पुष्पमेलामा ३७ लाखको कारोबार

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ३७ लाख रुपियाँ बराबरको फूलको कारोबार भएको छ ।

शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शुरु भएको १३ औ पुष्प मेलामा पहिलो छ हजार पाँच सयजनाले अवलोकन गरेका थिए भने १२ लाखको कारोवार भएको थियो भने शनिवार १५ हजारजनाले अवलोकन गरेका छन् जसमा २५ लाखको कारोबार भएको फ्यानका महासचिव विश्वमणी पोखरेलले जानकारी दिए ।

कार्तिक ४ गते गतेसम्म चल्ने पुष्पमेलामा आयोजकले ५० लाख रुपियाँको कारोवार गर्ने लक्ष्य लिएको छ । सोमबारसम्म लक्ष्य भन्दा बढीको कारोवार हुने अनुमान गरिएका उनले उल्लेख गरे । प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् ।

यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करिब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको महासचिव पोखरेलले बताए ।

मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको थियो । सम्झना नर्सरीले विभिन्न विधामा ४ वटा पुरस्कार प्राप्त गरेको छ । गोदावरीको प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टिपीआर मितेरी नर्सरी दोस्रो र टिटिआर वंगलामुखी नर्सरीले तेस्रो भएका थिए । त्यस्तै मिनियचरतर्फ अजिमा नर्सरी र कट्फलावरतर्फ सिर्जना कट फ्लावर नर्सरी पुरस्कृत भएका थिए ।

नेपालमा २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले आ.ब. २०७५-७६ सम्म आईपुग्दा सतसय भन्दा बढी पुष्प व्यवसायीहरुद्वारा यस व्यावसायीमा संलग्न रहेका छन् । यो व्यावसाय ४३ जिल्लामा विस्तार भएको छ । १५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको जानकारी गराउँदै उहाँले यस व्यावसायमा ४३ हजार पाँचसय भन्दा बढी जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् ।

पुष्प मेलाको उद्घाटन कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले गरेका थिए । मेलाको अवलोकनका लागि सर्वसाधरणदेखि लिएर विद्यार्थी, अनुन्धानकर्ता, किसान, उद्योगी, कुटनीति नियोगका प्रतिनिधिहरु, विभिन्न दलका नेता लगायतका व्यक्तित्वहरुले अवलाकोन गरेका महासचिव पोखरेलले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics