उत्तराखण्ड हिमपहिरोमा ५० जनाको शव भेटियो



भारतको उत्तराखण्डमा आएको हिमपहिरोमो ५० जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचान भएको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । शव बाहेक घटनास्थलबाट अरु २३ वटा मानव अंग पनि भेटिएको छ । चमोली जिल्लाका विभिन्न ठाउँबाट ती अंगहरू भेटिएका हुन् ।

हिमपहिरोका कारण झण्डै १५० जना अझै पनि हराइरहेको जनाइएको छ । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर हुन् । उत्तराखण्डमा गत आइतबार विद्युतगृह भएको ठाउँमा हिमपहिरो गएको थियो ।

मृतक तथा बेपत्ता भएका व्यक्तिहरू भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, विहार, झारखण्डका रहेका छन् । त्यसैगरी केही व्यक्ति नेपाली पनि भएको अधिकारीहरूले जनाएका छन् । गत सोमबार चमोली प्रहरीले बेपत्ता भएकाहरुको सूची सार्वजनिक गरेको थियो, जसमा ११ जना नेपालीहरुको नाम छ । उनीहरुको नेपालको ठेगाना भने खुलेको छैन ।

हिमपहिरोका कारण तीव्र बेगको पानी र हिउँले पुल, सडक र दुई वटा विद्युतगृहमा ठूलो क्षति पुगेको छ । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण सुरुङभित्रै थुनिएका व्यक्तिहरूको खोजी तथा उद्धार प्रयास अझै पनि जारी छ । राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा खटिएका छन् ।भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल विष्फोट भएर हिमपहिरोमा परिणत भएको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिरो बढी नै जान थालेको विज्ञले औंल्याएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics