जलवायु परिवर्तनको असर : तापक्रम सँगै चियामा फैलियो रोग



इलाम - नेपालकै सबैभन्दा बढी चिया उत्पादन हुने जिल्लामा पर्छ इलाम । जिल्लाको करिब ८ प्रतिशत भू–भागमा चिया खेती गरिन्छ । र, यहाँको चियाले देश÷विदेशका नागरिकको चियाको प्यास मेटाउँदै आएको छ । तर, पछिल्लो समय बढ्दै गएको तापक्रम र न्यून वर्षाले चिया खेतीमा असर गरेको छ, उत्पादन घट्नेमा कृषक चिन्तित छन् । यसको असर बजारमा देखिने विज्ञ बताउँछन् ।

चियाखेती का लागि न्यानो तथा ओसिलो हावापानी चाहिन्छ । प्रशस्त वर्षा र लामो समयसम्म घाम लाग्ने ठाउँ सबैभन्दा उपयुक्त मानिन्छ । यस्तै मौसम भएकाले धेरै वर्ष अघिबाट इलाममा चियाको खेती गरियो । उत्पादन पनि राम्रो भयो । तर, पछिल्लो समय मौसममा आएको परिवर्तनले चिया खेतीमा असर देखिन थालेको इलाम फिक्कलका चिया किसान बुद्धिमान तामाङ बताउँछन् । भन्छन्, ‘मौसममा आएको परिवर्तनका कारण नै होला चियामा रोग देखिएको छ । सुक्न थालेको छ । अनि, प¥याप्त पानी नहुँदा चिया फस्टाउन सकेको छैन ।

कृषि विज्ञका अनुसार चियाका लागि १२.५ देखि ३० डिग्री सेल्सियस सम्मको तापक्रम राम्रो मानिन्छ । चिस्यानयुक्त माटोको अम्लीयता ४.५–५.५ सम्म भएमा चियाखेती फस्टाउँछ । तर, अहिले यो अनुकुल्ता इलाममा कमै मिल्ने भएकाले चिया खेती पहिले जस्तो नभएको सल्लाह र सुझाव कृषि विज्ञले आफूहरूलाई दिएको किसान तामाङ बताउँछन् । केही वर्षदेखि उच्च तापक्रम र ढिलो तथा न्यून वर्षाका कारण चियाको उत्पादन धेरै घटेको आफूले पनि महसुस गरेको उनको अनुभव छ ।

इलाममा चियाको उत्पादन विगतवर्षको तुलनामा क्रमिक रूपमा खस्कँदो छ । गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईँले भन्छन्, ‘चिया उत्पादन वार्षिक उत्पादनको आधाभन्दा बढी घटेको छ । तापक्रम बढिरहेको र पानी समयमा नपरेको हुनाले चियाबालीमा चिस्यानको कमी भएको छ ।’ विगत वर्षहरुमा करिब सात सय किलो चिया उत्पादन गर्ने किसानले यसवर्ष २२ किलो पनि चियाको पात तथा मुना उत्पादन गर्न नसकेको उनको भनाई छ । ‘समयमा पानी नपर्दा रोग, किरा पनि देखिन थालेका छन् । चियाले पनि राम्ररी मुना दिएको छैन,’ उनले भने, ‘यसैलाई त होलानी जलवायु परिवर्तनको प्रभाव भन्ने ।’

यस्तो समस्या हाल जिल्लाका ८५ प्रतिशत चियाबारीमा देखिन्छ । चियालाई चाहिने आर्द्रताको कमीका साथै लगातार बढेको तापक्रमले गर्दा चियाको बोटमा कीरा तथा रोगको प्रकोप बढेको हुनाले उत्पादकत्वमा ह्रास आएको स्थानीय पनि बताउँछन् । पछिल्लो समय चियाको बिरुवामा लार्भा, रातो सुलसुले र रातो थ्रिप्स जस्ता कीरा देखिएको चिया विज्ञ सुमन प्रधानले बताए । ‘पहिले यस्ता किरा देखिँदैन थिए । अहिले अत्याधिक मात्रामा देखिएका छन् । समयमा पानी नपर्दा यो समस्या आएको हो,’ उनले भने ।

यो किरा लागेपछि तिनले सम्पूर्ण बिरुवाको पात खाने तथा ठाउँ ठाउँमा प्वाल पार्ने हुनाले चियाको बिरुवा सुकेर उत्पादन घट्ने उनी बताउँछन् । यस्तो समस्याबाट किसानमात्र होइन चिया उद्योगीहरुसमेत मारमा परेका छन् ।

इलाममा देखिएको स्थानीय प्रभावलाई जलवायु परिवर्तनका प्रमुख दुई सूचकहरु वर्षा र तापक्रमलाई लिन सकिने यसको असरलाई अध्ययन गरीरहेकी चिया विज्ञ मिना अधिकारी बताउँछिन् । भन्छिन्, ‘इलाममा क्रमश वर्षाको दर घटिरहेको छ । अनि सुख्खा समय लम्बिएको छ । त्यसकै कारण रोग किरा बढीरहेको छ ।’ उनका अनुसार यो तथ्यले एउटा संकेतमात्र दिने हुँदा चियाखेतीमा आद्र्रता परिवर्तनबारे थप अध्ययन गर्नु आवश्यक छ ।

चिया विकास बोर्डमा लामो समय काम गरेका गोपाल खड्का जलवायु परिवर्तनको असर चिया क्षेत्रमा उच्च परे पनि यसलाई समयमा नबुझ्दा समस्या अझै लम्बिँदै गएको बताउँछन् । भन्छन्, ‘पहिले जस्तो पानी पर्दैन । घाम अत्यातिक लाग्छ र गर्मि क्रमश झापाबाट उँभो सर्दै गएको महसुस भएको छ । अब पहिले जस्तो चियाले मुना हाल्न पनि छाडिक्यो । यो समस्यालाई समयमा नै बुझेर चियालाई जोगाउनुपर्छ ।’

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics