लाटोकोसेरोको सम्मानमा महोत्सव
- नेचर खबर
दुर्लभजन्तु लाटोकोसेरोको संरक्षणका लागी कपिलवस्तुमा लाटोकोसेरो महोत्सव आयोजना गर्ने तयारी पुरा भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसरमा माघ २१ र २२ गते कपिलवस्तुको जगदिशपुरमा हुचिल तथा लाटोकोसेरो महोत्सव आयोजना गर्न लागिएको हो । यो कार्यक्रमको आयोजना जगदिशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च तथा प्रकृतिका साथीहरु नामक गैरसरकारी संस्थाले गरेको छ । किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओेझेलमा परेको लाटोकोसेरो संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । नेपालमा लाटोकोसेरो उत्सव मनाउन थालिएको ६ वर्ष भएको छ । नेपालबाहेक यो उत्सव अमेरिका र इटालीमा पनि मनाउने गरिँदै आएको छ ।
लाटोकोसेरो तथा हुचिल अन्य जीवजन्तु जस्तै शिकार तथा अवैध व्यापार हुन थालेपछि यसको संरक्षणमा जोड दिन यस किसिमको महोत्सवको आयोजना गर्न लागिएको आयोजक संस्थाले जानकारी दिएको छ । औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा यिनको अवैध कारोबार हुने गर्छ । प्रकृतिका साथीहरु नामक संस्थाले ३० वटा जिल्लामा गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २ हजार वटासम्म लाटोकोसेरो तथा हुचील मारिने तथा विभिन्न मुलुकहरुमा अवैध रुपमा पठाइने गरेको पाइएको थियो ।
मानिसले लाटोकोसेरोको बच्चाहरुलाई गुँडबाट निकालेर पाल्ने गरेका छन् । यस्ता क्रियाकलापले लाटोकोसेरोको वासस्थान विनास तिव्र रुपमा भइरहेको छ । प्रकृतिका साथिहरु संस्थाका निर्देशक एवम् विश्व लाटोकोसेरो कोषका सदस्य आचार्य भन्छन् ‘नेपालमा कानुनी रुपमा लाटोकोेसेरोलाई पाल्न, दुख दिन, बेच्न नपाईने व्यवस्था गरिएको भएपनि यसबारे स्थानीयलाई जानकारी नै छैन । साथै उनले भने, ‘लाटोकोसेरोले कृषि क्षेत्रमा गर्ने योगदानबारे पनि उनीहरु अनविज्ञ देखिन्छन् । यसको बारेमा आम मानिसलाई जानकारी गराउन स्थानीय तथा अन्य सरोकारवालालाई लाटोकोसेरो तथा हुचील संरक्षणमा टेवा पुगोस भनेर यो उत्सव गर्न लागिएको हो ।’
महोत्सवका आकर्षणहरु
महोत्सवमा प्रकृति संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गरिनेछ । प्रकृति संरक्षण पुरस्कार बरिष्ठ चराविद डा. हेम सागर बराल, पत्रकार कृष्णमणी बराल, प्राध्यापक भरतराज सुब्बा र भारतीय उपमहाद्वीपमा चरा अवलोकनका माध्यमबाट यो क्षेत्रका चराहरुको अभिलेख गरी संसारभरि यसको महत्व दर्शाइदिने प्रख्यात बेलायति इन्स्किप जोडी क्यारोल इनस्किप र टीम इनस्किप लाई प्रदान गरिनेछ । पुरस्कृत हुनेहरुलाई जनही नगद रु. २५ हजार सहित ताम्रपत्र तथा खादाबाट सम्मान गरिने व्यवस्था मिलाइएको छ । साथै वन्यजन्तु संरक्षणमा संलग्न साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसन र ग्लोबल प्राइमेट नेटवर्क नेपाल संस्थालाई संस्थगत सम्मान गरिनेछ भने स्थानिय स्तरमा वन, वन्यजन्तु तथा प्रकृति संरक्षणमा योगदान गरेका कान्तिपुरका पत्रकार मनोज पौडेल र तिलौराकोट साझेधारी वन व्यवस्थापन समितिका अध्यक्ष जय प्रकाश पाण्डेय लाई स्थानिय संरक्षण पुरस्कार प्रदान गरिनेछ ।
उत्सवको दुवैदिन निशुल्क चरा अवलोकन र प्रकृतिको फोटो खिच्ने कार्यक्रम मा सहभागि तथा लाटोकोसेरो सम्बन्धी अस्थायी लघु म्युजियम अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । उक्त अवसरमा गाविस एवं विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला, कविता, तथा निबन्ध प्रतियोगिता आयोजना गरिएको छ साथै विजेतालाई पुरस्कृत गरिने व्यवस्था मिलाइएको छ । लघु म्युजियममा लाटोकोसेरोको जानकारी भएको सूचना पाटी, चित्र, तथा फोटोको प्रदर्शनी, गहँुको छ्वालीबाट बनाइएका लाटोकासेरोका तस्विर प्रदर्शनी, लाटोकोसेरोको रोबर्ट प्रदर्शन, आठवटा लाटोकोसेरोको आवाज सुन्न मिल्ने व्यवस्था समेत मिलाइएको छ । महोत्सवका अवसरमा संरक्षण सम्बन्धि प्रवचन, नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोट प्रदर्शनी समेत गरिनेछ ।
उत्सवलाई जिवन्त बनाउनका लागि पहिलो दिन डोरी तान्ने खेल, चिक्का खेल प्रदर्शन, लठ्ठी प्रदर्शन, भमरा नाँच, धोबी नाँच, झर्रा नाँच, भजन, आला गीत, कौवाली गीत, आमा समुहको नाँच, कुर्सि दौड, देखाउने कार्यक्रम निर्माण गरिएका छन् । उत्सवको पहिलो दिन (माघ २१ गते) निशुल्क स्वास्थ्य शिवीर समेत सञ्चालनमा ल्याइएको छ ।
किसानको साथी लाटोकोसेरो
मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले यसलाई किसानका साथी भनिन्छ । लाटोकोसेरोको एक परिवारले (भाले, पोथी र बच्चाहरु) एक सिजनमा ३ हजार वटासम्म मुसा खाने गर्छन् । मुसा बाहेक यसले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्छ । धार्मिक हिसाबले समेत लाटोकोसेरोहरुलाई देवी लक्ष्मीको वाहन मानिन्छ । पर्यावरणलाई सन्तुिलत राख्न पनि यिनको मुख्य भूमिका रहन्छ । यिनको उपस्थितीले प्रकृति स्वस्थ छ भन्ने संकेत गर्दछ । लाटोकोसेरो सहित सम्पूर्ण चरामा आधारित पर्यापर्यटन विकास मार्फत मानविय जिविकोपार्जनमा समेत सहयोग पुग्दछ । यिनीहरुको आवाजले साँझ परेको तथा बिहान भएको संकेत समेत गर्दछ ।
कस्तो चरा हो लाटोकोसेरो
लाटोकोसेरा प्राय राती तथा बिहान सक्रिय हुने र शिकार गर्ने चरा हो । त्यसो त यसले दिउँसो पनि आँखा देख्दछ । यिनीहरुकोे देख्ने तथा सुन्ने दुवै क्षमता अत्यन्तै राम्रो हुन्छ । यिनीहरुले रुखको टोड्को, भुइँमा, घरका खोपीहरुमा तथा पहराहरुमा फुल पार्छन् र बच्चा कोरल्छन् । यिनको शरीरको तौल ३१ ग्रामदेखि लिएर ४ किलो ५ सय ग्राम सम्मको हुने गर्दछ । लाटोकोसेराको शरिर अत्यन्तै हलुका तथा नरम भुवाहरुले ढाकेको हुनाले उड्दा खेरि आवाज आउँदैन । यिनीहरुले टाउकोलाई एकापट्टिमात्रै पनि २ सय ७० डिग्रीसम्म घुमाउन सक्छन् । नेपालमा यिनीहरुको बासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । यिनको सँख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २२ प्रकारका लाटोकोसेरोको प्रजातीहरु अभिलेख गरिसकिएको छ जसमध्ये ९ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन् । विश्वमा करिब २ सय २५ प्रजातीका लाटोकोेसेराहरु पाइन्छन् ।
प्रतिक्रिया दिनुहोस