खडेरीबाट बाढीसम्म : मुस्ताङ बाढीकाे यस्ताे छ ‘रहस्य’

मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आइतबार राती हिलोसहित आएको बाढीले पुर्‍याएको क्षति । रासस


काठमाडौं– मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आइतबार राती हिलोसहितको ठूलो बाढी आयो । अकल्पनिय बाढीले पर्यटकीय तथा धार्मीक क्षेत्र कागबेनीमा असामान्य क्षति पुर्यायो । २९ घरमा पूर्ण क्षतिग्रस्त भयो, केही गोठ र सवारीसाधन बगायो । संयोगवस मानविय क्षति नभए पनि भौतिक क्षति उच्च छ । माथिल्लो क्षेत्रका नागरिकले बाढी आइरहेको जानकारी दिएकाले स्थानीय जोगिए ।

यो घटना मुलुकको अन्य स्थानमा भएको बाढी पहिरोको घटना भन्दा फरक हो । किनकी, कम वर्षा र पानीको सँधै अभावमा खडेरी खेप्नुपर्ने ठाउँमा अचानक बाढी, पहिरो आयो । खानेपानीको अभावका कारण स्थानीयहरू विस्थापित हुने अवस्था रहेको यो क्षेत्रमा भयंकर बाढी र पहिरो कसरी आयो त ? बाढीले तहसनहस पारेपछि फेरि यसका कारण र त्यहाँको भौगोलिक अवस्थाबारे चर्चा र विमर्श सुरु भएको छ । अहिलेको मूख्य जिज्ञाशा नै यही हो । अब यो सबै घटनाक्रम सरल भाषामा यसरी बुझौं ।

०००
मनाङ र मुस्ताङ अग्ला हिमालहरूको नजिक रहेको एउटा क्षेत्र हो । यो क्षेत्रका ठूला हिमाल र पहाडहरूले वर्षा गराउने अधिकांश बादललाई छेक्छन् । त्यसैले यी ठाउँमा धेरै वर्षा हुन सक्दैन । हिमालको बीचबाट फाट्टफुट्ट छिरेको बादलले कहिलेकाँही वर्षा गराउँछ । तर, अधिकांश समय सुख्खा रहन्छ । अझै सरल रुपमा यसलाई यसरी पनि बुझ्न सकिन्छ, – मानौं जब तपाईं हावाबाट बच्न वा जोगिनका लागि ठूलो पर्खाल पछाडि उभिनुहुन्छ । अनि तपाईं भएको ठाउँसम्म हावा नै आइपुग्दैन । मनाङ र मुस्ताङको अवस्था पनि यस्तै हो । त्यसैले त यी जिल्लालाई हिमाल पारीका जिल्ला भनेर चिनिन्छ ।

तर, सँगै यस्तै अवस्थामा रहने मुस्ताङमा अहिले फरक अवस्था देखिएको छ । पानी अत्याधिक पर्न थालेको छ । अस्वभाविक रूपमा बाढी पहिरोको चपेटामा नागरिक पर्न थालेका छन् । यही हिमालभन्दा पारी रहेको चीनको तिब्बत पठारसँग सीमा जोडिएको मुस्ताङको अग्लो नेपाली क्षेत्रको कागबेनी गाउँमा पहिरोले खोला अवरुद्ध गरी बनेको तालबाट आएको बाढीको पानीले नै आइतबार राती घर बगाएको हो ।

बाढीको समय र त्यसअघि पनि नेपाल सरकारले कालीगण्डकी नदीमा पानीको बहाव हेरिरहेको थियो । तथ्यांकले पानीको सतह अचानक तल गएको देखाएको छ । नदीमा गएको पहिरोले नदी अवरुद्ध गर्दा यो अवस्था आएको हो । त्यसपछि, पानीको सतहमा पुन दुईवटा ठूलो वृद्धि भएको देखियो । दोस्रो वृद्धि पनि पहिलो भन्दा ठूलो थियो । यो ढाँचाले अवरुद्ध नदीको पानी पहिलो पटक थोरै छेउछाउ, त्यसपछि दोस्रो पटक धेरै बढेको देखाउँछ ।

यसको अर्थ के त ? कल्पना गरौं कि तपाई कुनै एउटा खेलौनाको पोखरीमा नलीमार्फत पानी खन्याइरहनुभएको छ । अचानक तपाईंले नलीको अगाडिको भाग बन्द गर्नुभयो । पोखरीमा जाने पानी रोकिन्छ वा सुस्त हुन्छ । यहाँ पनि त्यस्तै भयो । पहिलोपटक खोलाको पानी थुनियो । पछि, त्यो नालीबाट क्रमस थोरै थोरै पानी छिर्न थाल्छ र पानीको बहाव बढ्न थाल्छ । त्यो दोश्रो वृद्धि हो । र पुनः या नली पूर्ण रुपमा खुल्छ वा टाढा धकेलिन्छ, र धेरै पानी एकैचोटि पोखरीमा पुग्छ । त्यहाँ पनि त्यस्तै भयो । त्यही थुनिएर भरिएको पोखरीमा विष्फोट भएपछि तल बाढी र पहिरो गयो ।

तस्बिरमा देख्नसक्नुहुन्छ पानीको सतहको अवस्था



सबैभन्दा नजिकको अनुगमन केन्द्र जोमसोमको वर्षाको तथ्यांकले वर्षा उच्च भएको तर असाधारण भने देखाउँछ । विज्ञ भन्छन्, ‘हामीसँग अझै चट्टानको अवस्थाको तथ्यांक छैन र उच्च उचाइमा परेको वर्षाले बाढीको पानीमा के भूमिका खेलेको हुन सक्छ भन्न सक्दैन ।’इसिमोडको जलवायु विज्ञ अरूणभक्त श्रेष्ठ पनि यसलाई अस्वभाविक ठान्छन् । भन्छन्, ‘सानो सहायक नदीमा भएको अवरोधले ठूला मुख्य नदीमा यति ठूलो प्रभाव पार्न सक्छ कि वास्तवमा कत्तिको अन्तरसम्बन्धित मौसम प्रणाली छन् र पहाडी समुदायहरू त्यस्ता जोखिमहरूबाट कत्तिको जोखिममा छन् भनेर देखाउँदछ ।’

यसको अर्थ यत्रो बाढी पहिरो जानुको पछाडी अन्य जलवायुजन्य वा त्यहाँको भौगोलिक कारण र अवस्थासमेत कारक रहेको हुनसक्ने उनको तर्क छ । इसिमोडकै वरिष्ठ पानी विशेषज्ञ मन्दिरा श्रेष्ठका अनुसार, हालैका वर्षहरूमा देखिएका वर्षा छाया क्षेत्रमा यो अर्को बाढीको घटना हो र यो सम्भावित रूपमा मनसुनको ढाँचा परिवर्तन गर्ने अन्य जलवायु–परिवर्तनका कारणहरूसँग कसरी सम्बन्धित त भन्ने कुराको बलियो संकेत हो ।

उनी भन्छिन्, ‘हामीले बाढीले हिन्दुकुश हिमालयका समुदायलाई ठूलो क्षति पु¥याएको देखिरहेका छौं । तर, डरलाग्दो विषय चाँही यो हो की, घटनाहरूबाट प्रभावित व्यक्तिहरूको कार्वन उत्सर्जनमा सबैभन्दा कम योगदान छ । तर, असर सबैभन्दा धेरै उनीहरूले भोगिरहेका छन् ।’



अर्का प्राकृतिक प्रकोप विषेशज्ञ विनोद पराजुली यस्तो घटना हुनुमा तापक्रम बृद्धि पनि प्रमुख कारण रहेको बताउँछन् । भन्छन्, ‘यो जलवायु परिवर्तनको असर पनि हुनसक्छ । किनकी ग्लोवल वार्मिङका कारण मनसुनी हावा विस्तारै माथि सर्दैै छ । यसले उच्च हिमालय पनि पार गर्दै गएकाले मनाङ, मुस्ताङ जस्ता हिमाल पारीका जिल्लामा भारी वर्षा भइरहको छ । यो क्रम आगामी वर्षहरूमा अझै बढ्न सक्छ ।’ उनका अनुसार यस अघि मुस्ताङको वर्षा वार्षिक लगभग २५० मिलिमिटर मात्रै थियो । तर, पछिल्लो घटनाक्रमले यहाँ एकैपटक यस मिलिमिटर सम्म पनि वर्षा हुन थालेको छ ।

यहाँको अगस्ट महिनाको ३० दिनको सरदर वर्षा ४३.९ मिलिमिटर हो । एक महिनाभरिमा हुनुपर्ने वर्षाको आधाभन्दा बढी वर्षा २४ घण्टामा भएको जोमसोमको रेर्कडले देखाउँछ । विभागका अनुसार जोमसोममा यस वर्षको मनसुनमा त्यहाँको सरदर वर्षा १६० मिलिमिटर रहेकोमा २०८० साउन २९ सम्ममा ९० प्रतिशत वर्षा भइसकेको छ जबकि मनसुन सकिन अझै ४७ दिन बाँकी छ ।



मुस्ताङको भू–बनोट कमजोर छ । पानी कम पर्ने भएकाले जमिनको सतहमा धुलो माटो छ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको विपद् अध्ययन केन्द्रका निर्देशक एवं विपद जोखिम न्यूनीकरणविज्ञ वसन्तराज अधिकारी यहाँको माटो कमजोर रहेकाले वर्षाले चाँडो असर असर गर्ने बताउँछन् । भन्छन्, ‘पहिले पानी नपरेकाले माटो कमजोर थियो । अहिलेको अत्याधिक वर्षाले चाँडैं बगायो । बाढीमा लेदो मिसिएर आयो ।’

पछिल्लो एक दशकमा मुस्ताङ जिल्लाको लेते, जोमसोम, तिरी, झोङ लगायतका गाउँहरूमा पाँच पटक ठूलो मात्रामा क्षति पु¥याउने बाढी आएका छन् । २०७८ असार १ मा पनि मुस्ताङको लेतेमा बाढी आएको थियो । उक्त बाढीले त्यहाँका घरमा क्षति पु¥याउनुका साथै भौतिक सम्पत्ति नष्ट गरेको थियो ।

पिताम्बर सिग्देल

प्रतिक्रिया दिनुहोस

web
analytics