जलवायु परिवर्तन मान्छेकै कारण भइरहेको हो ?



काठमाडौं – ‘पृथ्वीको तापक्रम बढीरहेको छ । हिमालमा हिउँ पग्लँदैछन् । अनी, समुद्रको सतह बढ्दै छ ।’ यी विषय पछिल्लो समय चर्चा भइरहने र समाचार बनिरहने विषय हुन् । यस्तो हुनुको मुख्य कारण मानिन्छ जलवायु परिवर्तन । त्यसैले वैज्ञानिक र विज्ञहरू जलवायु परिवर्तनका कारण हाम्रो ग्रहले ठूलो संकट भोगिरहेको बताउँछन् । तर, के यो सबै मानवकै कारण भएको हो ? धेरैले गर्ने प्रश्न यहीँ हो । अनि अर्को पनि प्रश्न छ – के यस अघि पृथ्वी तातिएको थिएन ? आज यसै विषयको उत्तर खोज्ने प्रयास नेचर खबरले गरेको छ ।
०००

हाम्रो ग्रह औद्योगिक क्रान्ति सुरु भएयता नै तीव्र गतिमा तात्दै गएको छ । पृथ्वीको सतहको सरदर तापक्रम सन् १८५० यता १.१ डिग्री सेल्सियसले बढेको छ । र, पछिल्ला चार दशक हरेक अघिल्लो दशकभन्दा तातो रहँदै आएको छ ।

यो निष्कर्ष विश्वका विभिन्न भागमा संकलन गरिएका दशौँ लाख तथ्यांकको विश्लेषणबाट निकालिएको हो । जमिनमा, पानी जहाजमा र स्याटलाइटमा रहेका मौसम स्टेशनहरूमा रेकर्ड भएका तापक्रमलाई आधार बनाइएको हो ।

थुप्रै स्वतन्त्र वैज्ञानिकहरूको समूह एउटै निष्कर्षमा पुगेका छन्, त्यो निष्कर्ष हो, ‘औद्योगिक युग सुरु र पृथ्वीको तापक्रम वृद्धि एउटै समयमा भएको छ ।’ अहिले वैज्ञानिकहरूले प्राचीन समयमा हुने गरेको तापक्रमको उतारचढाव पनि गणना गर्न सक्छन् । रुख काट्दा देखिने गोलो घेरा, हिउँको भित्री भाग, तालको थिग्र्यान र समुद्रका कोरलको अध्ययन सबैले उहिलेको मौसम कस्तो थियो भन्ने कुराको संकेत दिन्छन् ।

त्यसैका आधारमा अहिलेको तातोपनबारे कुरा गर्ने हो । वैज्ञानिकहरूको अनुमानमा एक लाख २५ हजार वर्षयता पृथ्वी यति तातो थिएन ।



तापक्रम वृद्धिमा मान्छे जिम्मेवार छ ?
मानव गतिविधि र तापक्रममा वृद्धिबीच महŒवपूर्ण सम्बन्ध उत्सर्जित हरित गृह ग्यासले देखाउँछन् । हरित गृह ग्यासले सूर्यको तापक्रम सोस्छ र तापक्रम बढाउँछ । वायुमण्डलमा अत्यधिक मात्रामा रहेको कार्बन डाइअक्साइड सबैभन्दा महŒवपूर्ण उदाहरण हो ।

कार्बन डाइअक्साइडले नै सूर्यको ऊर्जा सोसेको हामी भन्न सक्छौँ । स्याटलाइटहरूले पृथ्वीबाट थोरै ताप मात्र बाहिर फर्किरहेको देखाउँछन् । र तिनको वेभलेन्थ कार्बन डाइअक्साइडले फ्याँक्ने ऊर्जाको वेभलेन्थसँग मिल्छ ।

खनिज तेलको प्रयोग र रुख काट्नुले यस्तो हरित गृह ग्यासको मात्रा बढेको छ । दुवै गतिविधि १९औँ शताब्दीयता द्रुत गतिमा भए । र, यसै समयमा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा पनि अत्यधिक बनेको पाइनु आश्चर्यजनक पनि भएन ।

कार्बन डाइअक्साइड कहाँबाट आयो भनेर देखाउन सकिन्छ । खनिज तेल उत्सर्जन गर्दा निस्कने कार्बनको निश्चित संरचना छ । रुखका गोला घेरा र ध्रुवीय हिउँ दुवैले वायुमण्डलीय रसायनमा आएको परिवर्तनको जानकारी राख्छन् ।

परीक्षण गर्दा सन् १८५० यताको कार्बन खनिज तेलबाट आएको पाइएको छ । आठ लाख वर्षसम्म वायुमण्डलीय कार्बन डाइअक्साइड ३०० पार्ट्स पर मिलियनभन्दा नबढेको विश्लेषणहरूले देखाएका छन् । तर, औद्योगिक क्रान्तियता कार्बन डाइअक्साइडको मात्रा बढ्दै बढ्दै अहिले ४२० पीपीएम भएको छ ।

कम्प्युटरमा गरिएका अध्ययनहरूमा मानिसहरूले ठूलो मात्रामा हरित गृह ग्यास उत्पादन नगरेको भए कस्तो हुन्थ्यो भनेर हेरिएको छ । यदि प्राकृतिक तŒवहरूको मात्र भूमिका रहेको भए पृथ्वी थोरै मात्र तात्थ्यो अथवा २०औँ र २१औँ शताब्दीमा केही चिसिन सक्थ्यो ।

मानव गतिविधि जोडेपछि मात्र कम्प्युटर अध्ययनले पृथ्वीको तापक्रम बढेको देखाउँछन् । पृथ्वी तात्दै गएकाले हामी वरिपरिको वातावरणमा निकै परिवर्तन हुने ठानिएको छ । अहिले पृथ्वीमा भइरहेका परिवर्तन र मानव गतिविधिका कारण हाम्रो वरिपरि हुन सक्ने भनी वैज्ञानिकहरूले अनुमान लगाएका कुराहरू एक अर्कासँग मिलेका छन् । तीमध्ये केही यस्ता छन् ।

१, ग्रीनल्यान्ड र एन्टार्कटिकको हिउँको तह द्रुत गतिमा पग्लिरहेको छ ।
२, विश्वव्यापी समुन्द्रको तह गत शताब्दीमा २० सेमीले बढेको छ र अहिले पनि बढिरहेको छ ।
३, सन् १८०० यता समुन्द्रहरू ४० प्रतिशत बढी अम्लीय बनेका छन् त्यसले समुद्री जीवनलाई असर पारेको छ ।

पृथ्वीको विगतमा थुप्रै पटक तातो समय आएको थियो । उदाहरणका लागि करिब नौ करोड २० लाख वर्षअघि पृथ्वीको तापक्रम यति बढी थियो कि यहाँ ध्रुवीय हिउँ नै थिएन र क्यानडाको आर्कटिटक क्षेत्रमा पनि गोहीहरू थिए । तर त्यसलाई सजिलो रूपमा लिनु हुँदैन किनभने त्यस बेला पृथ्वीमा मानिस थिएनन् ।
-एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics