अब पाइन्छ बाँदरले खाएको बालीको क्षतिपूर्ति



काठमाडौं – जब मकै पाक्ने सिजन हुन्छ, केही जिल्लाका किसानको एउटै समस्या बन्छ बाँदर । भेजपुर लगायतका केही जिल्लाका स्थानीय त बाँदरकै समस्याले जिल्ला छाड्न बाध्य छन् । बाँदरको उपध्रोको विषय सडकमा मात्रै होइन, सदनमा पनि सुनिन्छ । अनि जहाँ पनि भनिन्छ, ‘बाँदरले क्षति गरेको राहत चाहिन्छ ।’ तर, किसानले पाएनन्, पाएका छैनन् ।

अब भने बाँदरको यस्तै उपध्रोबाट पीडित कृषकका लागि खुसीको कुरा छ । सरकारले क्षतिपूर्ति दिने भएको छ । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार र वृद्धि गर्दै नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिका हो, ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० ।’ यो साउन १ देखि कार्यान्वयनमा आएको छ ।

निर्देशिका अनुसार अब बाँदर र नीलगाईका कारण समेत बालीमा क्षति पुगे राहत दिने प्रावधान ल्याइएको छ । यसअघि १४ वटा जंगली जनावरका कारण मानवीय, संरचना तथा बालीमा क्षति भए राहत दिने प्रावधान रहेको थियो । अब यसलाई विस्तार गर्दै १६ वटा जनावर पु¥याइएको हो ।

बाँदरको आक्रमणबाट मानिस सामान्य घाइते, गम्भीर घाइते वा मृत्यु भएमा ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’को प्रावधान अनुसार सबै क्षतिपूर्ति पाइनेछ । अर्थात् वन्यजन्तुको आक्रमणबाट सामान्य घाइतेलाई स्वास्थ्य संस्थाको सिफारिसमा बिल अनुसार २० हजार क्षतिपूर्ति दिइने भएको हो ।

गम्भीर घाइते भएमा २ लाख रुपैयाँसम्म रकम दिने र २ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अवस्था भएमा नजिकको जुनसुकै अस्पतालमा इमर्जेन्सी उपचार गराउँदा लागेको खर्च र त्यसपछि सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च समेत अस्पतालका चिकित्सकको सिफारिसमा सरकारले उपलब्ध गराउने छ ।

अङ्गभङ्ग भई जीवनभर शारीरिक रुपले असक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई अब जिविकोपार्जनका लागि एकमुष्ट ५ लाख रुपैयाँ दिइने भएको छ । मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालाले १० लाख रुपैयाँ पाउने छन् ।

बाँदरले बालीनालीमा क्षति गरेमा समेत अब क्षतिपूर्तिका लागि दाबी गर्न सकिने छ । बालिको क्षति भएको हकमा एक मौसममा लगाएको बालीको एक पटक र वर्षमा दुई बालीका लागि मूल्याङ्कनका आधारमा अधिकतम १० हजार रुपैयाँसम्म हकदाबी गर्न सकिने गरी निर्देशिकाले तोकेको छ ।

सरकारी तवरबाट बालीको बीमा गरेको अवस्थामा बालीको क्षतिको राहत उपलब्ध गराउँदा बीमाबाट प्राप्त रकम कटाएर मात्र उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ । निजी जमिनमा लगाएको बालीमा बाँदरसहितका वन्यजन्तुले क्षति पु¥याएमा राहत माग्न पाइने भएको छ ।



यसरी दिने निवेदन
निर्देशिका अनुसार वन्यजन्तुबाट भएको क्षतिको राहतका लागि राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा माध्यवर्ती क्षेत्रको हकमा सम्बन्धित कार्यालय र अन्य क्षेत्रको हकमा डिभिजन वन कार्यालयमा निवेदन दिन सकिन्छ ।

निवेदनबारे मूल्याङ्कन गरी एक महिनाभित्र सम्भव भएसम्म बैंकमार्फत नै राहत रकम उपलब्ध गराइने निर्देशिकामा उल्लेख छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics