आँखा किन फर्फराउँछ, कारण के हो ?



कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ ।

यसका केही कारणबारे जानिराखौं :

तनावका कारण : जब हामी कुनै तनावमा हुन्छौं, हाम्रो शरीरले विभिन्न तरिकाले प्रतिक्रिया जनाउँछ। आँखा फरफराउनु पनि तनावको एउटा भाग हुन सक्छ। तनावलाई कम गर्नु नै आँखा फरफराउन रोक्ने उपाय हो।

थकान : तनाव तथा अन्य कारणबाट उत्पन्न अनिद्राले आँखाको परेलामा ऐंठन पर्छ।

आँखा दुखाई : दृष्टिसंग सम्बन्धित तनावले पनि आँखाको परेला फरफराउँछ। खासगरी, आँखालाई बढी तनाव हुने गरी काम गर्दा यस्तो हुन सक्छ।

क्याफिन र अल्कोहल : विज्ञहरुका अनुसार क्याफिनको प्रयोग (चिया, कफी) बढीमात्रा गरिएमा र अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या देखिन्छ।

सुख्खा आँखा : बुढ्यौली लाग्दै जाँदा अधिकांश मानिसले आँखा सुख्खा हुने समस्या भोग्छन्। कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने र क्याफिन तथा अल्कोहल प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुन्छ। यस्ता व्यक्तिका आँखा बढी फरफराउँछ।

पोषकतत्वको असन्तुलन : म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ। यद्यपि यो कुरा अहिलेसम्म वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन।

एलर्जी : आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा फरफराउँछ। त्यसैले आँखा फरफराउने समस्या बढी देखिन थाल्यो भने तत्काल नेत्र चिकित्सककहाँ गइहाल्नुहोस्।

कसरी रोक्ने त ?

-टन्न पानी पिउनुहोस् ।

-पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् ।

-अनि आँखाको मसाज गर्नुहोस् ।

-आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् ।

-एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics