समुद्रमा पानीको सतह बढ्दा भासिँदैछन् तटिय सहरहरू
- नेचर खबर
काठमाडौं – न्यूयोर्क अमेरिकाको आर्थिक राजधानी भनेर चिनिन्छ । यहाँ गगनचुम्बी भवन अत्याधिक छन् । तीनै भवनले पनि यहाँको सौदर्य बढाएको छ, सहरलाई आकर्षक बनाएको छ । तर, अहिले ती भवन भासिन थालेका छन् । विज्ञ भन्छन्, ‘यो समस्या समुद्रको सतह बढेर भएको हो । समुद्रको सतह बढ्दा भवन मुनिका जमिन नरम बन्दैछन् । भविश्यमा यो ठूलो समस्याको विषय बन्न सक्छ ।’
यो समस्या अमेरिकाका न्यूयोकमा मात्रै होइन । तटीय सहरहरूको साझा समस्या बन्न थालेको छ । समुद्रमा पानीको सतह बढ्नु नै ती सहरहरूको समस्याको कारण हो । तटिय सहरहरूमा बनेका ठूला ठूला कङ्क्रिटको भवनको भार कमलो बन्दै गएको जमिनले थेग्न नसक्दा भासिने, चर्कने र ढल्ने समस्या अब दैनिक जसो देखिने त्यस क्षेत्रको अध्ययन गरिरहेका विज्ञ बताउँछन् । समुद्रमा पानीको सतह बढ्नु भनेको जलवायु परिवर्तनको असर भएको विज्ञ बताउँछन् । तापक्रम बढ्दा हिउँ पग्लने दर उचच छ र समुद्रको सतह त्यसै अनुसार बढ्दैछ ।
न्यूयोर्कको पहिलो गगनचुम्बी भवन सन् १८८९ को सेप्टेम्बर २७ मा बनेको थियो । ११ तले सो भवन केही वर्ष अघिनै त्यहीँ समस्याको कारण भत्काइसकिएको छ । ब्रोडवेमा रहेको त्यो भवन निर्माणसँगै न्यूयोर्कमा अग्ला भवनहरूको निर्माण सुरु भयो र त्यो क्रम आजसम्म जारी छ । तर, समस्या देखिँदा पनि भवन निर्माणमा अमेरिका सहितका मुलुक सचेत बनेका छैनन् ।
कुल ७७७ वर्ग किलोमिटर क्षेत्रमा उभिएको न्यूयोर्क सहरमुनिको जमिन ७६ करोड टन कङ्क्रिट, सिसा र स्टिलले थिचिएको अमेरिकाको जीओलोजिकल सर्भे यूएसजीएसका अनुसन्धाताहरूको आकलन छ । यो अनुमानमा भवनभित्र रहेका सामानहरूको वजन समेटिएको छैन । यसमा सहरलाई जोडेको यातायात सञ्जालको वजन र त्यहाँ बस्ने ८५ लाख मानिसको तौल पनि समेटिएको छैन । अब आफै सोच्नुहोस् त, जमिनले कति वजन थामिरहेको होला ?
केही समय अघि प्रकाशित अध्ययन अनुसार यहाँको जमिन हरेक वर्ष १ देखि २ मिलिमिटर भासिइरहेको छ । भासिनुको आंशिक कारण सहरमा बनेका घरहरूको दबाव पनि हो । तटीय सहरसँग जोडिएको समुद्रको सतह पनि प्रतिवर्ष ३ देखि ४ मिलिमिटर बढिरहेको छ ।
जमिन भासिने र समुद्र सतह बढ्ने दर भयानक नलागे पनि केही वर्षपछि यसले तटीय सहरमा उल्लेख्य समस्या थप्दै जान्छ । पछिल्लो हिम युगको अन्त्यसँगै हिउँले ढाकिएका ठाउँ सहरमा रूपान्तरित हुँदै छन् । भने, पहिलेका सहर भासिँदैछन् ।
यूएसजीएसका अनुसन्धाता टम पार्सन्सका अनुसार हिउँको पत्रको वजन हटेपछि न्यूयोर्कका कतिपय क्षेत्रमा समुन्द्री तट सम्म ठूला भवन फैलिएका छन् । ठूलाठूला भवनहरूको तौलका कारण यहाँको जमिन भासिने क्रम बढ्दै गएको छ ।
यो न्यूयोर्कको मात्रै नभएर विश्वव्यापी समस्या रहेको पार्सन्स बताउँछन् । उनी मानिसहरू बसाइँसराइ गरेर आउने क्रमका कारण बढ्दो जनसंख्या भएका र त्यससँगै सम्बन्ध रहेको बढ्दो सहरीकरणसँगै बढ्दो समुद्र सतहको सामना गरिरहेका अमेरिका र अन्य सहरहरूमा पनि यस्तो समस्या रहेको बताउँछन् ।
तटीय सहरहरू भासिँदै जानुमा धेरै कारणहरू हुन सक्छन् । तर मानव सिर्जित पूर्वाधारको वजनले यसमा सबैभन्दा ठूलो भूमिका खेलिरहेको छ । पूर्वाधारको मात्रा निकै ठूलो छ । सन् २०२० मा मानव निर्मित संरचनाहरूको वजनले जनावर, बोटबिरुवा र मानिसजस्ता प्राकृतिक वस्तुहरूको वजनलाई उछिनेको छ ।
सबैभन्दा तीव्र दरमा जमिन भासिने क्षेत्रमा दक्षिणपूर्वी एशिया पनि पर्छ । जाकार्ताको केही क्षेत्र २ देखि ५ सेन्टिमिटर प्रतिवर्षका दरले भासिँदै गएको छ । इन्डोनेशियाले यो सहरबाट राजधानी हटाएर १२४० किलोमिटर टाढाको अर्को सहरलाई राजधानी बनाउन लागेको छ । फिलिपिन्सको मनिला, बाङ्गलादेशको चिटागोङ, पाकिस्तानको कराची र चीनको तियान्जिन पनि तीव्र रूपमा भासिँदै गरेका तटीय सहरहरू हुन् ।
यी सहरहरूमा पूर्वाधारहरूमा क्षति र बारम्बार बाढी जस्ता समस्या अहिले नै देखा परेका छन् । तर, तटीय क्षेत्रमा नरहेको मेक्सिको सहर पनि आश्चर्यजनक गतिमा वर्षको ५० सेन्टिमिटरसम्मका दरले भासिँदै गएको छ । अनुसन्धानहरूले यो सहर भासिने क्रम रोकिन अर्को १५० वर्ष लाग्ने देखाएका छन् । त्यस बेलासम्म यो सहर थप ३० मिटरसम्म भासिनसक्ने आकलन भएका छन् । – एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस