जुम्लामा धानको बिउ राख्न सार्वजनिक बिदा



जुम्ला - जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बिउ राख्ने चटारो परेको छ ।  यहाँका किसानले मार्सीधानको बिउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज सार्वजनिक बिदासमेत  दिएको छ ।

जुम्ली किसानहरू आज आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बिउ छरी ‘विसुवा पर्व’ मनाइरहेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी सत्यदेवी पाण्डेले जानकारी दिए ।

कालीमार्सी धानको बिउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको यहाँका स्थानीयवासी बताउँछन् । जिल्लामा करिब दुई हजार आठ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

ऊर्जा विकास तथा सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले जिल्लाभर विपत्ले खेतीयोग्य जमिन र कुलो बगाएका छन् । कार्यालयमा आएका निवेदनअनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा ऊर्जा विकास मन्त्रालयमा ३४ वटा कुलाको योजना निर्माणका लागि पठाएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालका अनुसार पालिकाभित्र  जाँच कुलो, घोडेङ्गा, चुलेलगाउँ, धिताललिहीसहित विभिन्न स्थानमा ठूलो मात्रामा मार्सीधान सिँचाइ हुने कुलो विपत्ले क्षतविक्षत बनाएपछि मर्मत गर्न समस्या भइरहेको बताए ।

गत असोजमा आएको बाढी र पहिराले गएको कुलो निर्माण हुन नसक्दा यस पटक धेरैजसो किसानलाई बिउ राख्न कठिन भएको छ स्थानीय तहका कृषि शाखाले जनाएका छन् । रासस

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics