अनियमित वर्षाले झापामा कम रोपाइँमा, उत्पादन घट्न सक्ने

झापा - अनियमित वर्षाका कारण झापामा धान रोपाइँमा असर परेकोे छ । जिल्लामा अपर्याप्त र अनियमित वर्षा हुँदा रोपाइँमा समस्या भएको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब सात प्रतिशत रोपाइँ कम भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख तेजराज भण्डारीले जानकारी दिए ।

केही दिन अघिको तथ्याङ्कअनुसार जिल्लामा ७२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । पर्याप्त वर्षा नहुँदा रोपाइँका लागि तयारी अवस्थामा राखेको खेतमा पनि रोपाइँ हुन नसकेको उनको भनाइ थियो । “गत वर्षको तुलनामा छ–सात प्रतिशत रोपाइँ कम छ”, उनले भने, “बिजुली आउँदै जाँदै गर्नाले समेत सिँचाइ मोटरबाट किसानले पर्याप्त लाभ लिन सकेका छैनन् ।”

जिल्लमा गत वर्ष ८७ हजार हेक्टरमा बर्खे धान रोपाइँ भएको थियो भने यस वर्ष पनि सोही अनुपातमा रोपाइँ हुने अनुमान उक्त कार्यालयले गरेको छ । जिल्लामा अधिकांश किसानले रन्जित, रामनाथ, सर्नालगायत जातका धान लगाएका छन् भने केहीले स्थानीय जातका र बास्नादार धान रोपेका छन् ।

भद्रपुर नगरपालिका–४ का किसान महरसिंह राजवंशीले आफूले रोपाइँ सकेको बताए। भने, “रोपाइँ त सकियो अब पानी चाहिन्छ, चाहिएजस्तो पानी परेको छैन ।” रोपाइँपछि धानलाई पर्याप्त पानी चाहिने उनको भनाइ थियो । जिल्लामा अघिल्ला वर्षहरुको तुलनामा मलको अभाव भने देखिएको छैन ।

यसैबीच सरकारले धानको समर्थन मूल्य तोकिसकेको छ । सरकारले यस वर्ष बेलैमा धानको समर्थन मूल्य तोकेकामा आफूलाई खुसी लागेको कचनकवलकी किसान पुष्पा रिमालले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics