कोहलपुरमा काठ तस्करी
- नेचर खबर
कोहलपुरस्थित चटारमा ‘अवैध रुपमा’ खयरको काठ लुकाएको आशंकामा प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ ।छुटपूर्जीमा दुई नम्वरी खयरको काठ मिसाएर उद्योगतर्फ लैजादै गरेको गोप्य सूचना पाएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरले घाटगद्धी स्थल चटारबाटै ठुलो परिमाणको काठसहित ना १ ख २७५० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
रानी सामुदायिक वन उपभोक्ता समुह कोहलपुरको उक्त काठ नियन्त्रणमा लिएको केही घण्टापछि प्रहरी आफैले काठको सबै कागजात मिलेको भन्दै ट्रकलाई छाडिदियो ।प्रहरीले शंकास्पद काठ छाडेपछि स्थानीय बासिन्दाले आर्थिक मिलेमतोको आशंका गरे । छुटेको केहीबेरमै उक्त ट्रकलाई वन कार्यालयको टोलीले गनापुरबाट नियन्त्रणमा लिएको छ ।‘छुटपुर्जी भएको काठमा दुई नम्बरी काठ मिसाएको सही सूचना पाएरै प्रहरीले समातेको हो,’ एक स्थानीयले भने ‘पक्राउ परेको केही घण्टामै त्यो काठको सबै कागजपत्र मिलेको भनि प्रहरीले के आधारमा प्रमाणित गरेर छाड्यो, यसमा प्रहरीको मिलेमतो प्रष्ट देखिएको छ ।’
नियम अनुसार कुनैपनि काठपात प्रहरीले शंकाको आधारमा नियन्त्रणमा लिएपछि आवश्यक छानविन गर्ने जिम्मा वन कार्यालयलाई दिनुपर्छ । तर, प्रहरीले मंगलबार काठ आफैले नियन्त्रणमा लिएर आफ्नै निर्णयमा छाडेपछि चौतर्फी रुपमा शंका उब्जेको छ ।जिल्लाका सरोकारवालाले घटनाको निश्पक्ष छानविन गर्नुपर्ने माग गरेका छन् । प्रहरीले छाडेको उक्त ट्रकलाई सव–डिभिजन वन कार्यालय राँझा नेपालगन्जका प्रमुख एवम् सहायक वन अधिकृत नारायण पार्धे नेतृत्वको टोलीले गनापुरस्थित बागेश्वरी कत्था मिलको परिसरबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरी आफैले नियन्त्रणमा लिएर आफै काठ छाडेपछि अनुसन्धानका लागि वन कार्यालयले नियन्त्रणमा लिनु परेको उनले बताए ।‘ट्रकलाई नियन्त्रण्मा लिएर शिल गरेका छौं,’ उनले भने ‘अनुसन्धानबाट सबै तथ्य पत्ता लाग्नेछ ।’ ट्रकमा छुटपुर्जीको नाममा ठुलो परिमाणमा अवैध काठ लोड भएको सूचना वन कार्यालयलाई पनि प्राप्त भएको बताए ।ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरिक्षक(डिएसपी) रमेशबहादुर सिंहले भने ट्रकमा छुटपुर्जीसहित दुई नम्बरी काठ मिसाएको शंकामा प्रहरीले नियन्त्रणमा लिएपनि सबै कागजात हेरेर मात्र छाडिएको जिकिर गरे ।
‘खयरको दुई नम्बरी काठ लैजान लागिएको भन्ने सूचनाको आधारमा नियन्त्रणमा लिन मात्रै खोजेका थियौं,’ उनले भने ‘वन कर्मचारीको राय पनि लियौं, हेर्दा कागजपत्र सबै मिलेको जस्तो देखियो त्यसपछि छाडिदियौं ।’कोहलपुर सव–डिभिजन वन कार्यालयका रेन्जर दिपबहादुर शाहीले प्रहरी आफैले सूचनाको आधारमा खयरको काठ नियन्त्रणमा लिएर आफ्नै निर्णयमा छाड्नु नै उसको कमजोरी भएको बताए ।
प्रतिक्रिया दिनुहोस