‘आफ्नै बारीको रुख काट्दा यसरी थुनिएँ’

आफ्नै बारीको रुख काट्दा अनावश्यक झमेलामा जेल सजाय भोगेका काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाका दुई व्यक्तिहरुको अनुभव :

काठमाडौं रामपुरका गोकुल गिरी

Gokul Giri
गोकुल गिरी


काठमाडौं जिल्लाको रामपुरमा १०/१२ रोपनी जग्गामा फैलिएको आफ्नो नीजि वनको रुख काट्दा मैले धेरै समस्या भोग्नुपर्यो । आफ्नो जग्गाको उपयोग गर्न त्यहाँ भएका रुख काट्ने योजना बनाएको थिएँ । मेरो आफ्नै इट्टा भट्टा समेत रहेको हुँदा मेरो आफ्नो जग्गाको २ ओटा लप्सिको रुख काटेर इट्टा भट्टामा लैजादै गर्दा मेरो गाडी प्रहरीले समात्यो । म बुझ्न जाँदा प्रहरीले आज होइन भोली आउनुस् भन्यो । म भोलिपल्ट जाँदा मेरो काठ जिल्ला वन कार्यालय हात्तीसारमा पुर्याइएको रहेछ । साथै मेरो गाडीको दुईजना ड्राइभरहरुलाई थुनामा राखिएको रहेछ ।

खासगरी मलाई यो वनको झन्झटिलो कानुन थाहा थिएन । मैले जसरी आफ्नो जग्गाको धान, मकै, गहुँबाली उपयोग गर्थे त्यसरी नै आफ्नो जग्गाको काठपात उपयोग गर्न पाइने होला भन्ने सोच्थेँ । विशेषतः सामान्य क्षतिपुर्ति तिर्ने भएपछि मेरो गाडीका चालकलाई छोड्नका लागि मैले पटक पटक प्रहरीसँग अनुरोध गरेँ । तर पनि मेरो कुरा उहाँहरुले सजिलै मान्न तयार हुनु भएन । आफ्नो बारीको रुख काट्दा गल्ति हुने भए गल्ति मेरो थियो ती चालकलाई छोडिदिन पटक पटक आग्रह गरेपनि दुई हप्तापछिमात्र छोडिदिए ।

काभ्रेपलान्चोकका रणबहादुर तामाङ

Ranabahadur Tamang
रणबहादुर तामाङ


आफ्नो बारीमा बाटो खन्दा डोजरले ढलाएको रुख काटी आफ्नो प्रयोजनका लागि रुख काटेको थिएँ । ०७३ कार्तिक महिनामा टहरा निर्माणको लागि आफ्नै बारीको उत्तिसका २ ओटा रुख काटी लैजादा प्रहरीले समात्यो । भुकम्पले घर भत्काएपछि टहरा निर्माण रुख काटेको थिएँ । प्रहरीले जिल्ला वन कार्यालयमा खबर गरेपछि नीजि वनको रुख काटिएको भनेर स्थानीय जिल्लाका नीजि वन संघ र पत्रकारको रोहवरमा मलाई छोडियो । भुकम्प पिडितको लागि केहि सहुलियत रुपमा काठ उपयोग गर्न पाइने भनिएको भएतापनि व्यवहारमा भने देखाइएन ।

मेरो आफ्नो फर्निचर भएकाकारण आफ्नो बारीको काठ उपभोग गर्न लाग्दा फागुन २३ गते सोमबार फेरी मलाई प्रहरीले समात्यो र सोमबार दिनभरी थुनामा राख्यो । आफ्नै बारीमा बाटो खन्दा डोजरले ढालेको ६ फिटका २ ओटा काठ फर्निचरमा लैजादै गर्दा मलाई प्रहरीले समातेको हो । प्रहरीको र जिल्ला वन कार्यालयको लापरवाहीले गर्दा मैले धेरै दुःख पाएँ । आफ्नै बारीको रुख काटी प्रयोगमा ल्याउन खोज्दा यस्ता समस्या भोग्नु परेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics