गाईलाई सुत्केरी भत्ता प्रदान

प्राय मानिसले मात्रै काम तथा सेवा गरे बापत्तको विभिन्न प्रकृतिका भत्ताहरु पाउने गर्दछन् । तर गाईलाई पनि सुत्केरी भत्ता दिइएको भन्दा अपत्यारिलो लाग्न सक्छ । तर पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नं. २ इम्बुङमा गाईलाई सुत्केरी भत्ता प्रदान गर्न थालिएको छ ।

फाल्गुनन्द गाँउपालिका २ नं. वडा कार्यालय र स्थानीय सहकारी संस्थाको प्रयासमा गाईलाई सुत्केरी भत्ता वितरण गरिएको हो । गाई पालक कृषकलाई पशुपालन र कृषि पेसामा निरन्तर लाग्न प्रोत्साहित गर्ने उद्देश्यले भत्ता वितरण गर्न थालिएको वडा नम्बर २ का वडा अध्यक्ष बहादुरसिंह नेम्बाङ्गले बताए । ।

गाई पालन गर्दा गाई सुत्केरी भएकै कारण भत्ता पाइन्छ भन्ने आफूले कहिल्यै नसोचेको स्थानीय गाई पालक लोकन्द्र फुयालको भनाई छ । गाईलाई सुत्केरी भत्ता प्रदान गर्ने कार्यले निरन्तरता पाए पशु पालन र कृषिमा भविष्य देखेका कृषकहरू आफ्नो पेसामा थप हौसिएर लाग्ने र आत्मसम्मान मिलेको महसुस गर्ने फुयालको दाबी छ ।

फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय फिक्चुखोला कृषि सहकारी संस्था लिमिटेड र उक्त वडामा पशुपालनमा सहयोग गर्दै आएको संस्था मिलन केन्द्र नेपालको संयोजनमा गाई सुत्केरी भएवापत भत्ता उपलब्ध गराउन थालिएको फाल्गुनन्द–२ का वडा अध्यक्ष बहादुर सिंह नेम्वाङले बताए ।

उनका अनुसार पहिलो पटक २७ ओटा विमित गाईका गाई पालक किसानहरूलाई २ हजार २ सयको दरले सुत्केरी भत्ता वितरण गरिएको छ । गाई सुत्केरी हुँदा स्याहार–चारक गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले थालिएको भत्ता वितरणलाई आगामी वर्षमा थप विस्तारित र व्यवस्थित बनाइने वडाध्यक्ष नेम्वाङको भनाई छ ।

उक्त वडामा उन्नत जातिको गाई पालनका लागि सहयोग गर्दै आएको मिलन केन्द्र नेपालका कार्यक्रम संयोजक विचारसिंह लावतीले विमा गराइएका ४ महिना भित्रका सुत्केरी गाईहरूलाई सो सुविधा उपलब्ध गराएको बताए । इम्वुङमा गुड इभर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ५४ ओटा र घुम्ती कोषबाट १० ओटा गरी ६४ ओटा उन्नत जातका गाई पालन गरिँदै आएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics