विद्यालय पहिरोमा पुरियो, पठनपाठनमा समस्या


पर्वत - लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ ।

फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयका २ वटा भवन पहिरोले पुरिएका हुन् ।

विद्यालय रहेको स्थानभन्दा करीब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका हुन् । ३ कोठा पुरिए पनि ८ वटा कोठामा जोखिमपूर्ण रूपमा पठनपाठन गराउने गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए ।

पहिलोपटक गत असार १६ गते पहिरोले भवनमा क्षति गरेको थियो । सोही स्थानमा साउन २२ गतेपछि गएको पहिरोले थप क्षति गरेको छ । पहिरोले विद्यालयको आँगन समेत पुरिँदै गएको छ ।

‘८ कोठामा विद्यार्थी राख्न सकिने अवस्था छैन,’ उनले भने । जोखिमकैबीच आधारभूत तहदेखि कक्षा ८ सम्मको पठनपाठन भइरहेको छ । हाल विद्यालयमा २४० विद्यार्थी अध्ययनरत छन् ।

‘जुनकुनै बेलामा पनि पहिरोले थप क्षति गर्न सक्ने अवस्था छ,’ प्रधानाध्यापक शर्माले भने, ‘२–३ वटा कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउनु परिरहेको छ ।’

नौडाँडा–कार्कीनेटा–फलेवास–जैमुनी सडकको नवनिर्मित सडकको डिल भत्किएर २ वटा कक्षाकोठामा क्षति भएको शिक्षक सन्तोष रिजालले बताए । विद्यालयका ८ वटा कक्षामा अध्ययनरत विद्यार्थीलाई अस्थायी रूपमा एकै ठाउँमा राखेर अध्यापन गरिँदा उनीहरूको सिकाइ उपलब्धिमा असर पर्न थालेको छ । थापाठाना मावि फलेवास नगरपालिकामा नै धेरै विद्यार्थी भएको विद्यालय हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics