नेपालका लागि कति बाघ ?



वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाघको संरक्षणभन्दा अनुसन्धानमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । मन्त्री बस्नेतले भने,‘कति बाघको संरक्षण मात्रै गर्न सक्छौँ, अनुसन्धान पनि हुन आवश्यक छ ।’

विश्व बाघ दिवसको अवसर पारेर खुमलटारस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा आयोजना भएको बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो क्षमता, हाम्रो पारिस्थिति र आवश्यकताले कति संख्यामा बाघ संरक्षण गर्न सकिन्छ, यसको बारेमा विस्तृत अध्ययन गरी प्रस्ट योजना आउनुपर्छ ।’

मन्त्री बस्नेतले नेपालजस्तो मुलुकमा बाघको यनिक संख्या कति हुनुपर्ने हो, त्यो अब सोच्नुपर्ने दिन आएको जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले बाघको गणना २०१८ को नतिजा निकट समयमै सार्वजनिक गर्ने आश्वासन दिए । वैज्ञानिक अध्ययन अनुसन्धानको नतिजा सार्वजनिक उपयुक्त समय मिलाएर सार्वजनिक गर्न सकिने ओलीले बताए । उनले भने,‘नियमियत रूपमा वन्यजन्तुको अध्ययन अनुसन्धान गरी मानव र वन्यजन्तुबीच द्वन्द्व सिर्जना भएर हुने घटनाको बिषयमा पनि अध्ययन गर्नुपर्ने आजको आवश्यकता छ ।’

जैविक विविधता तथा वातावरण माहाशाखाका प्रमुख डा.महेश्वर ढकालले नेपालमा बाघको वासस्थान र वन्जन्तु तथा मानिसबीचको द्वन्द्व मुख्य चुनौति बनेको जानकारी दिए । हुन पनि बाघ संरक्षणका लागि बाघको वासस्थान सबैभन्दा महत्वपूर्ण हुन्छ । स्थानीयसँगको हातेमालो बिना बाघको संरक्षण गर्न सकिन्न् । बाघ पाइने देशहरू बीचको अन्तरसीमा साझेदारी पनि यसमा उत्तिकै महत्त्वपूर्ण हुन्छ । ढकालले भने, ‘वासस्थानको गुणस्तरमा ध्यान नदिने हो भने बाघ संरक्षणमा ठूलो चुनौति थपिन्छ । बाघको संख्या दोब्बर बनाउनुका साथै उनीहरूको गुणस्तयुक्त वासस्थानमा पनि विशेष ध्यान दिनु पर्छ ।’

आइतबार नेपालमा विभिन्न कार्यक्रम गरी ‘समृद्धिको लागि बाघ संरक्षण’ भन्ने नाराको साथ ८ औँ विश्व बाघ दिवस मनाइएको छ ।



बिश्व बाघ दिवसमा जनचेतना फैलाउन स्कुलका बिद्यार्थीहरुलाई सहभागी गराइएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले स्थानीयबासीको सहयोगमा बाघसहित वन्यजन्तुको संरक्षण गर्न सकिएको बताए ।उनका अनुसार विभागले बाघ र गैँडाको जनसङ्ख्या कति राख्ने, कुन राष्ट्रिय निकुञ्ज र वनमा वन्यजन्तु राख्न कति क्षमता छ लगायतका बिषयमा आवश्यक अध्ययन  भइरहेको छ  ।  अध्ययनको प्रतिवेदन यसै आर्थिक वर्षमा सार्वजनिक गर्न लागिएको खड्काले जानकारी दिए ।

सरकारको २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा हुने अधिकारीहरूले विश्वास लिएका छन् । नेपालमा बाघ संरक्षणमा ठूलो चुनौतीहरू भेटिएका छन् ।बासस्थानामा ह्रास हुने, खण्डिकरण र क्षयीकरण हुने, क्षेत्रफल घट्ने, गैरकानुनी कार्य हुने, मानव—बाघ द्वन्द्व सिर्जना हुने, विभिन्न रोगको प्रकोप हुने, जनचेतनामा कमी र जलवायु परिवर्तनलगायतका कारणले बाघको संरक्षणमा ठूलो चुनौती थपिएको छ ।

नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको बसोबास स्थल मानिन्छ । नेपालसहित विश्वका १३ मुलुकमा बाघ पाइन्छ । बाघको बाँदर, मृग र बँदेललगायतको वन्यजन्तु आहार हो । हरेक पाँच वर्षमा गरिँदै आएको बाघको गणना यसअघि सन् २०१३ मा गरिएको थियो । उक्त गणनाले नेपालमा वयस्क बाघको सङ्ख्या १९८ देखिएको थियो । यो पटक बाघको सङ्ख्या बढ्ने सङ्केत देखिएको जानकारहरू बताउँछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics