वयस्क भाले चितुवा मृत अवस्थामा फेला



वयस्क भाले चितुवा मृत अवस्थामा फेला परेको छ । बागलुंगको भकुण्डे दह बराहा प्राथमिक विद्यालय नजिकै धान खेतमा व्यस्क भाले चितुवा मृत अवस्थामा फेला परेको हो ।

बराहा प्राथमिक विद्यालयदेखि २५ मिटरको दुरीमा रहेको स्थानीय डम्मरकुमारी रायमाझिको आवादी धान खेतमा मृत अवस्थामा चितुवा भेटिएको हो । इलाका वन कार्यालय बागलुंगबाट खटिएका गस्ती टोलीले उक्त चितुवा फेला पारेको हो ।

धानको व्याडमाथि टाउको उत्तरतर्फ फर्किएको अवस्थामा एक सय ९३ सेन्टिमिटरको वयस्क भाले चितुवा फेला पारिएको हो । चितुवाको मृत्युको कारणको बारेमा वैज्ञानिक कारण खुल्न सकेको छैंन् ।

बिहान साढे ६ बजे सर्वसाधारणको ओहोर दोहोर सुरु भएपछि उक्त चितुवा मृत अवस्थामा फेला पारिएको स्थानीय बासिन्दाको भनाई छ ।

कालगतीले मरेको अपुष्ट जानकारी आएपनि मृत्यु हुनु पछाडिको कारणबारे अध्ययन भइरहेको इलाका वन कार्यालय बागलुंगका सहायक वन अधिकृत अच्युतप्रसाद उपाध्यायले जानकारी दिए । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त चितुवा वयस्क अवस्थाको भाले रहेको र तौलको हिसाबले समेत परिपक्व अवस्थामा रहेको र शरीरमा समेत कुनै किसिमको बाहिरी चोट पटक नदेखिएको जिल्ला वन कार्यालय वागलुंग्का जिल्ला वन अधिकृत विशाल घिमिरेले जानकारी दिए ।

पछिल्लो समयमा वन्यजन्तुको बासस्थानमा मानवीय क्रियाकलापको कारण जोखिम पर्दैगएको छ । यस किसिमका वन्यजन्तुहरू बस्ती क्षेत्रमा देखा पर्ने र घरपालुवा जनावरका साथै मानिसहरूमाथि समेत आक्रमण हुने घटनामा बृद्धि भइरहेका छन् । यसले गर्दा मानव र वन्यजन्तु बिचको द्वन्द्वका कारण वन्यजन्तुको संरक्षणमा चुनौती बढ्दै गएको छ । यसका लागि स्थानीय समुदायको सहभागितामा वन्यजन्तु संरक्षणका कार्यक्रम सञ्चालनलाई अझ प्रभावकारी ढंगबाट अघि बढाइने जिल्ला वन कार्यालयले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics