पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण

अर्घाखाँची - अर्घाखाँचीको प्रसिद्ध पर्यटकीयस्थल नरपानीमा वृक्षरोपण र सरसफाइ गरिएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसका अवसरमा मनोज, झपेन्द्र स्मृति पार्कमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको सङ्गठनका जिल्ला अध्यक्ष गणेश भण्डारीले बताए ।

नरपानी चिसो हावा पानीले पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्य देख्न पाइने हुँदा तराईबाट धेरै पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

पार्कलाई सफा र चिटिक्क पार्ने उद्देश्यले विभिन्न प्रजातिका फूल तथा अन्य बिरुवा रोपिएको सङ्गठनका जिल्ला कोषाध्यक्ष विशाल महतले बताए । उनले नरपानीमा थप पर्यटक आकर्षित गर्नका लागि पार्क थप व्यवस्थित बनाउन लागिएको बताए ।

वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष श्रीधर महत्रा, मालारानी-५ का वडाध्यक्ष तिलक मिश्रलगायत कर्मचारीको उपस्थिति थियो ।

पिकनिकस्थलका रुपमा विकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट दैनिकरुपमा हजारौँ मानिस आउने गरेका छन् । महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दूरीमा नरपानीमा पुग्न सकिन्छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको छ । प्रसिद्ध सुपा देउराली मन्दिर नजिक पर्ने नरपानी बनभोजका लागि पनि प्रसिद्ध छ । सुपा देउराली मन्दिर दर्शन गर्न जानेहरु अधिकांश नरपानी पुग्ने गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics