वातावरण जोगाउन लाटोकोसेरो संरक्षण
- नेचर खबर

चराहरुको संरक्षणका लागी सरकारसँग विशेष पहलको माग गर्दै लाटोकोसेरो महोत्सव सम्पन्न भएको छ । कपिलवस्तुको जगदिशपुरमा गत शनिबार सम्पन्न महोत्सवमा देशभरिका चरा विज्ञले लाटोकोसेरो लगायतका चराहरुको संरक्षणमा सरकारको ध्यान जानुपर्ने बताए । दुर्लभ चराको संरक्षण गर्न सकेमात्र प्रकृतिको संरक्षण हुने र वातावरणीय संकटबाट बच्न सकिने विज्ञहरुले बताए ।
अन्य वन्यजन्तुजस्तै लाटोकोसेरोको पनि अवैध चोरी शिकारी र व्यापार हुनथालेपछि यसको अस्तित्वको संकट पर्दै गएको छ । ‘संकटमा परेको दुर्लभ चरा लाटोकोसेरो बारे जानकारी दिन र यसको संरक्षण गर्न यो महोत्सवको आयोजना भएको हो ।’ प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले भने । विगत ६ वर्षदेखि नेपालमा दुर्लभ चरा लाटोकोसेरो संरक्षणका लागी उत्सव आयोजना हुँदै आइरहेको छ । दुर्लभ चराको संरक्षण गर्न यस किसिमको उत्सव नेपालबाहेक अमेरिका र इटालीमा पनि मनाउने गरिन्छ ।
एउटा लाटोकोसेराले तीन महिनामा किसानका खेतका तीन हजार मुसा खाएर नष्ट गर्न सक्छन् आचार्यले भने, ‘यसैकारण लाटोकोसेरोलाईे कृषकको साथीका रुपमा लिइन्छ ।’ नेपालमा उच्च जोखिममा परेका बाघ, गैँडाझैँ लाटोकोसेरा पनि रहेकाले यसको संरषणमा सरकारी निकायको ध्यान जानुपर्ने विज्ञहरु बताउँछन् ।
एउटा लाटोकोसेराले तीन महिनामा किसानका खेतका तीन हजार मुसा खाएर नष्ट गर्न सक्छन् ।
मुसा बाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्ने गर्दछन् । पर्यावरणलाई सन्तुिलत राख्न लाटोकोसेरोको मुख्य भूमिका रहन्छ । यसको उपस्थितिबाट नै प्रकृति स्वस्थ छ भन्ने संकेत मिल्छ । लाटोकोसेरो सहित सम्पूर्ण चरामा आधारित पर्यापर्यटन विकास मार्फत मानविय जिविकोपार्जनमा समेत सहयोग पुग्दछ । यिनीहरुको आवाजले साँझ परेको तथा बिहान भएको संकेत समेत गर्दछ ।
पछिल्लो समय औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा यिनको अवैध कारोबार हुने गरेको छ । प्रकृतिका साथीहरु नामक संस्थाले ३० वटा जिल्लामा गरेको प्रारम्भिक अध्ययनमा नेपालबाट वार्षिक कम्तीमा २ हजार वटासम्म लाटोकोसेरो तथा हुचील मारिने तथा विभिन्न मुलुकमा अवैध रुपमा पठाईने गरेको तथ्यांक भेटिएको छ ।
मानिसहरुले लाटोकोसेरोको बच्चालाई गुँडबाट निकालेर पाल्ने गरेकोले यसको वासस्थान समेत संकटमा पर्दै गएको छ । नेपालमा कानुनी रुपमा लाटोकोेसेरोलाई पाल्न, दुख दिन, बेच्न नपाईने व्यवस्था भएपनि यसबारे स्थानीय अनविज्ञ जस्तै देखिन्छन् ।
नेपालमा अवैध रुपमा लाटोकोसेरो पाल्दा वा मार्दा रु ३०० देखि १० हजारसम्म जरिवाना र दुई महिनादेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस