नेपाल वातावरण पत्रकार समूह र काठमाडौं विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच आज विश्वविद्यालयमा आयोजित समारोहमा सहकार्यसम्बन्धी सात बुंदे समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको उपस्थितिमा उक्त हस्ताक्षर भएको हो । समझदारी पत्रमा समूहका तर्फबाट अध्यक्ष कसमस बिश्वकर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. सुबोध शर्माले हस्ताक्षर  गरेका हुन ।

विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुले गर्दै आएका अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चार माध्यममार्फत् आम नागरिक र नीति निर्मातासम्म पुर्याउने मुख्य लक्ष्यका साथ यो समझदारी भएको हो ।

समझदारी पत्रअनुसार ती अनुसन्धान तथा अध्ययनका निचोड तथा सुझावलाई व्यवहारमा कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्न समूहले आफ्ना सञ्चार माध्यम (श्रव्यदृश्य, रेडियो, अनलाइन र छापा) मार्फत आफ्नो भूमिका निर्वाह गर्नेछ । र, विश्वविद्यालयले पनि आफुले गरिरहेका अध्ययन, अनुसन्धान तथा खोजहरु समूहलाई उपलब्ध गराउनेछ । ती सामग्रीहरु सार्वजनिक गर्दा लाग्ने आर्थिक स्रोत उपलब्ध भएसम्म विश्वविद्यालयले समूहलाई उपलब्ध गराउने छ । अन्य स्रोतहरुको पहिचान र परिचालनमा पनि सहकार्य गर्ने समझदारी भएको छ । यसैगरी वातावरण र दिगो विकासका मुद्दाहरुमा दुई संस्थाले संयुक्त रुपमा राष्ट्रिय बहसका कार्यक्रमहरु पनि गर्नेछन् ।

हस्ताक्षर कार्यक्रममा उपस्थित काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले समझदारी पत्रले दुई संस्थाबीचको सहकार्यको बाटो खोलेको बताउनु भयो । उहॉले समझदारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै शुभकामना दिए ।

नेपाल वातावरण पत्रकार समूह ३५ बर्ष पहिले स्थापना भएको वातावरण पत्रकारहरुको संस्था हो भने काठमाडौं विश्वविद्यालय २९ बर्ष पहिले स्थापना भएको प्राज्ञिक संस्था हो । समझदारी पत्रमा हस्ताक्षर गरेका प्रा. डा. सुबोध शर्माले भन्नुभयो, ‘आजबाट दुई संस्था एउटै परिवार भएका छौं । हामीले हामी भन्दा परिपक्व र जेठो संस्थास‘ग समझदारी गरेका छौं । केयुले नेफेजबाट धेरै आशा गरेको छ ।’

उहॉले काठमाडौ विश्वविद्यालयलाई अनुसन्धानमा अग्रणी शैक्षिक संस्थाको रुपमा चिनाउन यो समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । देशको आवश्यकताअनुसारका बिषयहरु अध्यापन गराउँदै आएको र ती बिषयका अध्ययन तथा अनुसन्धानलाई पनि स‘गै लगिरहेको उल्लेख गर्दै उहॉले भन्नुभयो, ‘हो, यिनै बिषयहरुलाई नेफेजले आफ्ना सञ्चारमाध्यमबाट बाहिर ल्याउने छ ।’ ‘हामीले लिएको शिक्षा र डिग्रीहरुले समाजलाई के दियो ?’, शर्माले प्रश्न गरे , ‘यही प्रश्नको जवाफ यो समझदारीले दिनेछ ।’

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष कसमस बिश्वकर्माले अध्ययन-अनुसन्धानलाई जनतासम्म पुर्याउने मुख्य लक्ष्यका साथ समझदारी गरिएको बताउनुभयो । अध्ययन-अनुसन्धानलाई आम नागरिकले बुझ्ने गरी जनतामाझ पुर्याउन आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । समूहले आफ्नो श्रव्यदृश्य कार्यक्रम आँखिझ्याल, रेडियो सगरमाथा, अनलाइन तथा छापामाध्यममार्फत् विश्वविद्यालयका गतिविधीलाई सार्वजनिक गर्ने उहॉले जानकारी दिए ।

कार्यक्रममा मानविकी संकायका डिन प्रा. डा. सागरराज शर्मा, डा. सुधांसु दाहाललगायत उपस्थित पदाधिकारीहरुले सहकार्यका संभावना धेरै रहेको र समझदारी कार्यान्वयनमा आफुहरु उत्सुक रहेको बताएका थिए ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics