पहिरो सडक नखुलेपछि कुहिन थाल्यो मुस्ताङको स्याउ
- नेचर खबर
दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण सडक अवरुद्ध भएपछि गोदाममै मुस्ताङको स्याउ कुहिन थालेको छ ।
यहाँका किसानले बगैँचाबाट टिपेको स्याउ ढुवानी गर्न सकेका छैनन् ।
स्याउ बजारमा र्पुयाउन नसक्दा गोदाममै कुहिन थालेको व्यापारी तथा किसानको गुनासो छ ।
म्याग्दी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौं, चितवनलगायतका जिल्लाबाट आएर व्यापारीले बगैंचामा आएर बोटबाटै स्याउ खरिद गर्ने गरेका छन् ।
‘ढुवानी समस्याका कारण स्याउ कुहिन थालेको छ,’ थासाङ गाउँपालिका–१ टुकुचेका हरि थकालीले भने ।
जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार ११५ हेक्टर क्षेत्रफलमा रेड, रोयल, रिचारेड तथा गोल्डेर फुजी डेलीसियस जातको स्याउखेती गरिँदै आएको छ । वार्षिक पाँच हजार मेट्रिक टनको हाराहारीमा स्याउ उत्पादन हुन्छ । जिल्लाबाट अघिल्लो वर्ष करीब रु २५ करोड मूल्य बराबरको स्याउ बिक्री भएको थियो । विगत वर्षमा भदौमै आधाभन्दा बढी स्याउ बजारमा पुगिसक्दथ्यो । यसपालि एक चौथाइ पनि बिक्री हुन नसकेको घरपझोङ गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल खड्काले बताए ।
राहुघाट, रुप्से, काभ्रे, बादरजुङ र लेते क्षेत्रको अक्करे भीरको फेदीमा पहिरोले सडक भत्काएको छ । त्यहाँ नदीले कटान गर्दा बेनी–जोमसोम सडकमा सवारीसाधन चल्ने सकेका छैनन् । स्थानीयवासी, पर्यटक र तिर्थयात्री समस्यामा छन् । सडक खुलाउने प्रयास भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताए ।
प्रतिक्रिया दिनुहोस