भेटेरिनरी सेवामा सहकार्य सम्बन्धी सार्क क्षेत्रस्तरीये कार्यशाला गोष्ठी सुरु

नेपाल सरकार तथा विश्व पशु स्वास्थ्य संगठनको सह/आयोजनामा भेटेरिनरी सेवामा सार्वजनिक निजी सहकार्य सम्बन्धी सार्क क्षेत्रस्तरीय दुई दिने कार्यशाला बिहिबार देखि काठमाडौंमा सुरु भएको छ। यस कार्यशालामा नेपाल लगायत अफगानिस्तान, पाकिस्तान, वंगलादेश, भारत, भुटान, श्रीलंकाका भेटेरिनरी सेवा तथा पशुपालन व्यवसायका सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरु, विश्व पशु स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन, सिराड, विल तथा मेलिण्डा गेट्स फाउण्डेसन तथा रोयल भेटेरिनरी कलेजका विज्ञहरुको सहभागिता रहेको छ ।

काठमाडौंको होटल याक एण्ड यतीमा संचालित कार्यशालाको उद्ंघाटन शत्र पशु सेवा विभागका महानिर्देशक एवम विश्व पशु स्वास्थ्य संगठनका लागि नेपालका आधिकारिक प्रतिनिधि डा. बंशी शर्माको अध्यक्षतामा संचालन भएको थियो ।

विश्व पशु स्वास्थ्य संगठनका एशिया तथा प्रशान्त क्षेत्रका प्रतिनिधि डा. हिरोफुमी कुगिताले विश्व पशु स्वास्थ्य संगठनले विश्वस्तरमा गरेको अध्ययनका आधारमा सदस्य राष्ट्रहरुको सहमतिमा सन् २०१८ मा भेटेरिनरी सेवामा सार्वजनिक निजी सहकार्यको अवधारणा विकास गरेको र यस अवधारणालाई सदस्य मुलुकहरुले अवलम्वन गरेमा भेटेरिनरी क्षेत्रले अधिकतम उपलब्धी प्राप्त गर्न सकिने बताए ।

कार्यशालामा विल तथा मेलिण्डा गेट्स फाउण्डेसनका प्रतिनिधि स्यानन म्यासेनहोस्कीले यस अवधारणाको अवलम्वन गर्न सहयोग तथा सहकार्य गर्न फाउण्डेसन तयार रहेको जानकारी दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव प्रकाश माथेमाले विश्वस्तरमा सफल उदाहरणको रुपमा विकास भएको सार्वजनिक निजी सहकार्यको प्रयोग हुन सकेमा सरकारी तथा निजी क्षेत्रको सामुहिक प्रयास हुने र यसबाट समग्रमा भेटेरिनरी सेवाको पहुँच विस्तार सहित पशु स्वास्थ्य सेवा सुधार तथा जनस्वास्थ्य संरक्षणमा टेवा पुग्न सक्ने उल्लेख गरे।

दुई दिन संचालन हुने यस कार्यशालामा भेटेरिनरी सेवामा सार्वजनिक निजी सहकार्यको अवधारणा सम्बन्धमा विस्तारमा छलफल भई सार्क क्षेत्रका मुलुकहरुमा यस अवधारणा कार्यान्वयनका लागि आवश्यक कार्ययोजना सहितको मार्ग्चित्र निर्धारण गरिने छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics