बहुगुणी कोदोको महत्व कहिले बुझ्ने ?

काठमाडौं – कोदोको ढिँडो र कोदोको रोटी त नेपालीहरूका लागि चर्चित परिकार नै हो । किनेर खनुपरे अहिले भात भन्दा महँगो पर्छ । कारण – ‘यो स्वास्थ्यका लागि फाइदाजनक छ, शरिरलाई आवश्यक छ ।’ बारीमा सहजै उत्पादन गर्न सकिने कोदो आफैमा बहुगुणी रहेको विभिन्न अध्ययनले पुष्टि नै गरेको छ । तर, दुःखको कुरा सरकारले नै यसको उत्पादन र बजारीकरणमा अझै ध्यान दिन सकेको छैन ।

प्रत्येक वर्षको साउन १५ लाई अभियान्ताहरूले राष्ट्रिय कोदो दिवस मनाउने अभियान सुरु गरे पनि सरकारले वेवास्था गरेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् । भन्छन्, ‘यसपटक तेस्रो राष्ट्रिय कोदो दिवस मनाउनमा पनि सरकारले मान्यता दिएन । यो कृषि पर्धान मुलुकका कृषकका लागि दुःखको कुरा हो ।’

कोदोको संरक्षण र फाइदालाई चिनाउन दिवसको भूमिका महत्वपूर्ण हुन्छ । यो दिन यसको उत्पादन, आयातको बारेमा पनि धेरै खेज हुन्छ । तर, त्यस्तो खोज पनि कमै भएको छ । एक तथ्यांकले भन्छ्, ‘नेपालमा कोदो उत्पादन राम्रो भए पनि त्यसले पुगेको छैन । अझै कोदोमा पनि भारतसहितका मुलुकको भर पर्नुपर्ने बाध्यता छ ।’

एक सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मै १ करोड ८४ लाख किलोग्राम बराबरको कोदो आयात भएको छ । उक्त परिमाणमा वर्षमै ७३ करोड २० लाख ११ हजार रूपैयाँबराबरको कोदो र कोदोजन्य खाद्यन आयात भएको सो तथ्यांकले देखाउँछ ।

यस्तो छ आयातको अवस्था ।
आर्थिक वर्ष २०७९/०८० मा



विश्वमै कोदो उत्पादन बढी हुने भारतबाट नेपालमा अधिक मात्रामा कोदो आयात हुने गरेको छ । जबकी नेपाल पनि कोदो उत्पादनमा विश्वकै १३औं स्थानमा पर्छ । खाद्य तथा कृषि संगठनको सन् २०२० को तथ्यांकअनुसार नेपालमा ३ लाख २० हजार ९ सय ५३ मेट्रिक टन कोदो उत्पादन भएको छ । सो अवधिमा भारतले १ करोड २४ लाख ९० हजार मेट्रिक टन कोदो उत्पादन गरेको छ ।

गत आवमा नेपालले केहि मात्रामा कोदोको निर्यात समेत गरेको छ । सो आवमा नेपालले वेल्जियम, क्यानडा, हङकङ, कोरीया, बेलायत मुलुकमा २१ लाख २३ हजार रूपैयाँ बराबरमा १५ हजार ८११ किलो कोदो विक्रि गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । तर, पनि यसको तुलनामा आयातको स्थिती भने बढ्दो रहेको कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख डा. रामकृष्ण श्रेष्ठ बताउँछन् ।

यस्तो छ निर्यातको अवस्था :
आर्थिक वर्ष २०७९/०८० मा



नेपालमा खेतीगर्ने क्रम घट्दो भएकाले कोदोको आयात बढेको उनी बताउँछन् । भन्छन्, ‘क्षेत्र घट्दै गएकाले देशभित्रको उत्पादनले पुगेन । तर आजकल कोदोको माग बढेको छ । शहरबजारतीरर पनि कोदोजन्यको ब्रेड, कुकीज उत्पादन हुन थालेको छ । घरेलु महिराकोलागि पनि आयात बढेको छ । साथै मधुमेह रोग जस्ताले कोदो खानु फाईदाजनक भनेर चेतना बढ्दै गएकाले कोदोको माग बढेको छ ।’ जस्ले गर्दा यहाँ उत्पादीतले नपुगेर आयात गरेको उनले बताए ।

कोदो खाद्यन्नमा अब्बल गुण, पौष्टिक पदार्थ, आईरन, औषधीय गुण रहेको र जैविक विविधताका दृष्टिले महत्व रहेकाले कोदोलाई राष्ट्रिय महत्वको बालीको रूपमा स्थापित गराउन खोजिएको छ । जसका लागि संयुक्त राष्ट्रसंघको महासभाले सन २०२३ लाई सिमान्तबाली (कोदो) अन्तराष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गरेसंगै नेपाल सरकारले पनि सिमान्तबाली (कोदो) वर्षको रूपमा मनाईरहेको छ । ‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामिण रूपान्तरणको लागि कोदोजन्य बाली’ नाराका साथ २०२३ लाई कोदोजन्य बाली वर्ष मनाइरहेको हो ।

स्वास्थ्यवद्र्धक मौलीक अर्थात रैथाले वालीकाहरू लोप हुँदै जान थालेकाले कोदो, फापर, लट्टे, जुनेलो (चिनो) जस्ता रैथाने बालीको प्रवद्र्धन गर्न खोजीएको छ । तर, नेपालमा सरकारी स्तरबाट असार १५लाई धान दिवस भने झै साउन १५ लाई कोदो दिवस भनेर वार्षिक क्यालेण्डरमा घोषणा गरिसकेको छैन ।

सरकारले कोदो उत्पादनलाई प्रोत्साहन गर्न करोडौं अनुदान समेत दिएको थियो । गत असारसम्म सरकारले रैथाने बाली यसभित्र पनि बढि कोदोजन्यबाली उत्पादनका लागि प्रोत्साहन गर्न १ सय ३३ ओटा पालीकासँग मिलेर अनुदानसहित कार्यक्रम गरेको थियो । तर, चालु आर्थिक वर्षमा फेरी यस्तो कार्यक्रम गर्न नयाँ कार्यविधि पास गर्नुपर्ने भएकाले अझै निश्चित छैन ।

गत आवमा भने बाँझो जमिन प्रयोग गरेर खेती गर्नेलाई १ रोपनी बराबर ९ सय र १ हेक्टर बराबर १८ हजार अनुदान दिने व्यवस्था सरकारले गरेको थियो । बाली हुने ठाउँमा कोदो लगाउनेलाई प्रति रोपनी ९ सय रूपैयाँ अनुदान दिइएको थियो । कोदो विक्रि गर्दा पालीकाको समन्वयमा बजारमा वा सहकारीमा बेच्यो भने प्रति किलो १० रूपैयाँ अनुदान दिईएको थियो ।

पछिल्लो समय नेपालमा कोदो बाली उत्पादनको क्षेत्रफल पहिलेभन्दा क्रमशः घटेको छ । आव २०७४/७५ मा देशभर २ लाख ६३ हजार ४ सय ९७ हेक्टरमा खेती गरेकोमा ११ हजार ९२ केजि प्रति हेक्टरको दरले ३ लाख १३ हजार ९८७ मेट्रिक टन उत्पादन भएको थियो । देशको कुल खाद्यान्नको क्षेत्रफको ७.७ प्रतिशत कोदो बालीले ओगट्छ । यसको कुल क्षेत्रफलमध्ये ९५ प्रतिशत पहाडमा हुन्छ । नेपालको तराईदेखी समुन्द्र सतहबाट ३१ सय मीटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो लगाईन्छ । ७७ जिल्लामै कोदो खेती गरेको पाईए पनि धेरैजसो खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखार सिन्धुलीमा बढी हुन्छ ।

प्राय कोदोले खाद्य तथा पोषण सूरक्षामा योगदान गर्छ । परम्परागत रूपमा कोदो मूख्यत ढिंडो, रोटी, रक्सी र पशु आहारमा प्रयोग हुने गरेको छ । यो घरेलु रक्सिको लागि बढि उपयोगी हुने गरेको छ । अहिले यसलाई मम, पिज्जा, हलुवा लगायतको परिकार समेत प्रयोग गर्दा स्वास्थ्यलाई लाभ हुने भएकाले होटल तथा रेष्टुराँहरूले प्रचलनमा ल्याईएको छ ।

 

रविन भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics