नेपालसँग वातावरणीय क्षेत्रमा सहकार्य गर्न दक्षिण कोरिया तयार
- नेचर खबर
नेपाल र गणतन्त्र दक्षिण कोरियाबीच वन तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य हुने भएको छ । कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो देखाएको हो ।
मंगलबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि कोरियाली राजदूत पार्कयोस सिकले सहकार्यको प्रस्ताव राखेका हुन । लामो समय युद्धबाट गुज्रिएको कोरियाले खाली जमिनमा जंगल क्षेत्र विस्तार गरेको चर्चा राजदूत सिकले नेपालसहित विकासशील मुलुकमा सोही पद्दति अबलम्बन गर्न सकिने बताए ।
कोरिया सरकारको हरियाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत नेपालमा सहयोग गर्न तयार रहेको राजदूत सिकको भनाइ थियो । बस्नेतले कोरियाको अनुभव नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुका लागि अनुकरणीय हुने भन्दै सहकार्यका लागि तयार रहेका जानकारी दिए ।
केही वर्षअघि नेपालमा वन जंगल बिनास भएर मरुभूमिकरण हुने हो कि भन्ने विश्वसमुदायले चिन्ता जाहेर गर्ने गरेको स्मरण गर्दै पछिल्लो समय नेपालको कुल क्षेत्रफलमध्ये करिब ४५ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको उनले तथ्याङ्क उल्लेख गरे।
‘हामीले वन क्षेत्र र पर्यावरण संरक्षणमा धेरै राम्रो सफलता प्राप्त गरेका छौं’, बस्नेतले बताए । ‘भर्खरै मात्र सार्वजनिक गरिएको बाघ गणनाको तथ्याङ्कले पनि त्यही देखाउँछ ।’
आफ्नो मन्त्रालयले वन पैदावारमा आधारित उद्यमशीलता, इको टुरिज्म प्रवद्र्धन, वाटर रिसोर्स म्यानेजमेन्ट र एग्रो फरेष्ट्रीजस्ता एजेण्डामा केन्द्रित रहेर कार्ययोजना बनाएको उल्लेख गरे ।
बस्नेतले नेपालमा वन जंगल क्षेत्र बढेकाले अब काष्ठ र गैरकाष्ठजन्य वस्तुसँगै कार्बन व्यापार गर्ने योजनामा सरकार तयार रहेको बताए । ‘करिब ५४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको छ’ ‘अब हामी कार्बनको अन्तर्राष्ट्रिय व्यापार गर्नेबारेमा सोचिरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस