आफुलाई अनुकुल तापक्रम पाएपछि पहाड चढे लामखुट्टे

ताप्लेजुङ - फुङ्लिङ नगरपालिका –८ दोखु ताप्लेजुङका छविलाल गुरु ६० वर्षका भए । अहिले जब वर्षातको समय हुन्छ उनी झुल लगाएर सुत्छन् । झापा झर्दा लामखुट्टेले टोकेर धेरैलाई विभिन्न रोग लागेको सुनेका उनी पहाडमा पनि लामखुट्टे देखिन थालेपछि त्यहीँ डरले गर्मी मौसममा झुल छाड्दैनन् । भन्छन्, ‘यो रोग फैलाउने लामखुट्टे पनि पहाड चढ्यो । पहिले सञ्चले सुत्ने म केही वर्षदेखि झुल भित्र पस्न थालेँ ।’

उनको सम्झना अनुसार ताप्लेजुङ सदरमुकाम आसपासका गाउँमा नै लामखुट्टे देखिन थालेको २० वर्ष बढी भयो । भन्छन्, ‘करिव म ४० वर्षको हुँदो हुँ फाट्ट फुट्ट यो लामखुट्टे देखिन्थ्यो । अहिले त ह्वातै बढ्यो ।’ पहिले जंगल, घारी र फलफुल भएको ठाउँमा मात्रै केही देखिने लामखुट्टेले अहिले घर घरमा बस गरेको उनी सुनाउँछन् । ‘अहिले त प्रत्येक घरमा झुल छ । लामखुट्टेले नसताएको त अब पाथीभरा डाँडा तिर मात्रै होला,’ उनी भन्छन्, ‘लामखुट्टे रोग बोकेर हिमाल तर्फ चढिसक्यो ।’

गुरुङले भनेझै अहिले हिमाली जिल्ला ताप्लेजुङ सदरमुकाम भन्दा माथिल्लो क्षेत्र सम्म लामखुट्टे पुगेको छ । त्यहाँ पनि लामखुट्टेको टोकाइबाट सर्ने रोगहरू देखापरेको जिल्ला अस्पतालको तथ्यांकले देखाउँछ । पहिले तराइमा मात्रै देखिने रोग अहिले हिमाली जिल्ला सम्म देखिनुको कारण नै लामखुट्टेको फैलावट भएको विज्ञ बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा मलेरिया, हात्तीपाइले, कालाज्वर, चिकनगुनिया, डेंगु, स्क्रब टाइफसलगायतका कीटजन्य रोग बढी रिपोर्टिङ हुन थालेका छन् । त्यसमध्ये हरेक वर्ष वर्षायाम लागेसँगै नेपालमा डेंगु, स्क्रब टाइफस, कालाज्वर, मलेरिया जस्ता कीटजन्य रोग संक्रमण बढ्ने गरेको तथ्यांकले देखाउँछन् । ती सबै रोग पनि ताप्लेजुङ जस्ता हिमाली जिल्लाका नागरिकमा पनि देखिएको छ ।

जनस्वास्थ्यविद् डा.शरद वन्त तापक्रम बृद्धिसँगै पहाडी र हिमाली जिल्लामा पनि लामखुट्टे बाँच्ने उपयुक्त वातावरण भएकाले रोग फैलिएको बताउँछन् । भन्छन्, ‘५ हजार फिटको उचाइभन्दा माथि पहिले औलो लाग्दैन भनिन्थ्यो । किनभने, त्यो उचाइमा औलो सार्ने लामखुट्टेको अस्तित्व हुँदैन भन्ने गरिन्थ्यो । तर, अहिले आएर हिमाली जिल्लामा औलोका बिरामी छन् । जुन जलवायु परिवर्तनको प्रत्यक्ष असर हो ।’

डा. वन्तका अनुसार तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा ढाल्दै गएका छन् । यसो हुनुको मुख्य कारण जलवायु परिवर्तनको असर हो । ‘हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे, भुसुनाका कारण हुने कीटजन्य रोग फैलिएका छन्’ उनी भन्छन्, ‘मौसममा बदलावसँगै अन्य कारणले तराईको रोग पहाड अनि हिमालमा उक्लिएको हो । यो सबैको लागि चुनौतीको कुरा हो ।’

पछिल्लो समय पहाड तथा हिमालका जिल्लामा तापक्रम वृद्धि अत्यधिक छ । ३०–४० वर्षको तथ्यांकलाई हेर्दा १.५ डिग्रीभन्दा बढी बढिरहेको तापक्रमका कारणले माथिल्लो क्षेत्रमा पनि लामखुट्टे अनुकूल वातावरणमा हुर्किरहेको छ । नेपालको तापमान सन् १९६८ देखि १९९० को दाँजोमा सन् २०३० मा १.४ डिग्री सेल्सियस, सन् २०६० मा २.८ डिग्री सेल्सियस र सन् २०९० मा ४.७ डिग्री सेल्सियसका दरले वृद्धि हुने वैज्ञानिकहरूको अनुमान छ । यस्तो भए हिमाली बस्ति सम्म नै लामखुट्टेको सहजै पहुँच हुन्छ ।

पछिल्लो समय प्रत्येक जिल्लामा डेंगु, कालाज्वर, स्क्रब टाइफस रोगको जोखिम वर्षभरि नै छ । यो सबै लामखुट्टे र अन्य तापक्रममा चाँडो हुर्कने कीराले सार्ने भएर नै हो । कुनै एक समय अवधि र निश्चित भौगोलिक क्षेत्रमा मात्र देखिंदै आइरहेका यस्ता थुप्रै कीटजन्य सरुवा रोग सोही क्षेत्र वा स्थानमा मात्र हाल सीमित छैनन् । अब यस्तो हुनुलाई सामान्य मानेर समयमानै सचेत हुनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics