चुरे क्षेत्रमा काठ तस्करी
- होम योगी
![](https://naturekhabar.com/wp-content/uploads/2020/02/chure.jpg)
चुरे क्षेत्रमा पछिल्लो समयमा काठ चोरी निकासी गरिरहेको पाहिएको छ । चुरे क्षेत्रमा विभिन्न नाकाबाट तस्करले काठ चोरी निकासी गरिरहेका पाहिएको हो । चोरी निकासीकै कारण कञ्चनपुरमा जंगल मासिने क्रम दिन दुगुना रात चौगुनाका दरले बढिरहेको स्थानीयको भनाइ छ । जिल्लाको भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका चुरे क्षेत्रसँग जोडिएको छ । यी स्थानीय तहमा रहेका सामुदायिक वन तथा चुरे क्षेत्रमा पछिल्लो समय तस्करले काठ चोरी निकासी गर्ने गरेको पाइन्छ ।
चुरे क्षेत्रमा सालको वन फडानी गरि चिरान काठ चोरी निकासी हुने गरेको छ । ‘तस्करले रातको समयमा काठ लैजान्छन,’ भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका स्थानीय रमेश धानुकले भने, ‘काठ तस्करहरुले चुरे क्षेत्र तथा सामुदायिक वन क्षेत्रबाट चोरी गरेको काठ स्थानीय उपभोक्ता तथा भारतीय सीमावर्ती बजार पु¥याउने गरेका छन ।’ स्थानीयका अनुसार तस्करले रातिको समयमा चुरे क्षेत्रबाट काठ चोरी तथा निकासी गर्ने गरेका छन् । तस्करले चुरे क्षेत्रको अधिकांश सामुदायिक वन क्षेत्रबाट काठ ओसारपसार गरे पनि वन कार्यालय र स्थानीय उपभोक्ताले नियन्त्रणमा लिन ।
चुरे वन सुरक्षाका लागि वनका कर्मचारी तथा सामुदायिक वनका कर्मचारीले चुरे क्षेत्रमा अनुगमन तथा निरीक्षण गरेपनि तस्करलाई नियन्त्रणमा लिन नसेको स्थानीयको भनाई छ । काठ चोरी निकासीसँगै गुजाराका लागि दाउरा बिक्रीमा रूख कटान भएको चुरेवासीले बताउँछन् । यही कारण चुरे क्षेत्र उजाडिन थालेको छ । दाउरेले एकदिन जंगलमा गएर दाउरा ल्याउने र भोलिपल्ट बिक्री गर्न बजार लैजाने गरेका छन ।
यसमा अधिकांश सुकुम्बासी परिवार अश्रित हुनु र दाउराको बढी खपतले पनि वन क्षेत्र उजाडिएको एक थरीको भनाइ छ । दाउरेले सुकेको ढलापडाबाहेक राष्ट्रिय वनबाट हरियो रूख कटान गरी बिक्री गर्न थालेपछि अरू समस्या थपिएको छ । काठ तस्करले भीमदत्तको उत्तरी भेगको चुरे जंगल र सामुदायिक जंगलभित्रका सालका रुख सखाप पारेका छन् । तस्करले भीमदत्त नगरपालिका–९ ब्रम्हदेबको सिद्धनाथ सामुदायिक वन र चुरे क्षेत्रमा सालका रुख काट्न थालेका छन । यहाँ जंगलभित्र साल रुख काटिएका ठुटा जताततै देखिन्छ ।
स्थानीयवासिन्दा र उपभोक्ताले वन उपभोक्ता समिति र वन कर्मचारीकै मिलोमतोमा फडानी भएको आरोप लगाउँछन् । सिद्धनाथ सामुदायिक वनका अध्यक्ष हर्कबहादुर चन्दले आफ्नो नेतृत्वमा १८ माघमा मात्रै समिति चयन भएको बताउँदै अनुगमनका क्रममा चुरे क्षेत्रमा सालका रुख काटेको पाइएको बताउँछन् । ‘हामी केही दिनअघि मात्रै निर्वा्चित भएका हौं’ उनले भने ‘निर्वा्चित भएको दोस्रो दिनदेखि अनुगमन गरिरहेका छौं, रुख कटानी तथा तस्करी गर्ने व्यक्तिहरुको खोजी गरिरहेका छौं ।’
सिद्धनाथ सामुदायिक वनका निर्वतमान अध्यक्ष मोतिसिंह महताले चुरे क्षेत्रबाट तस्करीले काठ चोरी निकासी गर्ने गरेको बताए । ‘तस्करहरुले चुरे क्षेत्रबाट खल्ला गाउँ हुँदै भारत काठ तस्करी तथा निकासी गर्ने गरेको पाइन्छ,’ उनले भने, ‘सामुदायिक वन तथा चुरेमा सालका रुख काटिनु दुःखद हो,यसको सत्यतथ्य छानविन गरिनु पर्छ ।’ स्थानीय एव उपभोक्ताहरुले भने समितिका पदाधिकारी, वन कर्मचारी र तस्करको मिलोमतोमा सालका रुख काटिएको बताउँछन् ।
वनका पदाधिकारी तथा कर्मचारीको वेवास्ताका कारण चुरे वन तथा सामुदायिक वन फडानी भएको स्थानीय उपभोक्ता जयदेव जोशीले बताए । ‘वनभित्र चरम कटानी भएको छ’ उनले भने ‘रुख काटिंदा र तस्करी हुँदा समेत न कुनै पक्राउ परे, न तस्करी रोकियो ।’ स्थानीय लोचन कार्कीले चुरे र सामुदायिक वन विनास हुँदा समेत सम्बन्धित निकाय बेखबर बनेको गुनासो गरे । ‘यस क्षेत्रमा पटक/पटक काठ कटानी हुन्छ, तस्करी भइरहेको छ,’ उनले भने,‘तैपनि जिम्मेबार निकायबाट रोक्न प्रयास नहुँनुले उनीहरुको समेत मिलोमतो रहेको बुझाई हामी स्थानीयको छ ।’
चुरे क्षेत्रमा हुने काठ तस्करी रोक्नका लागि समय-समयमा अनुगमन तथा निरीक्षण गर्ने गरेको ब्रम्हदेब सव डिभिजन वन कार्यालयका प्रमुख तथा सहायक वन अधिकृत जीवन भण्डारीले बताए । ‘चुरे क्षेत्रमा भएको काठ तस्करीको विषयमा हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने,‘काठ तस्करीमा वन कर्मचारीको कुनै मिलेमतो छैन ।’
प्रतिक्रिया दिनुहोस