पाहुना चराले बसाइ लम्ब्याए
- टीका बन्धन
मुलुकका विभिन्न सिमसार र जलाधारमा चरिचरणका लागि भित्रिने हिउँद यामका पाहुना चराले नेपाल बसाइ अवधि लम्ब्याउन थालेका छन् । मनसुनअगावै फर्कनुपर्ने जलपन्छी मध्य वर्षात्मा पनि यतै भेटिन थालेका छन् ।
खडखडे हाँस (गडवाल) को एउटा समूह कपिलवस्तुको जगदीशपुर तालमा भेटिएपछि सो पन्छीले नेपालमा बसाइ अवधि लब्याउनुको कारण पहिचान गर्न पन्छीविद्हरुले चासो लिएका छन् । पन्छीविद् डा. हेमसागर बरालसहितको टोलीले जगदीशपुरमा मध्यअसारको समयमा करिब १ दर्जनको संख्यामा खडखडे हाँस भेटेको हो ।
‘जेठ दोस्रो हप्ताअघि नै फर्कनुपर्ने खडखडे हाँसको समूह धेरैपछि पनि भेटियो’, डा. बरालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यसले आगन्तुक पन्छीबारेको अध्ययन अनुसन्धानको दायरा बढाएको छ ।’ हिउँदे आगन्तुक जलपन्छी वर्षाको अन्त्यसँगै नेपालका सिमसार, जलाधार र तालतलैयामा भित्रिने गर्छन् । खड्खडे हाँससहित जलपन्छीको ठूलो संख्या चीन, मंगोलिया र रुसको दक्षिणी भू–भागबाट नेपाल भित्रिने गर्छन् ।
जगदीशपुरमा गत वर्ष पनि मध्य वर्षाद्मा सुनजुरे, सिन्धुरे र खड्खडे हाँसको समूह भेटिएकोमा यसपटक खड्खडे मात्रै भेटिएको बरालले जानकारी दिनुभयो । पाहुना चराले बसाइ अवधि लम्ब्याउनु जलवायु परिवर्तनको प्रभाव हुन सक्ने उहाँको अनुमान छ । बसाइ अवधि लम्ब्याउन थालेका पन्छीले आगामी दिनमा रारालगायत मुलुकका उच्च भेगका सिमसारमा वच्चा कोरल्न सक्ने र बाहै्र महिना यतैको वातावरणमा आफूलाई घुलमिल गराउन सक्ने बराल बताउनुहुन्छ ।
हिउँद याम शुरु हुनुअगावै नियमित बसाइँसराइका क्रममा चीन, मंगोलिया, साइबेरिया, कोरिया, ताजाकिस्तान, कीर्गिस्तान, उज्वेकिस्ता, अजरवैजानसहित उत्तरपूर्वी युरोपबाट जलपन्छी नेपाल भित्रिने गर्छन् । केही पन्छी निरन्तर ५ दिन ५ रात उडेर नेपाल भित्रिने गर्छन् भने धेरैजसो नदीले बनाएका उपत्यका र आसपासका स्थानमा बास बस्दै, विचरण गर्दै आउने गर्छन् ।
हिउँदे जलपन्छीको ठूलो संख्या र प्रजाति भने चीन र तिब्बतबाट नेपाल भित्रिन्छ, बच्चा कोरल्न भने आफ्नै स्थायी बासस्थानमा फर्कने गर्छ । करिव १ सय ५० पाहुना चरा नेपालका ताल तलैयामा रम्छन् भने करिब ५० प्रजाति पन्छी नेपाल हुँदै भारत, पाकिस्तान र श्रीलंका पुग्ने गरेका नेपाल पन्छी संरक्षण संघले जनाएको छ । हिउँद याममा नेपाल आउने पाहुना चरामध्ये हिस्सा हाँसका प्रजातिको बाहुल्य रहन्छ । पाहुना हाँसका विभिन्न ६ प्रजातिले नेपालमा वच्चा कोरल्छन् ।
सिलसिले, हरि हाँस, नादुन, नकटा, हरियो टाउके र चखेवा–चखेवीले नेपालमा बच्चा कोरल्छन् । हरियो टाउके र चखेवा–चखेवी हिउँदे आगन्तुक हुन् भने अन्य चार प्रजाति भारतीय भूमि हुँदै भित्रिने गृष्मकालीन पाहुना हुन् । पन्छीविद्हरुका अनुुसार सिलसिले, हरिहाँस, नादुन र नकटाले तराईका सिमसारमा बच्चा कोरल्ने गर्छन् भने हरियो टाउकेले मुस्ताङको टिटी र अछामको रामारोसन तालमा बच्चा हुर्काउने गर्छन् । चखेवाले सोलुखुम्बुको गोक्यो पोखरीमा नियमित वच्चा कोरल्ने गरे पनि त्यो ज्यादै थोरै संख्यामा रहेको बताइन्छ ।
सिलसिले र हरिहाँसको प्रजनन सन्तोषजनक रहे पनि नादुनले घोडाघोडीमा मात्रै बच्चा कोरल्ने गरेको पाइएको पन्छविद् बरालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘तराईका वनले घेरिएका ताल तलैयामा बासस्थान भएको नकटा हाँसले नेपालमा बच्चा नकोरलेको ३०÷४० वर्ष नाघिसकेको छ ।’ हरिहाँस आगन्तुक र रैथाने प्रजातिको हो, विश्वकै दोस्रो सानो हाँस यो पन्छी राष्ट्रिय स्तरमा संकटापन्न सूचीमा सूचीकृत छ ।
नेपाल समचारपत्र
प्रतिक्रिया दिनुहोस