एसीमा ऐस गर्दै अफ्रिकन बाँदर

अफ्रिकाबाट नेपालमा पाहुना बनेर आएका सानु र सानी (बाँदरको एउटा प्रजाति -रिङटेल लिमुर) चिडियाखानाको विशेष खोरमा रमाइरहेका छन् ।सानु र सानी नेपाली नाम दिइएका यो जोडी फरक वातावरणबाट आएको वन्यजन्तु भएको हुनाले उनीहरूलाई अफ्रिकी वातावरणको झल्को दिनेगरी खोरमा एसी जडान गरिएको हो ।



एसीले अहिले रिङटेलको खोरलाई तातो बनाएको छ । एसीले जाडोमा तातो र गर्मीमा चिसो बनाउन मदत गर्छ ।सानु र सानी तातो ठाउँबाट आएको हुँदा तातोमा नै बस्न मन पराउने भएकोले एसी राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषकी सूचना अधिकारी लिना चालिसेले बताइन । उनले भनिन, ‘घाम ओझेलमा पर्ने बितिकै काम्दै भित्र एसि जडान भएको खोरमा छिछन् भने सूर्य उदाउन साथ सूर्यको किरण तिर फर्कदै घामसँग रमाउँदै बस्ने गरेका छन् ।’

मौसम अनुसार वन्यजन्तुको आवश्यकतालाई मध्यनजर गरेर खोरमा तामक्रम बढाउने घटाउने गरिन्छ ।

रिङटेल अति संवेदनशील वन्यजन्तु भएकोले यसका लागि कृत्रिम वातावरणको आवश्यकता भएको हो ।

सानु र सानी अहिले घामसँग लुकामारी खेल्न एसी बाहिर निस्कने गरेको छन् । चर्को घाममा सानु र सानीलाई चिडियाखानामा घाम ताप्दै बसेको देख्न सकिन्छ ।



अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केही सीमित छिमेकी टापुमा मात्रै पाइने रिङटेल लिमुरलाई चिडियाखानाले प्रदशनमा राखे लगतै घाम लाग्दा यसलाई हेर्न आउनेको वरिपरि भिड हुने गरेको छ ।

रिङटेललाई एक वर्षा सम्म क्वारेन्टाइनमा राखेको थियो । यसको स्वास्थ्य र वातावरणमा घुलमिल हुन कम्तीमा नि एक वर्ष लागेको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

यसलाई केरा एकदमै मनपर्ने भएकोले सबैभन्दा पहिला केरा खाना दिने व्यवस्था गरिएको छ ।

विशेष गरी बाँस र निगालोको घाँस रुचाउने सानु र सानीलाई यस्तै आहरा र मौसमी फलफुल खुवाउने गरिएको सूचना अधिकारी चालिसेले जानकारी दिइन।

रिङटेलको मुख्य खाना फलफुल, बाँस निगालो, किरा र फट्याङ्ग्रा रहेता पनि यसले मसिना घाँस र पातहरू पनि खाने गरेका पाइको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।
यसको तोल २.२ देखि ३.५ किलोग्राम सम्म हुन्छ । रिङटेलको ४ देखि ५ महिनाको गर्भधारण अवधि हुन्छ ।

यो वन्यजन्तुको १६ देखि १९ वर्षको औसत आयु हुन्छ । रिङटेल साना साना बुट्यानहरु भएको जङ्गल र मिश्रित खालको जङ्गलमा मात्र पाइन्छ । चिडियाखानामा अहिले ‘रिङटेल लिमुर’ सहित विभिन्न १ सय २७ प्रजातीका १ हजार २ सय १९ वटा जिवजन्तु प्रदर्शनीमा राखिएको छ ।

सागर बम्जन

प्रतिक्रिया दिनुहोस

web
analytics