सधैँ भारतीय मलकै भरमा खेती
- नेचर खबर
टीकापुर - यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् ।
“रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौँ”, टीकापुर–८ का श्यामलाल चौधरीले भने, “सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौँ । बाध्य भएर भारतबाट ल्याएर प्रयोग गरेका छौँ ।” भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती कस्तो पो हुन्छ भन्ने चिन्तामा छन् ।
चौधरीले भने, “सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाइएन ।” सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष किसान खेती गरौँ की नगरौँ भन्ने दोधारमा थिए । बर्सेनि बाढीले क्षति पु¥याउँदा दिक्क भएका किसान मल नपाएपछि झन निरास भएका थिए ।
“जहिल्यै बाढीको त्रास हुन्छ, अघिल्ला दुई वर्ष धानबाली सबै बाढीले बगायो, मल नपाएपछि खेती गर्न मन मरेको छ ?”, स्थानीय शेरबहादुर साउँदले भने, “सात बोरा डिएपी र सात बोरा यूरिया मलको खाँचो थियो, एक बोरा पनि पाइएन । भारतबाट ल्याएर प्रयोग गरे ।”
टीकापुरमा सबैभन्दा बढी धान खेती हुने वडा ६, ७, ८ र ९ नम्बर हुन् । यी वडामा पाँच सहकारीले मल बिक्री गर्ने गरेका छन् । यसरी सञ्चालित सहकारीले आवश्यक मल नपाएको जनाएका छन् । “सहकारीले पर्याप्त मल नपाएपछि किसानलाई उपलब्ध गराउन सकेनौँ”, वडा नम्बर ६ स्थित लक्ष्मीनारायण सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतले भने “२५ प्रतिशत मात्र मल पायौँ ।”
लक्ष्मीनारायण सहकारीले यस वर्ष नौ सय ५० बोरा युरिया, तीन सय ५० बोरा डिएपी र एक सय क्विन्टल अर्गानिक मल किसानलाई उपलब्ध गराएको थियो । उक्त मल अघिल्लो वर्षको तुलनामा आधा मात्र हो । “सहकारीले नै मल नपाएपछि किसानले पाउने कुरै भएन, अघिल्लो वर्षभन्दा आधामात्र मल आयो”, कडायत भन्छन्र, “मल ल्याउने प्रयासमा छौँ ।”
मल नभएकै कारण झार बढी उम्रेको किसानको गुनासो छ । झार मारेर डिएपी हाल्न पाएको भए धानबाली सप्रिने थियो भन्दै किसान मल खोज्न भौतारिएका छन् । भजनी र जोशीपुरका किसानले पनि नेपाली मल नपाएपछि भारतबाट मल ल्याउनुपरेको गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस