नास्टबाट १० विधामा वैज्ञानिक, प्राध्यापक र विद्यार्थी पुरस्कृत


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विज्ञान, प्रविधि र प्राकृतिक क्षेत्रको खोज, अध्ययन र अनुसन्धानमा योगदान पुर्‍याएका २० जना वैज्ञानिक, प्राध्यापक र विद्यार्थीलाई विभिन्न १० विधामा पुरस्कृत गरेको छ ।

नास्टद्वारा ललितपुरको खुमल्टारमा आयोजित विशेष समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कार्यक्रम उद्घाटन तथा उहाँहरूलाई पुरस्कृत गर्नु भयो। । मन्त्री पोखरेलले पुरस्कारले विज्ञानको क्षेत्रमा खोज अनुसन्धानका लागि हौसला मिल्ने बताउँदै वैज्ञानिक खोज र अनुसन्धानमा नास्टले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

“अब नेपालमा टायर बाल्ने होइन, टायरबाट तेल उत्पादन गर्ने जनशक्तिको उत्पादन गर्नुपर्छ”, पोखरेलले भने, “सरकारले विज्ञान क्षेत्रमा थप योगदान पुर्‍याउन साइन्स म्युजियमको स्थापना गर्ने योजना अघि बढाएको छ ।”

नेपालमा पहिलो पटक इमेल सेवा भित्र्याउने देखि नेपालमा पहिलो पटक भू–उपग्रह प्रक्षेपण गर्ने काम नास्टले गरेको उपकुलपति डा सुनिलबाबु श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले भने, “हाल नवप्रवद्र्धन नीतिको १०८ स्थानमा रहेको नेपाल आगामी दिनमा सुधारका साथ दुई स्थानमा ल्याउने योजना अघि बढाएका छौँ ।”

नेपालको वन तथा जैविक विविधताको संरक्षणमा योगदान गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासङ्घलाई रु दुई लाख राशिको ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गरेको छ । ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’बाट स्याङ्जाका डा टेकबहादुर गुरुङ र डा गजेन्द्र शर्मा, प्यूठानका डा रबा थापा तथा तेह्रथुमका प्राडा विजया पन्तलाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु एक लाख २५ हजार रहेको थियो ।

भूगर्भ विज्ञानको क्षेत्रमा योगदान पुर्‍याएबापत प्राडा मेघराज धिताललाई रु एक लाख नगदसहित ‘विज्ञान पुरस्कार’ र वातावरण क्षेत्रमा योगदान पुर्‍याएकोमा सप्तरीका प्राडा विनयकुमार झालाई रु एक लाख राशिकै ‘प्रविधि पुरस्कार’ प्रदान गरिएको छ ।

नास्टले अन्य पाँच जनालाई रु ७५ हजार राशिको ‘विज्ञान तथा प्रविधि युवा पुरस्कार’ प्रदान गरेको थियो । पुरस्कार पाउनेमा गुल्मीका डा भानुभक्त न्यौपाने, डडेलधुराका डा महेशकुमार जोशी, चितवनका डा अजय पौडेल, झापाका दीपेन्द्र गौतम, कास्कीकी डा इन्दिरा पराजुली रहेका छन् ।

नास्टले रु ५० हजार राशिको ‘प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार’ बाट नेपाल पोलिमर इन्स्टिच्युट काठमाडौँलाई र स्थानीय सामग्रीबाट प्रयोगात्मक एवं प्रदर्शनात्मक शिक्षण विधिको विकासमा योगदान पुर्‍याएबापत काभ्रेका माधवप्रसाद अधिकारीलाई पुरस्कृत गरेको छ ।

रु पचास हजार राशिको ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’बाट कैलालीका पत्रकार उमेशकुमार ओझालाई सम्मान गरिएको छ ।

कार्यक्रममा विश्व विज्ञान प्रतिष्ठानले काभ्रेका डा सुदीप ठकुरी र प्रविधि विकासमा काठमाडौँका डा सविन बसीलाई जनही एक हजार अमेरिकी डलरसहित सम्मान गरेको थियो ।

यस्तै जलवायु परिवर्तनको क्षेत्रमा योगदान गर्ने त्रिभुवन विश्व विद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका मिनु अधिकारी र जैविक प्रविधि केन्द्रीय विभागका मितेश श्रेष्ठलाई रु २५ हजार राशिको ‘दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार’ प्रदान गरिएको थियो ।

यस्तै रु ५० हजार राशिको ‘फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार’बाट त्रिविको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा कार्यरत सरिता पौडेल पुरस्कृत भएको छ। कार्यक्रममा नास्टका कुलपति केपी शर्मा ओेलीले प्रधानमन्त्री कार्यालयबाट पठाउनुभएको शुभकामनापत्र वाचन गरिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics