अमेरिकाको पर्यटकीय टापुमा डढेलो, ५३ को मृत्यु, हजारौँ विस्थापित



क्यालिफोनियाँ – अमेरिकामा हवाईको माउइ टापुमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ । दर्जनौं घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् ।

प्रशान्त महासागर नजिकै बज्रिएको आँधीबाट उत्पन्न तीव्र हावाहुरीका कारण मंलबारदेखि सुरु भएको डढेलो द्रुत गतिमा फैलिएको हो । त्यहाँका हजारौँ सर्वसाधारणलाई अस्थायी आश्रयस्थलमा स्थानान्तरण गरिएको छ ।

माउइमा विद्युतीय पोलहरू ढल्दा ११ हजार मानिसहरू अझै पनि बत्तीबिना बसिरहेका छन् । हवाईका गभर्नर जोस ग्रीनले उक्त राज्यमा धेरै वर्षपछि यस्तो मानवीय क्षति भएको बताएका छन् । उनका अनुसार त्यहाँका १,७०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन् भने ऐतिहासिक शहर लाहैनाको ८० प्रतिशत भाग पूर्ण रूपमा प्रभावित भएको छ ।

ग्रीनले सिएनएनसँगको कुराकानीमा हालको परिस्थितिबारे भने, ‘सबैले यसलाई लाहैनामा बम प्रहार गरेको जस्तो घटना भएको बताउँनेछन् । यसमा कुनै शंका छैन । ‘हामीलाई थाहा छ धेरै मानिसको मृत्यु भएको छ । यो संख्या उल्लेखनीय रूपमा बढ्नेछ । हामीले धेरै वर्षयता यसरी मानवीय क्षति बेहोरेका थिएनौं,’ ग्रीन सीएनएनसँग बोल्दै भने ।

उनले सन् १९६० मा आएको सुनामीमा ६१ जनाको मृत्यु भएको प्रसङ्ग उल्लेख गर्दै डढेलोका कारण मृत्यु हुनेको संख्या त्योभन्दा बढी हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त टापुमा लागेको डढेलोलाई ‘ठूलो विपद् घोषणा’ गरेका छन् । माउइ नजिकैको बिग आइल्यान्डको थुप्रै भेगहरूमा पनि डढेलो लागिरहेको बताइएको छ ।

प्रहरी प्रमुखका अनुसार यकिन तथ्याङ्क नभए पनि करिब हजार मानिसहरू अझै बेपत्ता छन् । अधिकारीहरूले त्यहाँ हराएका मानिसहरूको खोजी र उद्धार कार्य जारी राखेका छन् । त्यहाँ आवासीय भवनहरू खाली गरिनुका साथै सडक अवरुद्ध पारिएको छ । हजारौँ विस्थापितहरूका लागि अस्थायी आश्रयस्थल स्थापना गरिएको अधिकारीहरूको भनाई छ ।

लोकप्रिय पर्यटकीय गन्तव्य माउइमा मानिसहरूको प्रवेश निरुत्साहित गर्दै आपतकालीन आदेश जारी गरिएको छ । राज्यका लेफ्टिनेन्ट गभर्नर सिल्भिया ल्यूकले भनेका थिए, ‘हामीसँग भएका आश्रयस्थलहरू भरिन थालिसकेका छन् । हामीसँग कर लगाइएका स्रोतहरू छन् । यद्यपि यहाँका स्थानीय बासिन्दाहरूको लागि जे गर्न सक्छौँ त्यो गरिरहेका छौँ ।’

हवाईमा डढेलोको घटना नौलो होइन । यद्यपि केही दिनयता फैलिएको डढेलो थुप्रै टापुहरू भएको उक्त ठाउँमा भएको सबैभन्दा खराबमध्ये एक हो । भौतिक तथा मानवीय क्षतिको आधारमा यो विनाशकारी ठहरिएको बीबीसीका नदिन युसिफले जनाएका छन् ।

घातक डढेलो फैलनुको कारणबारे अझै पनि अनुसन्धान भइरहेको छ । यद्यपि आँधी र सुख्खा मौसमका कारण आगो तीव्र बनेको जनाइएको छ । माउइ टापुसहित हवाईको ठूलो भूभागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । यूएस ड्राउट मोनिटरका अनुसार राज्यको लगभग १४ प्रतिशत भाग गम्भीर वा मध्यम खडेरीमा परेका छन् ।

त्यस्तै हवाईको ८० प्रतिशत भाग असामान्य रूपमा सुख्खा भएको स्थानका रूपमा वर्गीकृत गरिएको छ । गत महिना न्याशनल वेदर सर्भिसले माउइका झाडीहरूमा आगलागी भएको र केही समयका लागि राजमार्ग बन्द भएको उल्लेख गरेको थियो । पूर्वानुमानकर्ताहरूले ‘यस वर्षको सुख्खा याममा डढेलोको जोखिम उच्च रहेको’ चेतावनी दिएका थिए ।

हवाईका केही भागहरूमा त्यहाँ रैथाने बाहेकका घाँसले ढाकिएका छन् जुन स्थानीय वनस्पतिहरू भन्दा बढी ज्वलनशील छन् भन्ने कुरामा वैज्ञानिकहरूको ध्यानाकर्षण भएको छ । ती घाँसहरू, सुख्खा अवस्थाका कारण एक झिल्कोसँगै आगो फैलन सक्छ ।

डढेलो सुरु हुनुअघि नै माउइमा अधिक तापमान, निकै कम आर्द्रता तथा तीव्र हावाका कारण आगलागीको जोखिम रहेको चेतावनी दिइएको थियो । मंगलवार हवाईको तटीय क्षेत्रमा बज्रिएको ’डोरा’ आँधीले आगोको ज्वालालाई फैलिन मद्दत गरेको थियो । –एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics