पर्यावरणीय महत्वलाई उजागर गर्न कर्णालीको अन्वेषण
- नेचर खबर
कर्णाली नदीको पहिलो पटक वैज्ञानिक अन्वेषण गरिएको छ।
सोमबार नेपाल नदी संरक्षण संस्थाले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी कर्णाली नदीको उदगम स्थल तिब्बतबाट नेपाल हुँदै भारतको गंगा संगमस्थलसम्म ४४ दिन लगाएर कर्णाली नदीको पहिलो पटक वैज्ञानिक अन्वेषण गरिएको बताएको हो।
संस्थाका अध्यक्ष तथा अनुसन्धान टोलीका सदस्य मेघ आलेले नेपालभित्र बहने कर्णाली नदी प्रणालीको विभिन्न तथ्यांकहरु संकलन गर्न तथा सामाजिक,सांस्कृतिक तथा पर्यावरणीय महत्वलाई उजागर गर्नु अन्वेषण गरिएको बताए।
उनले कर्णाली नदी संसारकै दुर्लभ नदीका रुपमा रहेको समेत बताए । ‘कर्णाली नदी आफैमा एक जैविक प्रयोगशाला हो,’ उनले भने, ‘कर्णाली नदीको दिगो विकास तथा पर्यटन विकासका लागि पवित्र नदी करिडोरको रुपमा स्थापित गर्न सकिन्छ।’
अनुसन्धानका निश्कर्षलाई वाईल्ड एन्ड रिभर लेजिस्लेशन प्रस्तुत गर्न एउटा प्रस्ताव तयार गर्ने र कर्णाली नदीको कुनै खण्ड संरक्षण तथा सम्बद्र्धन गर्न खाका तयार पार्ने अध्यक्ष आलेले बताए ।
अन्वेषणमा संकलन गरिएको तथ्यांकलाई कर्णाली प्रदेशमा हुन लागेको विकास तथा अन्य पर्यावरण संरक्षणका लागि आवश्यक निर्णय लिन सहयोग पुग्ने अनुसन्धान टोलीका सदस्यहरुले बताएका छन्।
मानवशास्त्री अस्टिन अस्टिन लर्डले जलविद्युतलाई मात्र नभएर पर्यटन क्षेत्रबाट पनि नदीको विकास गर्नुपर्ने बताए। त्यसैगरी जियोलोजिष्ट करेन बेन्नेटले नेपालका नदी जोखिममा रहेको बताइन्। उनले नदीको दिगो विकासमा जोड दिनुपर्ने बताइन्।
वातावरण पत्रकार तथा अनुसन्धान टोलीका सदस्य रमेश भुसालले नदीको प्रयोगलाई विविधिकरण गर्नुपर्ने बताए। जलविद्युत बाहेक अन्य विकल्प सोचेर नदीको विकास हुनुपर्ने उनको भनाइ छ।
अन्वेषणको शुरुवात चीनको स्वशििसत क्षेत्र तिब्बतमा पर्ने कैलाश क्षेत्रको माब्चाखम्बाब नदीबाट गरिएको थियो। यो नदी नेपाल प्रवेशसँग हुम्ला कर्णाली नामले चिनिन्छ।
कर्णाली नदी तथा सहायक नदी खोलाहरुमा भएका जैविक विविधता, पानीको गुणस्तर, नदी आसपासको भौगर्भिक अवस्था, नदी प्रणाली तथा जलाधर क्षेत्रको अवस्था साथै उक्त क्षेत्रका बासिन्दाको जीवनस्तर, संस्कृति, सामाजिक परिवर्तन तथा नदीसँगको अन्तर्निहित सम्बन्धहरुको बारेमा तथ्यांक संकलन गरिएको अध्यक्ष आलेले बताए ।
सन् २०१९ को सुरुवातमा अन्वेषणका निश्कर्षलाई सार्वजनिक गर्न संस्थाले जनाएको छ। यो अन्वेषण भदौको ३१ गतेदेखि कात्तिकको १२ गतेसम्म गरिएको थियो।
७ वैज्ञानिक, ३ अनुसन्धान सहायक, एक वातावरण पत्रकार र फोटोग्राफर गरी १२ जनाको अनुसन्धान टोली रहेका थियो। जसमा मेघ आले, करेन बेन्नेट, डा.दिप नारायण शाह, अस्टिन लर्ड, डा.प्रेम शर्मा, रमेश भुसाल, नवीन बराल, सन्तोष नेपाल, विनय पाशखल, मीना राजी, कृपा डङ्गोल र भक्तबहादुर शाही थिए।
प्रतिक्रिया दिनुहोस