२०५० सम्ममा समुद्रमा माछाभन्दा बढी हुनेछन् प्लास्टिक
- नेचर खबर
काठमाडौं – सबैभन्दा बढी माछा कहाँ होला ? उत्तर सहजै छ – ‘समुद्रमा ।’ तर राष्ट्रसंघ भन्छन्, ‘अबको २७ वर्ष पछि अर्थात, सन् २०५० सम्ममा समुद्रमा माछाभन्दा बढी प्लास्टिकजन्य फोहोर हुनेछ ।’
एउटा सामान्य प्लास्टिकको झोला नष्ट हुन १ सयदेखि ५ सय वर्षसम्म लाग्छ । अहिले यसको प्रयोग विश्वामा अत्याधिक छ । र, सबै प्रयोग पछि पानीमा मिसिएर समुद्रमा पुग्दैछ ।
वातावरण क्षेत्रमा कार्यरत संस्थाका अनुसार विश्वभर बर्सेनि ५ खर्ब वटा प्लास्टिक ब्याग उत्पादन हुन्छन् । हरेक मिनेट १० लाख ब्याग प्रयोग भइरहेका हुन्छन् ।
जति उत्पादन भइरहेका छन्, त्यत्तिकै अनुपातमा विश्वभर प्लास्टिकजन्य फोहोर पनि बढिरहेका छन् ।
विश्वभर बर्सेनि ४० करोड टन प्लास्टिकको फोहोर उत्पादन हुन्छ । सन् १९५० मा १५ लाख टन रहेको प्लास्टिकको उत्पादन बढेर २०२१ मा ३९ करोड टन पुगेको तथ्यांक छ ।
उत्पादित प्लास्टिकमध्ये ९ प्रतिशत पुनःप्रयोग गरिन्छ । १२ प्रतिशत जलाइन्छ भने बाँकी ७९ प्रतिशत डम्पिङ साइटमा बिसर्जन गरिन्छ या त्यत्तिकै खुला छाडिन्छ । प्लास्टिकजन्य फोहोरबाट समुद्र सबैभन्दा बढी प्रदूषित हुने गरेको छ ।
राष्ट्रसंघीय वातावरणीय कार्यक्रम युनेपका अनुसार हरेक मिनेटमा एक ट्रक बराबरको प्लास्टिक फोहोर समुद्रमा बिर्सजन हुने गरेको छ ।
यही क्रम जारी रहे सन् २०५० सम्ममा समुद्रमा माछाभन्दा प्लास्टिक बढी हुने युनेपको अनुमान छ । यस्तै, प्लास्टिक ब्यागका कारण बर्सेनि १ लाख जलचर मारिने गरेका छन् ।
तर, प्याकेजिङमा अनावश्यक रूपमा प्लास्टिकको प्रयोग रोक्ने, पुनः प्रयोग बढाउने र वातावरणमैत्री विकल्प अपनाउने हो भने सन् २०४० सम्ममा विश्वव्यापी प्लास्टिक प्रदूषण ८० प्रतिशतले घटाउन सकिने राष्ट्रसंघको अनुमान छ ।
हाल विश्वका १ सय २७ मुलुकले प्लास्टिकको प्रयोगमा आंशिक तथा पूर्ण रूपमा रोक लगाएका छन् ।
यस्तै, अनुसन्धानकर्ताहरूले हालै अस्ट्रेलिया, अमेरिका, बेलायत र युरोपका ३८ वटा तालमा गरेको अनुसन्धानले सबै ठाउँमा प्लास्टिक र माइक्रोप्लास्टिक फेला परेको थियो ।
प्लास्टिक वातावरणमा प्रवेश गरेपछि तिनीहरू स–साना टुक्रामा परिणत भइ माइक्रोप्लास्टिक बन्न पुग्छन् । आकारमा ५ मिलिमिटरभन्दा साना आकारलाई माइक्रोप्लास्टिक भनिन्छ । -एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस