कोभिड महामारीका बिच भ्यागुताको अध्ययन

जून १२ पूर्वि नेपाल हुदैं नेपाल प्रवेश गरेको मनसुन अहिले देशव्यापि बनेको छ । बहुसंख्यक नेपालीहरु अहिले पनि कृषिमा निर्भर भएतापनि देशको धेरै भागमा नहरमा आधारित सिचाई प्रणाली नभएकाले मनसुनी वर्षाले नेपाली कृषकका लागि व्यग्लै महत्व राख्दछ । अझ कोभिड महामारीका कारण वैदेशिक रोजगारी, पर्यटन जस्ता क्षेत्रमा व्यापक असर गर्ने प्रक्ष्यपणका विचमा कृषि र मनसुनको महत्व यस समय अझ बढ्ने देखिन्छ । सायद कृषि जस्तै मनसुन संगै जोडिएर आउने अर्को विषय उभयचर त्यसमा पनि भ्यागुताहरु हुन् । भ्यागुताको आफ्नै महत्व भएतापनि नेपालमा भ्यागुताहरुले उचित महत्व पाउन सकेको देखिदैन् जसका कारण धेरै भ्यागुताको अस्तित्व संकटमा पर्दै गएको छ । नेपाली भ्यागुताको अध्ययन र संरक्षणमा ठोस कार्य गर्नु पर्ने देखिन्छ ।

कति छन् भ्यागुताका प्रजाति ?
विश्वभरका उभयचरहरुको अध्यावधिक तथ्यांक राख्ने एम्फिविया वेभका अनुसार विश्वभर (जून १८, २०२० सम्म) ८१७६ प्रजातिका उभयचरहरुको अभिलेख गरिएको छ जसमध्ये बहुसंख्यक भ्यागुता (७२१२ प्रजाति)हरु रहेका छन् । उक्त साइटले सन् २००३ पछि उभयचरहरुको प्रत्येक वर्ष करिब १०० प्रजाति थपिने गरेको देखाउँछ । उक्त वेभसाइटले नेपालमा ५७ प्रजातिको उभयचर को अभिलेख देखाउछ जसमा ५४ प्रजातिका भ्यागुता रहेका छन् । पुराना अध्ययनका साथै वातावरण अध्ययन तथा संरक्षण केन्द्रको नेतृत्वमा गरको अध्ययनले काठमाडौं उपत्यकामा मात्रै १२ प्रजातिको भ्यागुताहरुको अभिलेख भइसकेको परिपेक्षमा देशभर ५४ प्रजातिका मात्रै भ्यागुता अभिलेख हुनुले विस्तृत रुपमा अध्ययन गर्ने हो भने नेपालका प्रजातिको संख्यामा वृद्घि हुन सक्दछ भन्ने तर्फ नै इगिंत गर्दछ ।

भ्यागुता संरक्षण किन गर्ने

भ्यागुताले परिस्थितिक प्रणालीमा महत्वपुर्ण भुमिका निर्वाह गर्दछ । खाद्य चक्रको मध्य भागमा रहने भ्यागुताहरुले परिस्थितिक प्रणालीमा सन्तुलन कायम गर्ने अहम भुमिका निर्वाह गर्दछन् । उनिहरुले खाद्य उत्पादन बढाउन र मानिसहरुलाई रोगको जोखिम कम गर्न मद्दत गर्दछन् । भ्यागुताले बालि नालिमा लाग्ने किराहरु नियन्त्रण गर्न विशेष भुमिका निर्वाह गर्दछन् । जसको प्रत्यक्ष सम्बन्ध कृषि उत्पादन संग जोडिन्छ ।  यसका अलवा, भ्यागुताले मानिसमा विभिन्न रोगहरु सार्ने लामखुट्टे जस्ता किराहरु नियन्त्रण गर्न मद्दत गर्दछन् । भ्यागुताहरुको महत्व यतिमा नै सिमित रहदैन् । मनपाहा वा सिर्के पाहा  भनिने भ्यागुताको एक प्रजाति केहि ठाँउमा खाने गरेको पाइन्छ भने खालाहरुमा भेटिने पाहाका प्रजातिहरु र नजिकका अन्य नेपालका पहाडि क्षेत्रमा विशेषत जनजातिहरुका लागि प्रोटिनको राम्रो स्रोत हो ।

यसका अलवा, नैतिक पक्ष वहसको विषय भएतापनि, विज्ञानका विशेषत प्लस २ का विद्यार्थीहरु र माथिल्लो तहमा जिव विज्ञानको अध्ययन गर्ने विद्यार्थीले अध्ययनका लागि भ्यागुताहरुको प्रयोग गर्दछन् । भ्यागुताहरु वातावरणमा आउने परिवर्तनका कारण धेरै प्रभावित हुने भएकाले वातावरणीय सुचकका रुपमा कार्य गर्न सक्दछन् । नेपाल जस्तो देश जहाँ जलवायु संग सम्वन्धित धेरै तथ्यांक छैनन्, यस्तो अवस्थामा भ्यागुताहरु जलवायु परिवर्तनका लागि सुचकका रुपमा कार्य गर्न सक्दछन् । यसरी मानविय जिवनका विविध आयममा महत्वपूर्ण भुमिका निवार्ह गर्ने भएतापनि भ्यागुताहरुको अस्तित्वमा खतरा उत्पन्न भएको छ । विश्वभरि ढाड भएका जिवजन्तुहरु मध्ये उभयचरहरु (जसमा अधिकतम भ्यागुताहरुका) सवैभन्दा बढि संकटमा रहेको छन् । सन् २००४ मा गरिएको अध्ययनले विश्वभरका करिव एक तिहाई उभयचरहरु संकटमा रहेको देखाएको थियो । सन् २०१९ मा प्रकाशित अर्को अनुसन्धानमुलक लेखले यथेष्ट तथ्यांक नभएका उभयचरहरुको अवस्थालाई समेट्ने हो भने विश्वभर भएका मध्ये करिब आधा भ्यागुताका प्रजातिहरु संकटमा रहने अनुमान गरेको छ ।

किन संकटमा पर्दैछन् भ्यागुताहरु ?
मानविय क्रियाकलाप नै भ्यागुताको अस्तित्व संकटमा पार्ने मुख्य कारक तत्व हो । वासस्थानको विनाश, पानीका स्रोतहरुको प्रदुषण, बालिनालिमा हालिने रसायनिक मल तथा किटनाशक औषधि र विद्यालय तथा क्याम्पसहरुमा चिरफारका लागि गरिने भ्यागुताहरुको संकलन, बढ्दो सहरिकरणका साथै जलवायु परिवर्तन आदि भ्यागुतालाई संकटापन्न अवस्थामा पुर्याउने कारक तत्वहरु हुन् । केहि ठाँउमा भ्यागुता घरमा आयो भने सर्प आउन सक्छ भनेर पनि उनिहरुलाई मार्ने गरेको पाइन्छ । यसका साथै सामाजिक अन्धविश्वासका कारण पनि धेरै प्रजातिहरुको अस्तित्व संकटमा परेको छ । यहि मे १५ गतेका दिन बुटवल नजिकैको एक जना साथिले फेसवुक म्यासेन्जरमा रुखमा चढ्न सक्ने प्रजातिको भ्यागुतोको फोटो पठाउनु भयो । केहि समय पछि त्यो भ्यागुतो मारिएको खबर आयो । स्थानीय स्तरमा विषखपटा भनिदों रहेछ । त्यो भ्यागुतामा विष हुने कुरा अहिलेसम्म प्रमाणित नभएपनि सामाजिक अन्धविश्वासका कारण उक्त भ्यागुतो मारियो । वर्षेनि विभिन्न वाहानामा नेपालमा थुपै्र भ्यागुताहरुले ज्यान गुमाउछन् । तर नेपालमा भ्यागुता संरक्षणका लागि ठोस कार्य हुन सकेको छैन् ।

नेपालमा भ्यागुताको अध्ययन

नेपालमा विभिन्न कालखण्डमा भ्यागुताहरुको अध्ययनहरु भएका छन् । मुलतः विदेशि अनुसन्धानकर्मीहरुले विभिन्न कालखण्डमा भ्यागुताको अध्ययन गरेको केहि सिमित ठाँउमा सिमित छन् । नेपाली अनुसन्धानकर्मी मध्ये प्राध्यापक कालुराम खुम्बु (के आर खुम्बु) र करण बहादुर साहको योगदान विशिष्ठ छ । पछिल्लो समय उभयचर र सरिसृपको अध्ययन तथा संरक्षणमा केन्द्रित भएर कम्प्यानियनस् फर एम्फिवियन एण्ड रेप्टाइल्स अफ नेपाल करिव एक दशक भन्दा बढि समय कार्य गरिरहेको छ । साथै विभिन्न अनुसन्धानकार्मीहरुले व्यक्तिगत रुपमा भ्यागुताहरुको अध्ययन गरिरहेका छन् । तर पनि देशभरको भ्यागुताको समष्टिगत अवस्थाका बारेमा अनुसन्धान हुन पाएको छैन् । जसले गर्दा हामीसंग भ्यागुताका बारेमा पर्याप्त जानकरीको अभावमा छ । साथै उनिहरुका संरक्षणमा लागि कार्य गर्न सकिएको छैन् ।

आगामी बाटो

यसैविच वातावरण अध्ययन तथा संरक्षण केन्द्रले विभिन्न संस्था तथा निकायहरुको सहयोगमा देशभरिका भ्यागुताहरुर उनिहरुको वासस्थानका बारेमा अध्ययन गर्ने साथै उनिहरुको संरक्षणका लागि जनचेतना अभिवृद्घि गर्ने उदेश्यले क्रोकिङ्ग मनसुन २०२० सुरु गरेको छ । यो अभियान मुलत : नागरिक वैज्ञानिक अवधारणामा आधारित छ र सवैले आ आफ्नो ठाँउबाट यो अभियानमा सहभागि हुन सक्ने छन् ।

कोरोना महामारीका विचमा भ्यागुता अध्ययन किन ?
कोरोना महामारीका कारण सहर बजारमा अध्ययन गर्ने विद्यार्थी धेरै जसो गाँउघरमा पुगेका छन् । यसका साथै अध्ययन अध्यापनका कार्यहरु ठप्प भएको छ । कुनै पनि परिस्थितिमा सिक्ने र सिकाउने क्रमलाई नियमित राखिनु पर्छ । क्रोकिङ्ग मनसुन २०२० अभियान पनि कोरोनाका कहरका विचमा घर गएका विद्यार्थीलाई उनिहरुको वरपरको वातावरणका वारेमा विशेषत उनिहरुको वरपर पाउने भ्यागुताका प्रजातिका बारेमा जानकार गराउने अभियान हो । यो अभियानले शिकाई प्रकृयालाई जिवन्त राख्न टेवा पुर्याउँछ । साथै भ्यागुता संरक्षणको सन्देश गाँउसम्म पुर्याउन मद्दत गर्नेछ । भ्यागुताहरु हाम्रै नजिकमा नै भेटिने भएकाले कोभिडका कारण अपनाउन पर्ने सवै सतर्कता अपनाएर भ्यागुताको अध्ययन गर्न र अभियानमा सहयोग पुर्याउन सकिन्छ ।

अन्तमा
भ्यागुताका प्रजातिहरुले नेपालको सामाजिक आर्थिक र वातावरणिय क्षेत्रमा विभिन्न योगदान दिएपनि उनिहरु संरक्षण्को मुलधारमा अटाउन सकेका छैनन् । नेपालमा भ्यागुताहरुको बारेमा यथेष्ट जानकारीको अभाव पनि संरक्षणमा पहल हुन नसक्नुको एउटा कारण हो । सबैले आ आफ्नो ठाँउबाट स सानो योगदान गर्ने हो भने प्रत्यक्ष रुपमा भ्यागुताको र परोक्ष रुपमा मानव सभ्यताको रक्षा गर्न सकिन्छ । आउनुहोस् यो मनसुनमा भ्यागुता अध्ययन र संरक्षणमा योगदान गरौं ।

अर्याल अनुसन्धानकर्मी  हुन  हाल उनी वातावरण संरक्षण तथा अध्ययन केन्द्रमा आवद्ध छन्

चन्द्रमणि अर्याल

प्रतिक्रिया दिनुहोस

web
analytics