खडेरी र आँधीपछि लागेको थियो अमेरिकाको ऐतिहासिक सहर लाहैनामा आगो, ९३ को मृत्यु
- नेचर खबर
काठमाडौं – अमेरिकाको हवाई राज्यस्थित ऐतिहासिक सहर लाहैनालाई ध्वस्त पार्नेगरी भएको वन डढेलोमा ९३ जनाको मृत्यु भएको छ । उक्त आगलागीमा सयौं व्यक्ति हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।
यो घटनालाई अमेरिकामा एक शताब्दीयताकै सबैभन्दा घातक डढेलो ठानिएको छ । मृतकको पहिचान गर्ने कार्य जारी रहेकाले शनिवार हवाई राज्यका गभर्नर जोस ग्रीनले मृतकको संख्या उल्लेखनीय रूपमा बढ्न सक्ने चेतावनी दिएका छन् ।
आगोबाट जोगिन भागेका कयौँ बेपत्ता छन् भने सयौँ मानिसहरू माउइस्थित आश्रय स्थलमा बसिरहेका छन् । ‘यो निकै चुनौतीपूर्ण दिन हो,’ ग्रीनले भने । ‘यो हवाईले भोगेको अहिलेसम्मकै सबैभन्दा विध्वंसकारी प्राकृतिक विपद् हुनेछ,’ उनले थपे, ‘हामी अहिले केवल बाँचिरहेकाहरूलाई सहयोग गर्न सक्छौँ । अब हाम्रो ध्यान सकेको खण्डमा मानिसहरूको पुनर्मिलन गराउन, उनीहरूलाई आवास तथा स्वास्थ्य सेवा प्रदान गर्न र त्यसपछि पुनर्निर्माणमा केन्द्रित हुनेछ ।’
यस डढेलोबारे पूर्व चेतावनी प्रणालीको प्रयोग गरिएको थियो वा तिनीहरूमा कुनै समस्या आएको थियो भन्ने कुरा स्पष्ट हुन सकेको छैन । अधिकांश मानिसहरूले बीबीसीसँग आगोको बारे पूर्व सूचना नदिइएको बताएका छन् ।
राज्यका महान्यायाधिवक्ताले अधिकारीहरूले यस घटनामाथि कसरी प्रतिक्रिया जनाए भन्नेबारे व्यापक समीक्षा गरिरहेका छन् । हवाईको दोस्रो कंग्रेसनल डिस्ट्रिक्टका प्रतिनिधि जिल टोकुडाले आइतवार बीबीसी वर्ल्ड सर्भिसको न्यूजआवर कार्यक्रममा ‘गम्भीर प्रश्नहरू’ सम्बोधन गरिन आवश्यक रहेको बताइन् । ‘यो विषम परिस्थितिमा सबैलाई रिस उठ्नुको कारणहरू छन् र हामी सबै जबाफ चाहन्छौँ,’ टोकुडाले भनिन् । उनले आफ्नो लाहैना भ्रमण ‘हृदयविदारक’ भएको पनि उल्लेख गरिन् ।
डढेलोका कारण दुई हजारभन्दा बढी भवनमा क्षति पुगेको अनुमान गरिएको छ । तीमध्ये अधिकांश लाहैना क्षेत्रका भवनहरू हुन् । लाहैनासम्म पुग्ने सडकहरू पनि आंशिक वा पूर्ण रूपमा प्रभावित भएका छन् । कतिपय मानिसहरू त्यहाँबाट निस्कन पाउने अपेक्षामा राजमार्गमै लाम बसेका छन् । वैकल्पिक राजमार्ग खुला गरिएको भए पनि स्थानीयवासीले त्यहाँबाट सवारी साधन चलाउनु जोखिमपूर्ण भएको बताएका छन् । आवतजावत ठप्प बन्दा कतिपय पीडितहरू आक्रोशित बनेका छन् ।
प्यासिफिक डिजास्टर सेन्टर (पीडीसी) र एफईएमएका अनुसार माउइको पुनर्निर्माणका लागि ५ अर्ब ५० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । हेलिकप्टर पाइलट रिचर्ड ओल्स्टेनले माउइमाथि उडान भरेपछि बीबीसीलाई बताए अनुसार बन्दरगाहमा रहेका अधिकांश डुङ्गाहरू पनि जलेका र डुबेका छन् ।
यसअघि बीबीसीका नदिन युसिफले आँधी र सुख्खा मौसमका कारण त्यहाँ लागेको आगो तीव्र गतिमा फैलिएको जनाएका थिए । माउइ टापुसहित हवाईको ठूलो भूभागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो ।
यूएस ड्राउट मोनिटरका अनुसार राज्यको लगभग १४ प्रतिशत भाग गम्भीर वा मध्यम खडेरीमा परेका छन् । त्यस्तै हवाईको ८० प्रतिशत भाग असामान्य रूपमा सुख्खा भएको स्थानका रूपमा वर्गीकृत गरिएको छ । गत महिना न्याशनल वेदर सर्भिसले माउइका झाडीहरूमा आगलागी भएको र केही समयका लागि राजमार्ग बन्द भएको उल्लेख गरेको थियो ।
– बीबीसीको सहयोगमा
प्रतिक्रिया दिनुहोस