व्यापारीले बढाए मैदा, आँटा र तेलको मूल्य
- नेचर खबर
व्यापारीले दैनिक उपभोग्य सामान मैदा, आँटा र तेलको मूल्य बढाएका छन् । पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् । आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ ।
४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ ।यस्तै आँटा १० रुपैयाँ बढेर प्रतिकिलो ५० रुपैयाँ पुगेको छ । तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् भटमासको तेल, सुर्यमुखी तेल, तोरीको तेलमा प्रतिलिटर १५ रुपैयाँ बढेको छ ।
अहिले भटमासको तेल प्रतिलिटर १४०, सुर्यमुखी १५०, तोरीको तोल १६०, बनस्पती घ्यु १४० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले जानकारी दिए । ठूला व्यापारीले नै मूल्य बढाएकाले खुद्रा बजारमा महंगो पर्न गएको उनको दावी छ । ‘अहिले बजारमा भएका यी वस्तु ४ महिनाअघि ल्याएको हो’, उनले भने, ‘ठूला व्यापारीले नै बढाएपछि खुद्रा मूल्य त स्वतः बढिहाल्छ ।’
अमेरिकी डलरको भाउ आकासिएपछि भारतमा नै मूल्यवृद्धि भएकाले नेपाली बजारमा पनि भाउ बढेको व्यापारीले बताउने गरेका छन् । चिनीको भाउ पनि बढ्यो अहिले बजारमा चिनीको मूल्य पनि आकासिएको छ ।
सरकारले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न भन्दै चिनीको आयातमा कोटा तोकेपछि व्यापारीले मूल्यवृद्धि गरेका छन् । अहिले चिनीको खुद्रा विक्रि मूल्य प्रतिकिलो ७५ देखि ८० रुपैयाँ पुगेको छ । यसअघि स्वदेशी चिनीको मूल्य ७५ रुपैयाँसम्म थियो भने बजारमा आयातित चिनी ६५ देखि ६८ रुपैयाँसम्ममा पाइन्थ्यो । तर आयात रोकिएसँगै व्यापारीले चिनीको मूल्य ८० रुपैयाँसम्म पुर्याएका हुन् ।
प्रतिक्रिया दिनुहोस