जैविक इन्धनको बढ्दो प्रयोग र मानव स्वास्थ्य

काठमाडौं – सडकमा सवारीको चाप छ । गाउँ–गाउँ सम्म सडक पुगेकाले धुँवा उडाउँदै ट्रक, ट्याक्टर र बससहितका सवारी चलिरहेका छन् । वन मासेर सडक बनाउने क्रम जारी रहँदा वायु प्रदूषण गराउने उद्योग कलकारखानाको विस्तार नियन्त्रित छैन । जसको सोझो असर वातावरणमा परेको छ । दुसित वातावरणका कारण रोग फैलँदैछ, हिमालका हिउँ पातलिँदैछन् । अनि, नदेखेका र नसुनेका रोग र भाइरसबाट मानव र पशु संक्रमित हुँदैछन् ।

सरकारी तथ्यांक (केन्द्रीय तथ्यांक विभाग)को एक प्रतिवेदन अनुसार पछिल्ला वर्ष नेपालमा पेट्रोलको खपत झण्डै दोब्बरले बढिरहेको छ । डिजेलको खपत पनि सतप्रतिशत बढेको छ । यसो हुनु भनेको प्रदुषण गराउनेको स्रोत पनि बढ्नु हो÷थपिनु हो । त्यसैले त नेपालको राजधानी काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको सूचीमा अग्रस्थानमा नै आउँछ । वातावरणलाई प्रदूषित गराउन जैविक इन्धन प्रयोग हुने सवारीसाधनसहित इट्टा भट्टाबाट निस्कने धुवाँ र निर्माणको धुलोले सघाएको छ । सहरका बिचमानै यस्ता भट्टा खुलेका छन्, २४ सै घण्टा चलाइएका छन् ।

विश्वको एक चर्चित तेल उत्पादक कम्पनी ब्रिटिस पेट्रोलियमको एक तथ्यांकअनुसार अहिलेको दरले जैविक इन्धन खपत हुँदै जाने हो भने हाल सम्म खोज भएको खनिज इन्धनमध्ये कोइलाले करिब ११४ वर्ष, प्राकृतिक ग्यासले करिब ५३ वर्ष र तेलले करिब ५१ वर्षको मात्र आवश्यकता धान्न सक्छ । तर, पनि यसको विकल्प खोज्दै लागु गर्ने र जैविक इन्धन खपत घटनाउँदै वातावरण र मानव स्वास्थ्यमा पर्ने नकरात्मक प्रभावलाई रोक्न नेपालसहितका मुलुकले उत्कृष्ठ कदम चालेका छैनन् । अब ढिका भइसक्यो ।

पछिल्लो समय नेपालमा प्रदूषणको ठूलो असर मानिस र पशुमा देखिन थालेको छ । जैविक इन्धनबाट निस्कने ग्यासले प्रदूषण सँगै वातावरण तताइरहेको छ । वातावरण जति तत्यो रोग किरा पनि तातोक्षेत्रबाट क्रमश पहिलेको चिसो ठाउँ सम्म पुग्दा तराइरको रोग हिमाल र पहाड सम्म पुगेका छन् । पछिल्लो उदाहरण हो – मान्छेमा लाग्ने डेंगु र पशुमा लाग्ने लम्पि स्किन रोग । यो रोग पछिल्लो समय देशभर फैलन थालेको छ । महामारीकै रूप लिइरहेको छ ।

धनी राष्ट्रको तुलनामा नेपालले वायु प्रदूषण र जलवायु परिवर्तनका कारण देखिने यस्ता रोगको प्रकोपलाई सहजै रोक्न सकेको छैन । अहिले पनि डेंगु संक्रमणका कारण करिब एक दर्जनले ज्यान गुइसके, डेंगु फैलाउने लामखुट्टे हिमाल र पहाड सम्म पुगेको छ । संक्रमित थपिँदैछन् । जहाँ जहाँ सम्म जैविक इन्धन प्रयोग हुने सवारी पुगेका छन् यसले गराउने प्रदूषण र प्रदूषण सँगै तापमान बृद्धिको असरले रोग फैलाउने किरा पनि पुगेका छन् ।

नेपाल गरिब राष्ट्रमा पर्छ । यहाँको एक तिहाइ जनताले गरिबी अनुभव गरिरहेका छन् । तापमान बृद्धि र जलवायु परिवर्तनका अन्य असर अझै बढी गरिब नागरिकमा परिरहेको छ । बच्ने उपाय र रोग नियन्त्रणको व्यवस्था गर्न नसक्दा रोग पनि उनीहरूलाई नै पहिले र छिटो लाग्ने गरेको छ । बदलिँदो वर्षाको ढाँचा, नदी प्रणाली अवरुद्ध, र अधिक तीव्र मनसुन वर्षाले कृषि र पर्यटनमा असर गरेकाले यसमानै निर्भर परिवारहरूको कम आम्दानी हुन सक्छ, जसले स्वास्थ्य सेवा किन्न सक्ने क्षमतालाई असर गर्छ । फलस्वरूप, मानिसहरूको काम गर्ने र जीविकोपार्जन गर्ने क्षमता घटाउँछ । जलवायु परिवर्तनकौ कारण भएका प्राकृतिक प्रकोपहरू (विशेष गरी पहिरो र बाढी) बाट हुने प्रत्यक्ष मृत्युदर पनि उच्च छ ।

प्राकृतिक प्रकोपकै कारण हुने बढ्दो खाद्य र पानी असुरक्षाले पानीजन्य सर्ने रोग र कुपोषणको जोखिम पनि उच्च छ । यसको बढी असर पुरुषमा भन्दा घरमा काम गर्ने महिलामा बढी देखिएको छ । पछिल्ला अध्ययनले जलवायु परिवर्तनले मानसिक स्वास्थ्य, यौन र प्रजनन स्वास्थ्यलाई पनि असर गरिरहेको तथ्य आइरहेका छन् । यो विषयमा अझै गम्भिर अनुसन्धान त आवश्यक छ नै । त्यसैले जैविक इन्धनको प्रयोगलाई मात्रै पनि घटाउन सके यसबाट हुने जलवायु परिवर्तनका असर धेरै हद सम्म घट्छन् । यो विषयले कोप २८ मा स्थान पाउनुपर्छ ।

यो त भयो जैविक इन्धन र यसले जलवायु सँगै मानव स्वास्थ्यमा पार्ने असरको एउटा विषय । नेपाल सानु मुलुक भए पनि जलवायु परिवर्तनको ठूलो समस्या भोगेको मुलुक भएकाले कोप २८ मा अन्य विषयलाई पनि प्राथमिकताका साथ उठाउनुपर्छ । समयमा बर्षा नहुने र भए पनि अत्याधिक हुने वर्षाको कारण मनसुन सुरु हुँदै धेरै धन, जनको क्षति नेपालले बेहोर्ने गरेको छ । यस्ता हानिनोक्सानीमा वित्तिय सहयोग नेपालले पाउने गरेको छैन । पर्यटकीय क्षेत्र र हिमालमा गम्भिर समस्या देखिएका छन् । यी विषय नेपालले कोप २८ मा उठाउने प्राथमिकताका विषय हुन् ।

जलवायु परिवर्तनका दुईवटा आयाममध्ये नेपालका लागि कार्बन उत्सर्जन न्यूनीकरणको तुलनामा जलवायु अनुकूलन नै प्राथमिकताको क्षेत्र हुनुपर्छ । कार्बन उत्सर्जन न्यूनीकरण गर्न हेल्चेक्र्याइँ गरियो भने भविष्यमा अनुकूलन हुन लाग्ने खर्चको मूल्य चर्को पर्छ । नेपाल पहाडी क्षेत्रफल बढी भएको, जनसंख्याको प्रमुख अंश कृषिमा आधारित रहेको, उद्योगधन्दाले खासै गति नलिएको, वस्तुको उत्पादनमा भन्दा उपभोगमा बढी रुचि भएको मुलुक हो । जसका कारण हरेक वर्ष आयात बढ्दै जाँदा व्यापार घाटा बढ्दो अवस्थामा रहेको छ । अर्काको देशमा रोजगारी खोज्नु पर्ने अवस्था छ । यस्तो हुनुमा कही न कही जलवायु परिवर्तनको असर जोडिएकै छ । यी विषय कोप २८ को विषय बन्नु पर्छ ।

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics