्य तीब्र पारिनेछ ।

अन्य बर्षहरु भन्दा भिन्न रहेको यस बर्षको वातावरण दिवसमा प्रधानमन्त्री के पी शर्मा ओलीले नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५ नाम दिइएको कार्ययोजना लोकार्पण गरेका थिए । प्रधानमन्त्री ओलीले सिंहदरबारमा लिची र एभोकाडोको बिरुवा रोपेरै ‘एक नेपाली एक फलफूल बिरुवा’ अभियान समेत सुरु गरेका थिए ।

हरेक घरमा वास्नादार रुख रोप्नुपर्ने

अब हरेक घरमा फूल फुल्ने, फल फल्ने र वास्ना आउने एक रुख अनिवार्य रूपमा रोप्नैपर्ने भएको छ । हरियाली प्रबर्द्धनका लागि भन्दै ल्याइएको नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५ कार्ययोजनामा यस्तो व्यवस्था गरिएको छ ।

वन तथा वातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागको सहकार्यमा ल्याइएको कार्ययोजनामा हरियाली प्रवर्द्धनको लागि हरेक स्थानीय तहले हरियाली प्रवर्द्धन गुरुयोजना तयार गरी लागु गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

सरकारले कम्तिमा एक घर एक बिरुवाका हिसाबले वन र कृषि वनको प्रवद्धन गर्ने योजना अघि बढाएको छ ।

यस्तै, सडक किनारमा वृक्षारोपण गर्ने, नदी किनारमा बाँस र बैंस रोप्ने तथा स्थानीय तहसँग जोडिएका लोकमार्ग किनारमा वृक्षारोपण गर्ने कार्ययोजना रहेको छ । स्थानीय तहका सार्वजनिक खाली जग्गामा न्यूनतम ०.५ हेक्टरको एउटा नमूना उद्यान निर्माण गरी हरियाली प्रवर्द्धन गर्ने समेत कार्ययोजना उल्लेख छ ।

स्वच्छ वातावरण महाअभियान, २०७५  अभियानबाट अपेक्षित उपलब्धिहरू यस्तो छ : 

- सबै स्थानीय तहका खाली जग्गामा कम्तीमा ५ प्रतिशत वृक्षारोपण हुने ।

- सबै स्थानीय तहमा न्यूनतम एउटा नमूना उद्यान स्थापना हुने ।

- काठमाडौँ उपत्यका लगायत देशभरका सबै सहरमा दैनिक उत्सर्जन हुने फोहोरमा २० प्रतिशतले कमी आउने ।

-  व्यक्ति र संस्थाहरूमा आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने सोंचको विकास हुने ।

-फोहरमैलाको सुरक्षित भण्डारण तथा प्रशोधन गरी उचित व्यवस्थापन एवं पुनर्प्रयोग गर्ने प्रणालीको विकास हुने ।

- विकास निर्माण कार्य, अस्पताल, औद्योगिक क्षेत्र, होटेल रेस्टुरेन्ट लगायतका क्षेत्रबाट निष्कासन हुने धूलो, धुवाँ, जल र ध्वनि प्रदूषणको मात्रामा कम्तिमा ३० प्रतिशतले कमी आउने ।

- प्लास्टिक झोलाको उत्पादन र प्रयोगमा कमी ल्याई देशभरमा ५० प्रतिशत प्लास्टिक झोलाको प्रयोगमा कमी आई कपडा र कागजका वैकल्पिक झोलाको प्रयोगमा प्रवर्द्धन हुने ।

- गाउँ, घर, शहर, बस्ती, चोक सबै क्षेत्र सफा र सुन्दर हुने र सबै नेपालीले देश आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको अनुभूति गर्ने ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics